• २२ वैशाख २०८१, शनिबार

तोरी खेतीमा कृषककाे आकर्षण बढ्दो

blog

लिलाराज झापाली

बिर्तामोड, पुस १६ गते । झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिन थालेसँगै यस क्षेत्रका कृषकहरुको दिनानुदिन तोरी खेतीमा आकर्षण बढदै गएको हो । 

तोरी खेतीलाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहले समेत अनुदानको कार्यक्रमलाई निरन्तर्ता दिइरहेको शिवसताक्षी नगरपालिकाका प्रमुख रोषन थोप्राले बताउनुभयो । 

यता संघीय सरकारबाट समेत सशर्त अनुदानका रुपमा शिवसताक्षी नगरपालिकालाई मात्रै १० लाख रुपियाँ अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । शिवसताक्षी नगरपालिकाले गएको कात्तिक महिनामै तोरी खेतीमा अनुदान दिने सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले १० विगाह क्षेत्रफलमा तोरी लगाउने कृषकलाई ७५ प्रतिशत अनुदान दिने जनाएको छ । 

हाल नगरपालिकामा तोरी खेतीका लागि १६ समूहबाट निवेदन परेका छन् । नगरपालिकाले छनौटमा परेका १० समूहलाई अनुदान दिने तयारी थालेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिनुभयो । शिवसताक्षीको ४ र ५ वडामा तोरी खेतीका लागि पकेट क्षेत्र मानिएको छ । कनकाई सिचाइँको कारणले पनि तोरी खेतीका राम्रो वातावरण बनेको कृषि साखाका प्रमुख भट्टराईले बताउनुभयो । 

हाल शिवसताक्षी नगरपालिका २, ३,४,५,८,९ र १० मा सामुहिक तोरी खेती गरिएको छ । नगर क्षेत्रभित्र एक सय विगाहमा सामुहिक तोरी खेती गरिएको शिवसताक्षीका कृषि स्नातक प्राविधिक लेनिन शमसेर कुँवरले जानकारी दिनुभयो  । अनुदान रकम दश लाखमध्य नगरपालिकाले तोरी खेतीका लागि प्रति समूह तोरी प्रवद्र्धन कार्यक्रममा एक लाख अनुदानका रुपमा दिइएको छ । 

शिवसताक्षी नगरपालिकामा दश हजार हेक्टर खेती योग्य जमिन रहेको बताइएको छ । जसमा सात हजार हेक्टरमा किसानहरुले खेती लगाउने गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।  

झापामा तोरी खेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आङ्कलन गरिएको छ । यस वर्ष झापाको हल्दिवारीमा सबैभन्दा बढी तोरी खेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, शिवसताक्षी, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।

गत वर्षको सुरुआतमै पाँच हजार चार सयमा प्रतिमन बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति थप आकर्षित भएका हुन् ।