• २ असार २०८२, सोमबार

क्यानाडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

blog

काठमाडौँ, असार २ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।

पक्राउमध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार र व्रिजेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए । पैसा लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट शनिबार र व्रिजेशलाई काठमाडौँ महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।