• १५ असार २०८२, आइतबार

सुन्दर साँफेबगर

blog

देउडाका यी हरफमा वर्णन गरिए जस्तै सुन्दर र रमाइलो छ अछाम जिल्लाको साँफेबगर बजार । बजारको बीचबाट कलकल बग्ने बूढीगङ्गा नदीको वारि विमानस्थल र पारि हाटबजार रहेको छ ।

बजारको पूर्वपश्चिम भएर बग्ने छिपेखोला र हाटबजारको पश्चिम पूर्व भएर बग्ने पर्भाली गाडले साँफेबगरलाई घेरा हालेको छ । मुख्य गरी अछाम र बाजुराको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको साँफेबगर रमणीय उपत्यका जस्तै लाग्ने गरी फैलिएको छ ।

प्राकृतिक दृष्टिकोणले सुन्दर, चारैतिर मानव बस्ती भएको हरियाली पहाड, बीचमा सम्म परेको फाँट भएकाले साँफेबगर सुदूरपश्चिम प्रदेशका अन्य शहर बजारभन्दा सुन्दर र आकर्षक देखिन्छ । यसको बीच भागमा बूढीगङ्गा नदी र छेउछाउमा छिप्याखोला र पर्भाली गाड (नदी) बग्ने भएकाले वर्षामा विपत्ति नै आउने गर्छ ।

यस्तो सुन्दर साँफेबगर नामकरणका सम्बन्धमा थुप्रै किंवदन्ती छन् । साँफेबगर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा यस्तो कुरा उल्लेख छ, “धेरै वर्षपहिले साँफेबगर क्षेत्रमा बाघले आतङ्क मच्चाएको थियो । स्थानीयवासीले उक्त बाघलाई मार्ने प्रयास गरे पनि सफल हुन सकेनन् । पासोबाट पनि उम्किन थाल्यो तर बाघ पक्रनका लागि नयाँ जुक्ति निकालियो । जस अनुसार बाघको आकार अनुमान गरेर नापको आधारमा साँफेको तीन–चार ठाउँमा पासोमा बाघ पार्न सफलता मिल्यो । अछामी भाषामा नाप्नुलाई साप्नु र पासोलाई पगार भन्ने गरिन्छ । साँपेर (नापेर) थापेको पगार (पासो) मा बाघ परेको हुँदा उक्त स्थानलाई सापे पगार भन्न थालियो । कालान्तरमा अपभ्रंश भई साँफेबगर हुन गएको हो । हालसम्म पनि स्थानीयवासीले साँफेलाई साप्या नै भन्ने गर्छन् ।”

साँफेबगरको जग्गालाई सुरुमा हातले साँपेकाले साप्या र नदी किनारको बगर भएकाले साँप्याबगर हुँदै पछि साँफेबगर रहन गएको भन्ने बुझाइ स्थानीय जानकारको छ । एकथरी जानकारको भनाइमा यस क्षेत्रमा सर्प धेरै देखिने गर्थे । सर्पलाई स्थानीय भाषामा साप भनिन्छ । साप देखिने भएकाले सापबगर हुँदै पछि साँफेबगर नाम रहन गएको हो ।

साँफे क्षेत्रमा व्यापार व्यवसायको सुरुवात १९९७ सालतिर स्थानीय बखजन कुँवरले सुरु गरेको जानकार बताउँछन् । हालको साँफेबगर नगरपालिका–३ मा पर्ने कालभैरव मन्दिरनजिकको ओढारमा गाउँमा उत्पादन भएका केही वस्तु बिक्रीमा राखेर बखजन कुँवरले व्यापार सुरु गरेका थिए । त्यसपछि विस्तारै त्यहाँ बजारले रूप लिएको देखिन्छ । २०३० सालतिर साँफेमा विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल क्षेत्रमा पनि बजार विस्तार भएको थियो ।


नुन, गुड, तेल र लुगाफाटालगायतका सामान खरिद गर्न पैदल यात्रा गर्ने भरियाका लागि साँफे विश्रामस्थल जस्तै थियो तर पछि सिलगढी–साँफे सडक विस्तार भएपछि २०५३ सालमा साँफेबगरमा हाटबजार स्थापना भयो ।

बूढीगङ्गा नदी र छिपेखोलाको पानीबाट सिँचाइ हुने भएकाले साँफेबगर अन्नबाली उब्जाउका लागि उर्वर भूमि हो । यो खेतीयोग्य जमिन तत्कालीन बिमकोटे राजाको बिर्ता थियो । हालको एयरपोर्ट बजार रहेको जग्गा बिमकोटे राजाबाट २४ पाथी बिउ लाग्ने खेत स्थानीय नारुसिंह कुँवरले किनेको उनका नाति कालुसिंह कुँवर बताउँछन् ।

उक्त जग्गामा २००८–१० सालतिर छिपेखोलाको बाढी पसेर त्यसलाई बगरमा परिणत गरिदिएको थियो । २०७० सालमा त्यहीँ जग्गा बुवा भुवानसिंह कुँवरले स्थानीयवासीलाई निःशुल्क वितरण गरिदिएका थिए ।

साँफेमा टनकपुरबाट भरियाद्वारा सामान बोकेर व्यापार गरिन्थ्यो । पछि खच्चरमा सामान ल्याउने गरियो भने अहिले सडक विस्तार भइसकेको छ । २०५३ सालमा हाटबजार स्थापना हुँदा साँफेबगर अछामको मात्रै नभएर बाजुरा, बझाङ, कालीकोट, मुगु, हुम्लालगायतका जिल्लाको प्रमुख व्यापारिक केन्द्र बन्यो ।

सडक विस्तार भएसँगै यहाँ व्यापार केही मात्रामा खुम्चियो । साँफेबगर बजार वरिपरि बाक्लो बस्ती भएका पहाड छन् । साँफेबगरको दक्षिण पश्चिममा बूढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ । साँफेबगर अछाम–बाजुराको प्रमुख शहरमा पर्दछ । शिक्षा, स्वास्थ्य, बजार र सरकारी सेवा केन्द्रहरू पनि यहाँ बढिरहेका छन् । साँफेबगर नगरपालिका यस जिल्लाका चार नगरपालिकामध्येको एक हो ।

उच्च जोखिम

साँफेबगर बजार क्षेत्र नदी कटानको उच्च जोखिममा छ । उत्तर पश्चिम भएर बग्ने बूढीगङ्गा र पूर्वपश्चिम भएर बग्ने छिपेखोलाको मध्यमा अवस्थित एयरपोर्ट बजार पटकपटक नदी कटानको चपेटामा पर्दै आएको छ ।

बूढीगङ्गा र छिपेखोलाले हालसम्म साँफेबगरको खेतीयोग्य धेरै जमिन कटान गरेर बगरमा परिणत गरिसकेका छन् । बूढीगङ्गाले बर्सेनि आफ्नो क्षेत्र विस्तार गरिरहेको छ ।

नदी नियन्त्रणका लागि लाखौँ रुपियाँ लगानी बूढीगङ्गामा बगेको तत्कालीन जिल्ला विकास समितिका उपसभापति कालुसिंह कुँवरको भनाइ छ ।

विमानस्थल पनि गहिरो भागमा भएकाले पानी जमेर डुबान हुने गरेको छ । बजारको पानी निकास हुन समस्या छ । ठाउँ ठाउँमा सडक बनेकाले पानी एकत्रित हुँदै बजार क्षेत्र भएर बग्ने गरेकाले एयरपोर्ट बजार डुबानको उच्च जोखिममा देखिन्छ । साँफेबगरलाई सुन्दर बनाउन नगरपालिकाको आफ्नै बजेटले खासै उपलब्धिमूलक काम गर्न नसकेको भनाइ कुँवरको छ ।

गौरवको आयोजना अन्तर्गत नेपालको पहाडी क्षेत्रका १० वटा मुख्य आधुनिक शहरमध्येको एक हो साँफेबगर । नेपाल सरकारले परिकल्पना गरे अनुसार साँफेबगरको विकास चाहिँ हुन सकेको छैन ।

आधुनिक शहरको योजना

सरकारले व्यवस्थित शहर बनाउने योजना अनुरूप २०६९ सालमा साँफेबगरलाई छनोट गरेको थियो । विश्व बैङ्कको अनुदानमा देशका १० वटा नमुना शहर बनाउने योजना अघि सारिएका थिए ।

व्यवस्थित शहर बनाउने योजना सुरु भएको १३ वर्ष बित्दा पनि कामले भने खासै गति लिन सकेको देखिँदैन । पटक पटक कार्यालय प्रमुख बदलिनु, राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनता, जग्गा उपलब्धतामा भएको ढिलाइ जस्ता कारणले यस्तो आकर्षक आयोजनाको काम अगाडि बढ्न नसकेको प्रस्ट छ ।


नयाँ शहर आयोजना साँफेबगरका निमित्त प्रमुख मनोजकुमार यादवको भनाइमा पहिलो चरणमा जग्गा एकीकरण अन्तर्गत ४२५ रोपनी जग्गाको कित्ताकाटको काम जारी छ । एक जनालाई न्यूनतम ८० वर्ग मिटरको विकसित घडेरी दिने योजना रहेको छ ।त्यस्तै २० बर्से दीर्घकालीन गुरु योजना २०७० सालमा बनेको थियो ।

बसाइँसराइमा पहिलो नगर

पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइ रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएर काम जारी राखे पनि विडम्बना नै भन्नु पर्छ । साँफेबगर नगरपालिकामा बसाइँ सरेर जानेको दर उच्च छ ।

२०७८ सालको जनगणना अनुसार साँफेबगर सबैभन्दा बढी बसाइँसराइ हुने स्थानीय तहमा परेको छ । नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारबाट बर्सेनि करोडौँ बजेट विकास निर्माणमा खर्च भइरहे पनि यहाँका बासिन्दामा पलायनको मानसिकता कमजोर परेको छैन । शिक्षा, स्वास्थ्य, रोजगारलगायतका आवश्यक पूर्वाधार र सेवासुविधाको खोजीमा अछाम छोडेर अन्तै जानेहरू बढेपछि गाउँमा जङ्गली जनावरले आतङ्क मच्चाउने गरेका छन् ।

सघन शहरी विकास

सघन शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर, डोटी अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा साँफेबगर नगरपालिकाका विभिन्न ठाउँमा निर्माणाधीन १२ योजना अलपत्र परेका छन् ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत एयरपोर्ट बजार सडक कालोपत्रे, छिपेखोला सडक कालोपत्रे, नगरप्रमुख तथा उपप्रमुख आवास निर्माण, सरमखेल्ने पार्क निर्माण, बयलपाटा पार्क निर्माण, वैद्यनाथधाम सडक मर्मत, ठाँटी बजार भित्री सडक निर्माण कार्य अलपत्र छन् ।

त्यस्तै तारेकुना कम्प्लेक्स भवन, घुघुरकोट वडा कार्यालयदेखि दरबार जाने सडक निर्माण, हाटबजार खोला व्यवस्थापन, पुलबजार सडक कालोपत्रे, लामाखेत डोप्का नाली निर्माण गरी विभिन्न शीर्षकमा निर्माण योजना छुट्याइएका छन् ।   

–युवामञ्च