विष्णुप्रसाद पोखरेल
दमक, पुस १३ गते । मान्छेहरु हात्तीप्रति बढी आक्रामक बन्दा मानवीय क्षति बढ्न थालेको छ । झापामा डेढ महिनाको अवधिमा हात्तीको आक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यसअघि हल्दिबारीमा दुई जना र दमकमा एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
शुक्रबार बिहान शिवसताक्षी नगरपालिका ११ सृष्टि टोलमा हात्तीको आक्रमणबाट ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ । घर भत्काएर अन्नपात खाएर फर्केको हात्तीलाई धपाउने र खेदाउने क्रममा फेरि फर्केर आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हात्तीलाई लखेट्ने, कुटपिट गर्ने, घोच्ने, दुःख दिने तथा विशेषगरी बिच्क्याउने काम गर्दा हात्ती बढी आक्रामक हुने गरेको र यसबाट मानवीय क्षति बढ्दो रहेको हात्ती विज्ञ डा. नरेन्द्र प्रधानले बताउनुभयो ।
हात्तीको इकोलोजीबारे सन् २००७ मा नर्वेबाट विद्यावारिधि गर्नुभएका प्रधानका अनुसार सकेसम्म हात्तीलाई नबिच्क्याइनु बुद्धिमानी हुन्छ । हात्ती मान्छे जस्तै बुद्धिमान प्राणी भएकाले नबिच्क्याएसम्म हात्तीले मान्छेलाई केही पनि नगर्ने विभिन्न अनुसन्धानबाट खुलेको पनि उहाँले जनाउनुभएको छ । "जब हात्तीलाई क्षति पुर्याउने प्रयत्न मान्छेहरूबाट हुन्छ, त्यसपछि मात्रै मान्छेप्रति जाइलागेको अनुसन्धानहरुमा उल्लेख छ", उहाँले भन्नुभयो ।
हात्तीको पुरानो बाटोहरु मासिँदै गएको छ । हात्तीहरु भारतबाट मेचीनगर नगरपालिकाको बाहुण्डागी हुँदै उत्तरी क्षेत्रमा रहेका जङ्गलनै जङ्गल विचरण गरेर जङ्गलै बाटो फर्कने गरेका थिए । अहिले जङ्गल मासिएर हात्ती हिँड्ने बाटोमा बस्ती बनिसकेकाले समस्या भएको बताइने गरेको छ ।
हात्तीविज्ञ प्रधानका अनुसार हात्तीलाई आफ्नो बाटोमा निर्वाध रुपमा हिँड्ने व्यवस्था मिलाउन सकेमात्र हात्तीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । हात्तीका क्रियाकलापमाथि बाधा व्यवधान पुर्याउन नहुने उहाँ बताउनुहुन्छ । मानिस सचेत प्राणी भएकाले यस विषयमा मानिस नै गम्भीर बन्नुपर्ने उहाँको सुझाव छ ।
झापासहित कोशी प्रदेशको मोरङ र सुनसरीमा पनि हात्तीहरु स्थायी रुपमा बस्न थालेका छन् । यसअघि यहाँ हात्ती पुग्ने र फर्किने गरेका थिए । उनीहरु केही समय बसेर भारत नै फर्किने गरेका थिए । केही महिना यता हात्तीहरु भारत नफर्केर यहीँको जङ्गलमा बसोबास गर्दै आएका छन् । रात परेपछि बस्तीमा निस्कन्छन् ।
हात्ती धपाउनका लागि परम्परागत शैली अपनाइने गरेको छ । हात्ती गाउँघरमा आउनासाथ सबै निस्केर हाइहाइ र हुइहइ गर्ने, आगोको मुस्लाेले हान्ने, ढुङ्गामुढाले हान्ने, ट्याक्टर लगाएर खेदाउने, थाल ठट्याउने गर्छन् । यसले हात्तीहरुलाई थप आक्रामक बनाउने गरेको बताइन्छ । हात्तीको छावालाई चलायो भने हात्ती झनै आक्रामक हुने गरेको बताइन्छ ।
हात्तीको आनिबानीसँग जानकार रहनुभएका मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आउनुभएका मेचीनगर नगरपालिका ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पहिला झापाको बाहुण्डागीमा धेरै मानवीय क्षति हुन्थ्यो अहिले अन्यत्र भइरहेको छ । यसको कारण पहिला यहाँ हात्तीलाई धेरै बिच्क्याउने गरिएको थियो अहिले अन्यत्र बिच्क्याइने गरेको छ ।
"हात्ती धपाउनका लागि हामी नै हो राज्यसँग बन्दुक माग्ने तर अहिले आएर त्यस्तो गर्नुहुँदैन रहेछ भनेर बुझ्दै गएका छौं", कार्कीले भन्नुभयो । "बन्दुक पड्काएर समस्या समाधान नहुने रहेछ भन्ने बुझ्न धेरै समय लागेको उहाँको भनाइ छ । हात्तीलाई नबिच्क्याई बालीनालीमा पस्न नदिन हामी कोसिस गर्छौ र त्यो सम्भव पनि भएको छ", कार्कीले अनुभव सुनाउनुभयो ।