• २२ पुस २०८२, मङ्गलबार

वातारण संरक्षणको जनचेतना फैलाउन नाटक मञ्चन

blog

कास्की, पुस २० गते । पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडाहरूमा देखाइएको छ । वातावरण संरक्षण,  फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन पोखरा महानगरका ३३ वटै वडामा नाटक मञ्चन गरिनेछ । 

नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा ३०, ३१ र ३२ मा मञ्चन गरिएको छ । 

कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित ‘रिसाइकलिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी सिर्जना (जिसिआरयू) परियोजना’ अन्तर्गत नाटक तयार भएको हो ।

यो नाटक हास्य–व्यङ्ग्य तथा व्यावहारिक सन्देशमार्फत स्थानीय समुदायलाई छिटो जोड्ने शैलीमा तयार गरिएको थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । नाटकको प्रस्तुति पोखरा थिएटरको रहेको छ भने लेखन तथा निर्देशन परिवर्तनको हो । नाटकमा निर्देशक परिवर्तन सहित रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, उत्सर्ग सुवेदी, रञ्जु दाहाल, सुसन पौडेल, उमा पुन, श्रद्धा आचार्य, श्रीकृष्ण भण्डारीको अभिनय रहने छ ।

प्रप्स तथा कस्टुम परिकल्पना, निर्माण विकास अधिकारीले गर्नु भएको छ भने नाटक मञ्चनलाई प्रभाबकारी बनाउन कार्यक्रम संयोजकको जिम्मेवारी प्रकाश रेग्मी हमालले दिइएको छ । ४० मिनेटको उक्त नाटकबाट दर्शकले मनोरञ्जन मात्र नभएर ‘रिसाइकलिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी सिर्जना (जिसिआरयू) परियोजना’ बारे बुझ्न अपेक्षा गरिएको छ ।

देशकै ठुलो महानगर पोखराका लागि फोहोर व्यवस्थापन र वातावरण संरक्षण सन्देश नाटकले दिने विश्वास गरिएको छ ।