• ११ असोज २०८१, शुक्रबार

पोखरा–जामुने खण्डमा धमाधम काम

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, पुस १२ गते ।  मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि चिनियाँ निर्माण कम्पनी अनहुई काइयुआन आइवे एन्ड ब्रिजले जामुने–पोखरा खण्डमा पनि कामलाई तीव्रता दिएको हो । 

मङ्सिर महिनासम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १४ प्रतिशत प्रगति भएको निर्माण कम्पनीको दाबी छ । २०७८ साल भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ साल भदौ १२ गतेसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्साभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरेको छ ।

आयोजनाका इन्जिनियर नारायण पौडेल निर्माण कम्पनीलाई एक महिनाको लक्ष्य दिइएको  र त्यो पूरा नभए ठेक्का तोड्ने प्रक्रिया थालिने बताउनुहुन्छ । “अब एक वर्ष पनि समय बाँकी छैन । अहिले मेनपावर, उपकरण बढाएको छ । फ्रेब्रुअरीभित्र पाँच किमीसम्म कालोपत्र गर्ने लक्ष्य दिएका छौँ ।” निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर फाङ इफाले सब बेस असी हजार क्युब मिटर र बेस तिस हजार क्युब मिटरका लागि आवश्यक सामग्री तयार राखिएको जनाउनुभयो । उहाँले अहिले नै कम्पनीसँग २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार रहेको उल्लेख गर्नुभयो । 

अस्फाल्ट पिच गर्नुपर्ने भएकाले जाडो घटेपछि तीव्र रूपमा काम हुने कम्पनीले जनाएको छ । सोमबारसम्म १.७ किमीमा सब बेसको काम सकिएको छ । म्यानेयर इफाले बाँकी अवधि र कोभिडका कारण थपिने छ महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाउनुभयो । माघ अन्तिम वा फागुन सुरुबाटै कालोपत्रे सुरु गर्ने कम्पनीले जनाएको छ । 

सोमबार सडकको काम अवलोकन गर्न पुग्नुभएका पोखरा महानगरकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय कामको गति बढेको जनाउँदै समयमै काम सक्ने गरी लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गति बढेको देखियो तर सन्तुष्ट भइहाल्ने ठाउँ छैन । पोखरा महानगर क्षेत्रमा काम थालिएकै छैन, त्यहाँ काम नभई प्रगति पनि देखिँदैन ।” सडक स्तरोन्नति ढिलो हुँदा सर्वसाधारणको आवागमन र पर्यटन क्षेत्रसमेत नराम्ररी प्रभावित बनेको उहाँले औँल्याउनुभयो । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । शुक्लगण्डकीले आयोजनाले नदीजन्य पदार्थ अरू पालिकामा लैजाँदा शुल्क लिने गरेको छ । प्रमुख पण्डितले सङ्घीय मन्त्रालयले नलिन पत्राचार गरे शुल्क नलिने प्रतिबद्धता जनाउनुभयो । शुक्लागण्डकीले नदीजन्य पदार्थ अन्यत्र लैजाँदा प्रतिगाडी आठ सयदेखि एक हजार दुई सयसम्म शुल्क लिने गरेको छ । निर्माण कम्पनीले सडक स्तरोन्नतिमा मुख्य समस्याका रूपमा बिजुलीको पोल र खानेपानीको पाइप व्यवस्थापन रहेको जनाएको छ । 

यो सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौँडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुने छ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइने छ । एडिबीको ऋण सहयोगमा बन्न लागेको यो सडकको पश्चिम खण्डमा करिब ३९ किलोमिटर पर्छ । यसका लागि सात अर्ब ४० करोड ४६ लाख रुपियाँ खर्च हुने छ ।