• २३ पुस २०८२, बुधबार

हिमवत्खण्डको समीक्षात्मक अध्ययन सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २२ गते । प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो ।

प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा जीवेन्द्रदेव गिरी, प्रा. नीलमणि ढुङ्गाना, प्रा. केदार न्यौपाने र डा. दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा शनिबार भएको विशेष कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयको पुराण विभागका संस्थापक डा. पोख्रेलको निधन भएको ११ वर्षपछि उहाँका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गर्नुभएको हो ।  

डा. पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई प्रा. नीलमणि ढुङ्गानाद्वारा नेपाली भाषामा समेत अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्डमध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताउनुभयो । 

प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने उल्लेख गर्नुभयो । 

प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्राडा पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताउनुभयो । यसै गरी स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उहाँको भनाइ छ । 

प्राडा गिरी र प्रा. न्यौपानेले यो पुस्तक प्राचीन विषयको अध्ययन गर्न चाहनेका लागि निकै नै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यसअघि हिमवत्खण्डसम्बन्धी दुई वटा सम्मेलन भएका थिए । 

पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा. पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताउनुभयो । उहाँले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिनुभयो ।