• २६ वैशाख २०८१, बुधबार

चिटिक्क सजियो वसन्तपुर

blog

वसन्तपुर, पुस १८ गते । सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र वसन्तपुरमा सौन्दर्यीकरणका विभिन्न गतिविधि निरन्तर अघि बढेको छ । हरियाली बिरुवाको गमला सजाएसँगै यस क्षेत्रको आकर्षण थप बढेको छ । 

पर्यटकीय क्षेत्र थप सुन्दर र आकर्षक बनाउने लक्ष्यका साथ गमला सजाउने कार्यक्रमलाई निरन्तरता दिइएको सरोकारवालाले बताएका छन् । सो क्षेत्रमा गत साउनदेखि सवारी साधन प्रवेशमा रोक लगाइएको छ । 

हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख चन्द्र गोपाल प्रधानका अनुसार विश्व सम्पदा सूचीभित्र रहेको सम्पदा क्षेत्रमा पर्यटन आवागमनमा थप आकर्षण एवम् सौन्दर्य बढाउन गमला राखिएको हो । विशेष गरी काठमाडौँ महानगरपालिकाका चार वडाहरू वडा नं. १९, २०, २३ र २४ का वसन्तपुर, झोछें, प्याफल, याट्खा लगायतका क्षेत्रमा  गमला राखिएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७७ देखि वसन्तपुर क्षेत्रमा गमला राख्ने अभियानको सुरु भएको हो । सौन्दर्य अभियानको अल्पकालीन वा दीर्घकालीन योजना के छ भन्ने जिज्ञासामा उहाँले यस अभियान  निरन्तर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न धार्मिक तथा सांस्कृतिक जात्रा, कुमारी, इन्द्रजात्रा पनि यही सुरु हुन्छ । त्यसैले यो महत्त्वपूर्ण एवम् संवेदनशील क्षेत्रका रूपमा पनि लिइन्छ । स्थानीयसँग समन्वय गरेर यो अभियान अगाडि बढायौँ ।” स्थानीय, मरु टोल, शार्दुलजङ्ग गुल्म लगायतको संयुक्त पहलमा अभियान अगाडि बढेको उहाँको भनाइ छ ।

वसन्तपुर क्षेत्रमा सवारी निषेधसँगै अस्तव्यस्त पार्किङको समस्या कम भएको छ । स्थानीय बासीको सवारी पार्किङका लागि निश्चित समय छुटाइएको छ । अत्यावश्यक पानीको ट्याङ्करका लागि बिहान ७ बजेसम्म र बेलुका ८ बजेपछिको समय निर्धारण गरिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “हामी त सधैँ राम्रो होस् भन्ने चाहन्छौँ । काम गर्दै जाँदा समस्या आउँछन्, त्यसको समाधानको निरन्तर खोजीमा छौँ । सौन्दर्य गर्नुपर्छ भन्नेमा छौँ । समन्वय गरेर अगाडि बढ्नेमा छौँ ।” उहाँले सार्दुलजङ्ग गुल्मले गमलाको बिरुवा गोडमेल तथा हेरचाह गरिरहेको बताउनुभयो ।

अहिले स्ट्यान्डसहितका ६० वटा गमला राखिएको छ । उहाँका अनुसार गमलामा सिजनल बिरुवा छन्, नयाँ थप्ने तथा मर्मत, सम्भारको कार्य पनि निरन्तर रहेको छ । स्थानीय स्तरबाट कस्तो सहयोग वा प्रतिक्रिया पाउनुभएको छ भन्ने जिज्ञासामा उहाँले पार्किङलाई थप व्यवस्थित गर्न पहल गर्नुपर्ने आवाज उठ्ने गरेको बताउनुभयो । यसका साथै, अन्य क्षेत्रमा थप गमला राख्नुपर्ने सुझाव पनि आइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले अझै कतै राख्नुपर्छ भन्ने माग पनि छ । यस क्षेत्रमा पनि राखिदिनुस् भन्ने पनि छ । पार्किङ व्यवस्थित भएको छैन, पहल गर्दिनुस् भन्ने छ ।” उहाँले घुम्न आउने विदेशी पर्यटकका लागि कसरी यो क्षेत्र थप आकर्षक बनाउने भनेर बिजुली व्यवस्थापनको काममा पनि लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशी पर्यटक, घुम्न आउनेलाई राम्रो गर्ने, सरसफाइ गर्ने तथा बिजुली व्यवस्थापनमा पनि लागिरहेका छौँ । बत्ती मर्मत पनि गर्छौ । नयाँ ढङ्गले बत्ती पनि राख्ने प्रयासमा छौँ ।”


भिडियो: मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।