• १५ असार २०८२, आइतबार

कर्णालीमा उनन्चालिस प्रतिशत रोपाइँ

blog

वीरेन्द्रनगर नगरपालिका–१०, काँक्रेविहार क्षेत्रमा रोपाइँ गरिँदै । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, असार १५ गते । मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ ।  प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी जिल्लाका धेरै जसो ठाउँमा रोपाइँ भइसकेको बताउनुभयो । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतमा रोपाइँ सकिएको छ । मौसमले साथ दिएर बेलैमा धमाधम खेत रोप्न पाएपछि किसान हर्षित भएका छन् ।

निर्देशनालयका अनुसार मध्य असारसम्म सबैभन्दा बढी जुम्ला, हुम्ला, डोल्पामा ९०/९० प्रतिशत रोपाइँ भएको छ । मुगुमा ४०, रुकुम–पश्चिममा ५५ र जाजरकोटमा १७ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । त्यस्तै सल्यानमा ६५, दैलेखमा ३२, कालीकोटमा ४२ र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ । कर्णालीमा धान खेती हुने ४१ हजार ५०५ हेक्टर क्षेत्रफलमध्ये २९ हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशमा खास गरी मार्सी, हाइब्रिड, शङ्कर, खुक्खा जातका धान लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ ।

विगतमा जस्तो रासायनिक मल अभावको समस्या नहुँदा पनि किसानले समयमै धान रोप्न पाएका हुन् । कर्णालीमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्रीवितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत बजेट प्राप्त गर्छन् । 

नौ जिल्लामा सार्वजनिक बिदा

राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । १५ गतेकै दिन हरेक वर्ष धान दिवस मनाउने गरिएको हो । यो वर्ष पनि प्रदेश सरकारले औपचारिक कार्यक्रम गरी दिवस मनाउन लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिइएको हो । जुम्लामा मार्सी धानको बिउ रोप्ने दिन चैत १२ गते सार्वजनिक बिदा दिने गरिन्छ ।