• २० वैशाख २०८१, बिहिबार

मनाइयो तमु ल्होसार पर्व

blog

काठमाडौँ, पुस १६ गते । आइतबार राजधानीको टुँडिखेलमा महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए । 

गुरुङ समुदायले पुरानो वर्ष (बिरोलो वर्ष) लाई बिदाइ गरी नयाँ वर्ष (गरुड वर्ष) लाई स्वागत गर्ने दिनका रूपमा आइतबार तमु ल्होसार धुमधामसँग मनाउने क्रममा यस्तो दृश्य देखिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।

तमु ल्होसारका अवसरमा आयोजित झाँकीसहितको र्‍यालीको अनुगमनमा खट्नुभएका मनबहादुर गुरुङले घाटुको थुप्रै प्रकारमध्ये बाह्रमासे घाटु सार्वजनिक समारोहमा प्रदर्शन गर्ने क्रममा किशोरीहरूले घाटु नृत्य प्रस्तुत गरेको जानकारी दिनुभयो । घ्याब्रिङ, लामा, बोन्बोहरू आआफ्ना बाजा, पहिरनमा सहभागी थिए भने केर्गा नाच, घाटु, सोरठी, कौडा, चुट्का, झ्याउरे र अर्घाै नाचसमेतको प्रस्तुति रहेको थियो । ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको गुरुङले जानकारी दिनुभयो । 

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाइन्छ । उहाँका अनुसार तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । आजबाट रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महìव रहेको छ । 

टुँडिखेलमा मौलिक वेशभूषामा रमाइरहनुभएकी सुनिता गुरुङले भन्नुभयो, “यो दिनमा ‘स्यो कैँ’ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको खाना खाइन्छ । स्यो कैँको अर्थ सहभोजन भन्ने हुन्छ । तसर्थ यो खाना तमु ल्होसारको दिन समूहमा बसेर खाने गरिन्छ । यो खानामा मासु भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । यीबाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिङ्गा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिने बताउनुभयो । 

ल्होसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । बिहानैदेखि आफन्त भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ । नाता–कुटुम्बलाई बोलाएर भोज खुवाएर नाचगान गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।