ज्येष्ठ नागरिक समाजका अनुभवी, ज्ञानका स्रोत र आदरणीय सदस्य हुन् । उनीहरूले आफ्नो जीवनको महत्वपूर्ण समय परिवार, समाज र राष्ट्रको सेवामा बिताएका हुन्छन् । विडम्बना, जीवनको उत्तरार्धमा उनीहरू नै विभिन्न प्रकारका दुव्र्यवहार, उपेक्षा, अन्याय र अपराधको सिकार बन्न बाध्य छन् । यसरी ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार सामाजिक, नैतिक र मानवीय दृष्टिकोणले चिन्ताजनक विषय हो । अहिले ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार एक प्रकारको जटिल सामाजिक समस्याका रूपमा रहेको छ ।
हरेक वर्ष जुन १५ तारिखमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व जनचेतना दिवस मनाइन्छ । यस दिवसको उद्देश्य समाजमा ज्येष्ठ नागरिकमाथि हुने आर्थिक, शारीरिक, भावनात्मक, यौन, अपहेलना र तिरस्कारलगायत विविध प्रकारका दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउनु हो । सन् २०२५ को सन्दर्भमा पनि यो दिवसले विश्वभरका सरकार र सरोकारवालालाई ज्येष्ठ नागरिकका अधिकार र सम्मानको प्रत्याभूति गराउन प्रेरित गरेको छ । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको दिवस २०८२ को नारा ‘ज्येष्ठ नागरिकविरुद्ध हुने दुव्र्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र कार्य’ रहेको छ ।
नेपालमा जनसङ्ख्याको एक उल्लेखनीय भाग ज्येष्ठ नागरिकले ओगटेको छ । पछिल्लो जनगणना अनुसार नेपालमा ६० वर्षमाथिका नागरिकको सङ्ख्या १०.२१ प्रतिशत रहेको छ, यो सङ्ख्या तीव्र रूपमा बढ्दो छ । औसत आयुमा वृद्धि, परिवार प्रणालीमा परिवर्तन, र अन्तर्राष्ट्रिय रोजगारीका कारण ज्येष्ठ नागरिकको अवस्था विशेष चासोको विषय बन्दै गएको छ ।
ज्येष्ठ नागरिकमाथि हुने विभिन्न प्रकारका दुव्र्यवहारमध्येमा पाँच प्रकारका दुव्र्यवहार प्रमुख छन् :
– शारीरिक दुव्र्यवहार : मारपिट गर्नु, जबरजस्ती काम लगाउनु, औषधी उपचार नदिनु जस्ता व्यवहार हुँदै आएको छ ।
– आर्थिक शोषण : जग्गा–जमिन हिनामिना गर्नु, पेन्सन वा आम्दानीको स्रोत कब्जा गर्नु, जबरजस्ती सम्पत्ति आफ्नो नाममा गराउनु जस्ता काम यसभित्र पर्छन् ।
– भावनात्मक दुव्र्यवहार : गाली–गलौज, उपेक्षा, बेइज्जती, दोष लगाउने, आदर सम्मान नगर्ने, पारिवारिक राय सुझाव नमान्ने, व्यवहार भावनात्मक दुव्र्यवहारका रूप हुन् ।
– यौन दुव्र्यवहार : ज्येष्ठ नागरिकको इच्छाविपरीत जबरजस्ती उनीहरूलाई यौन सम्बन्धित कार्यमा लगाउनु, स्वीकृतिबिना करणी गर्नु वा करणी गर्ने मनसायको क्रियाकलाप गर्नु, संवेदनशील अङ्गमा छुनु जस्ता व्यवहार यौन दुव्र्यवहारभित्र पर्छन् ।
– बेवास्ता : यसमा खाना, लुगा, स्वास्थ्य उपचार, स्याहारसंहारमा बेवास्ता गर्नु, आवश्यकता पूरा नगर्नु जस्ता क्रियाकलाप पर्छन् ।
यसबाहेक सामाजिक गतिविधिमा सहभागिता नदिनु, उनलाई बोझसरह व्यवहार गर्नु वा एक्लोपनको अवस्थामा राख्नु पनि दुव्र्यवहारकै रूप हो । जसलाई सामाजिक बहिष्कार पनि भनिन्छ । ज्येष्ठ नागरिकलाई घरमा उपेक्षा गर्ने उनीहरूको रायलाई बेवास्ता गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने जस्ता व्यवहार सामाजिक रूपमा सामान्य जस्तै बनिरहेका छन् । यस्ता क्रियाकलापले हाम्रो मूल मन्त्र ‘मातृ देवो भवः’ भन्ने वाक्यांशलाई धमिल्याउँदै गइरहेको छ ।
नेपालमा पारिवारिक प्रणाली परिवर्तन हुँदै गएकाले परम्परागत संयुक्त परिवारको सट्टा एकल वा सानो परिवारको चलन बढ्दै गएको छ । यसले ज्येष्ठ नागरिकको हेरचाह र सम्मान गर्ने पद्धति वा संरचना कमजोर बनाएको छ । युवा वैदेशिक रोजगारीमा जानु, सरकारी वृद्धाश्रमको अपर्याप्तता, कानुनी सुरक्षा प्रणालीको कमजोरी तथा सामाजिक चेतनाको अभावले समस्या झन् जटिल बनाएको छ ।
नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन, तथा ज्येष्ठ नागरिक नियमावली लागु गरेको छ । जसमा ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितता गरिएको छ । केही सामुदायिक वृद्धाश्रमलाई अनुदान पनि दिने गरेको छ । विभिन्न प्रकारका सरकारी सेवा तथा कार्यक्रम पनि सञ्चालनमा छन् । ती प्रयाप्त र प्रभावकारी छैनन् । सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) एउटा प्रभावकारी उपाय हो । यसको प्रभावकारिता र सहजताको अनुगमन नहुँदा ज्येष्ठ नागरिक आर्थिक दुव्र्यवहारको सिकार भइरहेका छन् । वृद्धभत्ता परिवारलाई नदिएकै कारण कतिपय ज्येष्ठ नागरिले ज्यान गुमाइरहेको तथ्य धेरै छन् । धेरै ज्येष्ठ नागरिकले आफ्नै परिवार, नातागोता र छरछिमेकीबाट समेत असुरक्षित महसुस गर्नु परिरहेको छ । पारिवारिक डर, सामाजिक लाज, पिडकको धम्की र आफ्नो अधिकारबारे जानकार नहुँदा ज्येष्ठ नागरिकमाथिको हिंसा वा बेवास्ताको धेरै जसो घटना बाहिर आउँदैनन् ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुने छ भनी मौलिक हकको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक (पहिलो संशोधन) ऐन २०७९, मा यदि कसैले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेको खण्डमा कसुर हेरी १० हजारदेखि पाँच लाख नगदसम्म जरिबाना हुने र तीन महिनादेखि पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसै गरी अशक्त वा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेमा प्रचलित सजायमा थप २५ प्रतिशत वृद्धि हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेमा प्रचलित सजायमा थप ३० प्रतिशतले वृद्धि हुने हुने व्यवस्था छ । पुनः वा पटक पटक अपराध गरेमा पटकैपिच्छे थप १० प्रतिशत सजाय वृद्धि हुने व्यवस्था छ । ज्येष्ठ नागरिकले आफूमाथि कुनै पनि किसिमको अन्याय, अत्याचार, दुव्र्यवहार वा हिंसा भएमा गाउँ पालिका वा नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्न सक्ने छन् । न्यायिक समितिबाट उनीहरूको मुद्दा सम्बोधन नभएमा जिल्ला अदालतमा उजुरी दिन सक्ने छन् । ज्येष्ठ नागरिकबाट प्राप्त निवेदन एवं उजुरीको सुनवाइ सरल एवं द्रुत प्रक्रियाबाट सम्पादन गर्न स्थानीय तहले आवश्यक कार्यविधि बनाई लागु गर्नसमेत सक्ने कानुनी व्यवस्था छ ।
नेपालमा ज्येष्ठ नागरिकलाई कानुनी सहायतासम्बन्धी अधिकारको पनि व्यवस्था छ । जस अनुसार ७५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि कानुनी उपचारमा विशेष प्राथमिकता दिइएको छ । कानुनी सहायता आवश्यक पर्ने ज्येष्ठ नागरिकका लागि जिल्ला गाउँ पालिका र नगर पालिकामा कानुनी सहायता समितिको व्यवस्था गरेको छ भने जिल्ला अदालतमा कानुन व्यवसायी सेवा प्रदान गर्ने सुविधा छ । ज्येष्ठ नागरिक इजलास गठनको व्यवस्था पनि रहेको छ । ज्येष्ठ नागरिक संशोधित ऐन २०७९, मा हरेक सेवा प्रदायक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने साथै स्थानीय सरकार, सेवा प्रदायक संस्थाले छुट, सेवा र सहयोग गर्नुपर्ने उल्लेख गरेको छ ।
सबै नागरिकको मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व हो । विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले ज्येष्ठ नागरिकलाई दुव्र्यवहारबाट सुरक्षित राख्न कुनै प्रकारको विशिष्ट र प्रभावकारी कदम चल्न सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले १३३ देशमा गरेको सर्वेक्षण अनुसार जम्मा ५९ प्रतिशत देशमा मात्र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्न कानुनमा व्यवस्था गरिएको छ । जसमध्ये ३० प्रतिशत देशमा मात्र कडाइका साथ लागु गरेको छ ।
समाजमा बढ्दो ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार कम गर्न जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नु पर्छ । विद्यालयदेखि समाजसम्म ज्येष्ठ नागरिकप्रतिको सम्मान र दायित्वबोधका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । सामाजिक सुरक्षामा सुधार तथा स्वास्थ्य उपचारको पहुँचमा वृद्धि गर्नु पर्छ । समुदायस्तरको सहयोग अन्तर्गत स्थानीय तहले ज्येष्ठ नागरिक–मैत्री वातावरण सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ । कानुन कार्यान्वयनका लागि ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारलाई दण्डनीय अपराध ठहर गर्दै कडाइका साथ कानुन कार्यान्वयन गर्नु पर्छ । कोही र केही नभएकाहरूका लागि वृद्धाश्रम तथा सेवा केन्द्रहरू राज्य तथा निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्नु पर्छ । प्रत्येक वडामा दिवा सेवा केन्द्र स्थापना गर्ने र पूर्व सञ्चालित केन्द्रहरूको गुणस्तर सुधार गर्नु पर्छ ।
समाजका अग्रणी तथा जिउँदा इतिहास ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गर्नु केवल व्यक्तिगत नभई सामाजिक मूल्यहरूको पनि क्षय हो । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको जनचेतना दिवस सन् २०२५ ले नेपालमा पनि यो मुद्दालाई पुनः गम्भीर रूपमा लिनुपर्ने आवश्यकतालाई स्मरण गराउँछ । ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र हेरचाह हाम्रो सामाजिक उत्तरदायित्व मात्र नभई मानवीय कर्तव्य पनि हो । ज्येष्ठ नागरिकमाथि गरिने दुव्र्यवहार समाजको नैतिक पतनको सूचक हो । उनीहरूलाई सम्मान, स्नेह र सुरक्षाको प्रत्याभूति गराउनु हाम्रो साझा दायित्व हो । ज्येष्ठ नागरिक–मैत्री समाजको निर्माणले मात्र हामीले आफ्नो जिम्मेवारी पूरा गरेका ठहरिने छ ।