• १० मंसिर २०८१, सोमबार

हृदयरोग उपचारका साक्षी

blog

अक्षरको आविष्कार भएपछि संसारमा कसले ‘कति’ लेखिसके होलान् ? त्यसको तथ्याङ्क खोजी गर्नु मूर्खता होला तर एउटा अर्को प्रश्न गर्नु भने सान्दर्भिक नै होला–लेख्दा ‘के’ लेखिए होलान् ? सामान्यतः विभिन्न शास्त्र पुराणको गणनालाई पर राखेर आजको समसामयिक विषयमा कुरा गर्दा साहित्य लेखनलाई नै अगाडि राख्नुपर्ने हुन्छ । अझ हामै्र देशको सन्दर्भमा त साहित्यले नै अधिकांशतः किताबका पृष्ठ ओगटेको छ । मूलतः वर्तमान साहित्यमा उपन्यास, कथा, कविता, नियात्रा, गीत गजलका अलावा एउटा अर्को विधा बढी मुखरित भएर आएको पाइन्छ । त्यो हो, जीवनी ।

सम्भवतः एक व्यक्तिले दोस्रो व्यक्तिको जीवनमा आधारित भएर लेख्ने विधा नै जीवनी हो । जीवनीकै लहरमा हिजोआज स्वयम्ले आत्मकथा वा आत्मवृत्तान्त लेख्ने क्रम निकै बढेको छ । त्यसो त, यो विधा साहित्यिक व्यक्तित्वमै आधारित नहुन पनि सक्छ । यस क्रममा जुन पुस्तकको चर्चा यहाँ गरिँदै छ, त्यो एक चिकित्सकले लेख्नुभएको हो–‘मुटुसँग सहयात्रा’ । यो पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय हुनुहुन्छ ।

नेपाली पुस्तकको बजारमा साहित्यको भरमार प्रकाशन भइरहेको अवस्थामा पाठकका लागि यो पुस्तक नितान्त नयाँ स्वाद लिएर आएको छ । चिकित्सकले लेख्नुभएकाले साहित्य लेखनमा जस्तो यसमा काल्पनिकताको रङहरू मिसिने कुरै भएन । स्पष्ट छ, यो पुस्तकको विषय मूलतः चिकित्साविज्ञान नै हो । 

आत्मवृत्तान्त भन्नासाथ विशुद्ध यथार्थमा आधारित भनेर बुझ्न कठिन छैन । यद्यपि, लेखक डा. उपाध्यायले आत्मवृत्तान्त भने पनि यो पुस्तकमा पूर्ण रूपले उहाँको जीवनवृत समावेश छैन । मूल रूपमा पुस्तकमा आफ्नो डाक्टरी शिक्षाआर्जन र डाक्टर बनिसकेपछिका सङ्घर्षको रोमाञ्चक कथाले भरिएका दृश्यहरू हेर्न (पढ्न) सकिन्छ । चिकित्सक बन्न जति परिश्रम वा लगनको आवश्यकता पर्छ, त्यसभन्दा पनि पेसागत वा सेवाप्रदायक रूपमा व्यावहारिक बनाउन सक्नु बढी महत्वको कुरा हो । अझ त्यसभन्दा अगाडि बढेर डा. उपाध्याय आफ्नो पेसाप्रति इमानदार बन्न उहाँलाई एउटा आदर्श वाक्यले सधैँ प्रेरित गरिरहेको देखिन्छ । जुन वाक्य उहाँ चिकित्सा शिक्षा अध्ययनरत रहँदा गुरुहरूले कुनै मन्त्र झैँ भन्ने गर्नुहुन्थ्यो–“जब तिमी डाक्टरको रूपमा बिरामी जाँच्न बस्छौ, त्यसबेला आफूलाई चाहिँ बिरामीको ठाउँमा राख्नू, बिरामीलाई चाहिँ तिम्रो ठाउँमा राखेर निर्णय गर्नू र यो कहिल्यै पनि नबिर्सनू ।”

वास्तवमा एक सफल चिकित्सक हुनका लागि केही तत्व अपरिहार्य छ । सर्वप्रथम, चिकित्सकमा नैतिकताको अत्यन्तै ठुलो आवश्यकता हुन्छ । केवल आर्थिक उपार्जनको मनस्थिति बोकेर चिकित्सक बन्ने बनाइने अवस्थामा सम्बन्धित व्यक्ति स्वभावतः नैतिकवान् बन्नै सक्दैनन । जब आर्थिक लाभसँग चिकित्सक पेसालाई जोडिन्छ, त्यहाँ उनको नैतिकतामाथि प्रश्न उठिहाल्छ । यस अर्थमा, चिकित्सक हुनु भनेको पीडित बिरामीलाई औषधोपचार गर्ने विशुद्ध मानव बन्नु हो । यहीँनिर मनोविज्ञानको कुरो पनि जोडिन आउँछ । सफल चिकित्सकभित्र बिरामीको मनोविज्ञान बुझ्न सक्ने क्षमता हुनु पर्छ । औषधीका ट्याब्लेटसँगै चिकित्सकले दिने सहानुभूति र हौसला बिरामीका लागि वरदान हुन सक्छ भन्ने पाठ उनले आफ्नो किताबी ज्ञानसँगसँगै घोकेको हुनु पर्छ । डा. उपाध्यायको जीवनमा यी तत्वहरू अन्तरनिहित देखिन्छन् । आफ्नो र आफ्नोको मात्रै होइन दोस्रोको सेवा गर्नुपर्ने कर्मबाट प्रेरित भएकै कारण राजधानीको सुविधासम्पन्न अस्पताल छोडेर तराईका प्रचण्ड गर्मी ठाउँमा बिरामीको औषधोपचार गर्न अड्डा जमाएर बसेका छन् । त्यतातिरको बसाइको क्रममा उहाँले भोग्नुभएका बडो रोमाञ्चक घटनाहरूले समेत पुस्तकमा स्थान पाएका छन् । छुट्टाछुट्टै उपशीर्षक दिएर लेखिएका ‘गाई पस्ने ओटी’, ‘डाँकासँग मित्रता’, ‘गाग्रीबाट गोमन निस्कँदा’ लगायतका घटनाहरू पढ्दा पाठकका अङ्ग नै सिरिङ हुन्छ । अध्ययनको सिलसिलामा रसियामै हुँदा तत्कालीन राष्ट्रपति ब्रेजनेभसँग भएको लेखकको आकस्मिक भेट    (भेटाइदिनेको नियोजित भेट)लाई कल्पना गर्दा नै पनि पाठकहरू अझ बढी झसङ्ग हुन पुग्छन् । यहीँनिर, एउटा प्रसङ्गले पाठकहरू पक्कै पनि रोमाञ्चित हुन पुग्छन् जब सन् १९८५ मा ‘नोबेल’ पुरस्कार प्राप्त गर्ने प्रोफेसर चाजोभ चिनिन्छन्, जो डा. उपाध्याय रसियामा चिकित्सा शिक्षा पढ्दाका मूल गुरु रहेछन् ।

शिक्षा आर्जन गर्नु भनेको त्यसको उपयोग गर्नु पनि हो । शिक्षा आर्जनका केही मूल्य हुन्छन्, त्यसलाई दुरुपयोग गर्नु हुँदैन । पुस्तकभित्र एउटा गम्भीर रूपको प्रसङ्ग छ । रसियामा अध्ययनरत हुँदा अभ्यासको क्रममा एक सहपाठीले एउटा लासको तिघ्रामा कोतरेर एउटा बुट्टा बनाइदिए । त्यो देख्नासाथ प्रोफेसरले कक्षाका सम्पूर्ण विद्यार्थीलाई बोलाएर सोधपुछ गरेपश्चात् पत्ता लगाए, त्यो बदमासी गर्ने विद्यार्थी यमनका रहेछन् । तत्काल प्रोफेसरले ती विद्यार्थीलाई यस बेहोराको कारबाही गरे, “तँ मेडिसिन पढ्न लायक मानिस होइनस् । तेरो पनि अन्त्यमा यही अवस्था हो । तेरो बाबुआमा, चिनेजानेका मानिस, तेरा गुरु र मेरो पनि अन्त्यमा अवस्था यही हो । त्यस्तो चिजलाई आदर सम्मान गर्न नसक्नेले मेडिसिन पढ्नु हुँदैन ।... लु अब घर जा, तेरो यहाँ काम छैन” भनेर टिकट काटेर घर पठाइदिए । यसरी, मानवतामाथिको खेलबाडलाई कदापि सहन नसकिने घटनाले मूलतः चिकित्सा क्षेत्रमा झन् बढी महत्व राखेको तथ्यलाई पुष्टि गरेको छ ।

आत्मवृत्तान्तमा ढाँट्नु हुँदैन, जस्तोसुकै अप्ठ्यारो वा नकारात्मक प्रसङ्गहरूलाई पनि दुरुस्तै लिपिबद्ध गरियो भने मात्रै त्यसले सार्थकता पाउँछ । यो पुस्तक यस कारण पनि सार्थक बनेको छ कि कतिपय प्रसङ्ग सम्बन्धित व्यक्ति, समूह वा संस्थालाई नपच्न सक्छ तर समाजमा भोगिएका ती गलत पक्षलाई पनि निडर र पूर्वाग्रहबिना उतारिएका छन् । ‘अस्पतालको पैसाले छोरीको बिहे’, ‘बेड नै घर लाने मन्त्री’ आदि शीर्षकभित्रका घटनाहरू र विशेषतः अस्पतालभित्र हुने गरेका ठुला–ठुला राजनीतिहरूले पुस्तकका धेरै पृष्ठ ओगटेका छन् ।

वीर अस्पतालमा सुरु गरेको स्वास्थ्योपचार सेवा, हार्ट फाउन्डेसन, कार्डियाक सोसाइटी, सहिद गङ्गालाल हृदयरोग केन्द्र एवं मेडिकेयरलगायत संस्थाको स्थापनाका साथसाथै त्यसका बाटोमा बेहोर्नुपरेका बाधा व्यवधान र चुनौतीहरू निकै चाखलाग्दा छन् । समष्टिमा, मुटुरोगको अनुसन्धान अन्तर्गत बन्द भएको रक्तनलीमा जमेको रगत (ब्लड कट)लाई औषधी पठाई पगालेर खोल्ने पद्धति, एनजिओ गरेर ब्लक भएको ठाउँमा खोल्ने जस्ता महìवपूर्ण औषधोपचार/निदानका लागि डा. उपाध्याय र उहाँका सहयोगी÷टिमले गरेको सत्कार्यलाई यो ‘मुटुसँग सहयात्रा’ले छर्लङ्ग पारेको छ । 

अन्त्यमा, अधिकांशतः साहित्यिक काल्पनिक किताबकै मात्र बिगबिगीले एकोहो¥याइरहेको पाठकको मनमस्तिष्कलाई यो यथार्थपरक पुस्तकले धेरै मात्रामा ज्ञान हासिल गराउन सक्नेमा भिन्न मत हुन सक्दैन ।