• २ असार २०८२, सोमबार

पाथीभराबाट उठ्यो करिब २४ लाख भेटी

blog

भक्तजनले चढाएको भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, असार २ गते । प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट पछिल्लो एक महिनामा झण्डै २४ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । जेठ महिनामा २३ लाख ९५ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । 

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार उक्त रकम सङ्कलन भएको छ । वैशाखमा करिब ६१ लाख भेटी सङ्कलन भएको पाथीभरामा जेठमा घटेको समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन समाप्त भएसँगै दर्शनार्थीको सङ्ख्या क्रमशः कम हुँदै गएकाले भेटी रकम पनि कम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्म संलकन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने समितिले व्यवस्थापन गरेको छ । 

आइतबार सार्वजनिक तथ्याङ्कअनुसार जेठ महिनामा १६ हजार २१० जना दर्शनार्थी मन्दिर पुगेका छन् । वैशाखमा दर्शन गर्ने तीर्थयात्रीको  सङ्ख्या करिब ३८ हजार थियो । भक्तजनको गणना हरेक दिन माथिल्लो फेदीमा समितिका कर्मचारीले गर्ने गरेका छन् ।