• १६ भदौ २०८१, आइतबार

बाँकेका ७१ सीमास्तम्भको मर्मत

blog

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणले मर्मतसम्भार तथा रङरोगन गरेको सीमास्तम्भ । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, पुस १२ गते । नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन कार्य सम्पन्न भएको बताउनुभयो ।

बाँके जिल्ला अन्तर्गत रहेका कुल ३११ सीमा स्तम्भमध्ये नेपाल सरकारले मर्मत तथा सम्भार गर्नुपर्ने बिजोर नम्बरका ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन गर्ने कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

विगतमा सीमास्तम्भहरूको नापी विभागबाट निर्माण, पुनर्स्थापना तथा मर्मत सम्भार हुने गरेको भए पनि सरकारले २०७७ साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएपछि यो कार्य सशस्त्र प्रहरी बलले सम्पन्न गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशविक्रम शाहीले सरकारले दिएको विभिन्न जिम्मेवारी अन्तर्गत सीमास्तम्भ मर्मत सम्भार कार्य पनि एउटा भएको हुँदा यस कार्यलाई पनि जिम्मवेपारीपूर्वक सम्पन्न गरिएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा जिम्मेवारी अन्तर्गत अन्तर्राष्ट्रिय सिमानामा रहेका सीमास्तम्भको अभिलेख व्यवस्थापन, रेखदेख, अनुगमन लगायत सीमाक्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गरी सक्रियतापूर्वक काम गर्दै आइरहेको एसपी शाहीले जानकारी दिनुभयो ।

बाँके जिल्ला अन्तर्गत नेपालतर्फ रहेका सीमास्तम्भको मर्मत सम्भारतथा रङरोगन गर्ने कार्य गत मङ्सिर २० गतेबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।