• २४ पुस २०८२, बिहिबार

बालबालिकाले देखाए पैंसरी र हुड्केली

blog

परम्परागत हुड्केली नाच प्रस्तुत गर्दै जानकी मावि दोहलीका विद्यार्थी । तस्बिर : शङ्कर केसी

शारदा समाचारदाता

शारदा (सल्यान), पुस २३ गते । सल्यानमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मौलिक तथा परम्परागत लोककला र संस्कृतिप्रति चासो बढ्दै गएको देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा आयोजित खेलकुद प्रतियोगिताका क्रममा बालबालिकाले पैंसरी (लहरे) र हुड्केली नाच प्रस्तुत गर्दै आफ्नो संस्कृति संरक्षण र सिकाइप्रति उत्साह देखाएका हुन् ।

छत्रेश्वरी गाउँपालिकाको पाँचौँ अध्यक्ष कप तथा आठौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमाध्यमिक विद्यालय खेलाडी छनोट प्रतियोगितामा सोमबार जानकी माध्यमिक विद्यालय छत्रेश्वरी–३, दोहरीका विद्यार्थीले हुड्केली र लहरे नाच प्रस्तुत गरेका हुन् । शारदा मावि शङ्खमूलको खेल मैदानमा विद्यार्थीले प्रस्तुत गरेको मौलिक प्रस्तुतिले कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीसहित सबैको ध्यान तानेको थियो ।  

हुड्केली नाचमा सात जना विद्यार्थी सहभागी थिए भने पैंसरी नाचमा एक जना मादलेसहित १९ जना विद्यार्थी सहभागी भएका थिए । खेलकुदसँगै संस्कृति पनि विद्यालय शिक्षाको महत्वपूर्ण पाटो भएकाले विद्यार्थीलाई मौलिक संस्कृतितर्फ अग्रसर गराइएको जानकी माविका प्रधानाध्यापक सुरेश बुढाथोकीले बताउनुभयो । हुड्केली नाच प्रस्तुत गर्ने विद्यार्थी सिर्जना पुनले आफ्नो पहिचान र संस्कृतिबारे बुझ्न पाइएको बताउनुभयो । यस्तै विद्यार्थी सल्फा बुढाथोकी, चाँदनी दाहालले पालिकास्तरीय कार्यक्रममा विद्यालयमा सिकेको नाच देखाउन पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि मौलिक नाचलाई निरन्तरता दिन चाहेको उल्लेख गर्नुभयो । 

पैंसरी नाच प्रस्तुत गर्ने विद्यार्थी हेमन्त खड्काले आफ्नो इतिहास र संस्कृतिको संरक्षणमा शिक्षक तथा अभिभावकले उत्प्रेरित गरेकाले हौसला मिलेको बताउनुभयो । बढ्दो आधुनिकतासँगै परम्परागत लोककला संस्कृति ओझेल पर्दै गएको अवस्थामा पछिल्लो पुस्ताले विद्यालयस्तरबाटै यसतर्फ चासो देखाएका हुन् । 

स्थानीय कला संस्कृतिप्रेमी खुसल बुढाले विद्यालयस्तरबाटै लोकसंस्कृतिको संरक्षण र प्रवर्धन आवश्यक रहेको जोड दिनुभयो । छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले खेलकुदसँगै संस्कृति जोडिनु अत्यन्तै सकारात्मक भएको बताउनुभयो । उहाँले बालबालिकामा रहेको प्रतिभा र मौलिक संस्कृतिप्रतिको चासोलाई गाउँपालिकाले प्रोत्साहन गर्ने भन्दै यस्ता कार्यक्रमले समाजको पहिचान जोगाउने तथा नयाँ पुस्तालाई संस्कृतिसँग जोडेर अनुशासित र सिर्जनशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।