• १२ साउन २०८१, शनिबार

तपाईं रिटायर्ड हुनुभएको हो ?

blog

त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक तथा नेपाली साहित्यका प्रसिद्ध समालोचकसँग एउटा पुस्तकको अन्तर्क्रियामा भेट भयो । निकै लामो समयपछिको भेट भएकाले कुशलक्षेम सोध्ने क्रममा उहाँले सोध्नुभयो, “तपाईं रिटायर्ड हुनुभएको हो ?”

उहाँको प्रश्नले म झसङ्ग भएँ । मैले कहिले पनि रिटायर्ड भएको वा रिटायर्ड हुने कुरा सोचेको छैन । मैले उहाँलाई जवाफ दिएँ, “मेरो जागिर मात्र छुटेको हो, म रिटायर्ड भएको होइन ।” मेरो जवाफ सायद उहाँका लागि पनि अनपेक्षित थियो । किनभने केही निश्चित अवधि जागिर खाएर त्यो जागिर छुटेपछि मानिस रिटायर्ड हुन्छन् भन्ने आमबुझाइ छ हाम्रो समाजमा । रिटायर्ड अर्थात् बुढो अर्थात् सव्रिmय जीवन बिताउन नसक्ने अर्थात् अब काम नलाग्ने ।उहाँले मेरो जवाफ सुनेपछि एकछिन विचार गर्नुभयो र त्यसपछि भन्नुभयो, “मैले भन्न खोजेको पनि जागिर छुटेको कुरा नै हो ।”हामी दुवै हाँस्यौँ । यो सामान्य संवाद थियो हाम्रोबिचमा तर यसले मलाई एकाएक सोचमग्न बनायो ।

म उनन्पचास वर्ष पूरा गरेर पचास वर्ष लागेको केही महिनामा मैले तिस वर्ष काम गरेको कार्यालयले बडो कूटनीतिक तरिकाले भन्यो, “तँ अब काम गर्न नसक्ने भइस्, जागिर छोड् ।” 

यो अवधिमा मलाई कार्यालयले उच्च शिक्षा दियो, अनेकौँ तालिम र सेमिनारमा भाग लिन लगायो । मलाई मेरो पेसागत कामका विभिन्न व्यावसायिक तथा प्राविधिक पक्ष सिकायो । कार्यालयले मेरो आत्मविश्वास बढायो र मलाई पूर्ण क्षमतामा राम्रो प्रतिफल आउने गरी काम गर्न सक्ने बनायो । जब व्यवस्थापन तहमा बसेर आफ्नो क्षमता प्रयोग गर्न सुरु गरिएको थियो, तब मलगायत दुई सयभन्दा बढी जनशक्तिलाई भन्यो, “तिमीहरू अब जागिर छोड । तिमीहरूको सेवा हामीलाई पुग्यो ।”

यो व्यवहार म बाँचेको अति कम विकसित देशका लागि कुनै पनि दृष्टिले उपयुक्त होइन । खर्चको दृष्टिले हेर्दा मलाई पेन्सनलगायत अनेकौँ सुविधा दिएर घर पठाउनु र नयाँ जनशक्ति भर्ना गरेर तलबभत्ता दिनु, अनेकौँ तालिम र अवसरहरू दिएर काम सिकाउनु धेरै खर्चिलो मात्र होइन, खर्चको दुरुपयोग पनि हो तर यस्तो गम्भीर विषयलाई सोही अनुसारको गम्भीरतासाथ लिने कार्य जवाफदेही र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुन्छ । मैले मेरो परिवेशमा यस्तो जवाफदेहिताको अपेक्षा गर्न सकिनँ किनभने मेरो नेतृत्व तहले उच्च पदको विशेषज्ञ सेवा र रोजगारी अर्थात् जागिरको सिर्जनाबिचको भिन्नतालाई बुझ्दैन, बुझेन । 

सरकारसँग रोजगारी सिर्जना गर्ने अनेकौँ अवसर र तरिकाहरू हुन्छन् तर अनुभवी जनशक्तिको विशेषज्ञ सेवा लिने पाउने अवसर सीमित हुन्छ । यदि यो भिन्नतालाई बुझ्ने क्षमता नेतृत्वले राख्थ्यो, सरकारी नीति निर्माताहरूले राख्थे भने संस्थापिच्छे अवकाशका लागि अलगअलग उमेरको प्रावधान राखिँदैनथ्यो र ज्ञान एवं अनुभवले परिपक्व भएको जनशक्तिलाई असमयमै सेवा निवृत्त नभई अभैm केही वर्ष सेवा गर्ने अवसर प्राप्त हुने थियो । असमयमै अवकाश गराउने कार्य एउटा सोच हो; जसले देशको खर्चमा मितव्ययिता ल्याउन र उत्पादनमा प्रभावकारिता वृद्धि गर्न सहयोग गर्दैन ।

कवि दिनेश अधिकारीले एक दिन भन्नुभयो–“जागिर भनेको यात्रा गर्दा बाटोमा भेटेको यात्री जस्तो रहेछ । हिँड्दै जाँदा बाटोमा अनेकौँ यात्री भेटिन्छन् । परिचय हुन्छ, केही समय सँगै पनि हिँडिन्छ, हाँसो–ठट्टा र सुखदुःखका कुरा हुन्छ तर केही पर पुगेपछि बाटो छुट्टिन्छ । मेरो पनि जागिरसँग बाटो छुट्टियो तर म अहिले पनि आफ्नो यात्रामा निरन्तर छु ।” अधिकारी नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनुभएको हो ।

ठुलो सोच राखेर विचार गर्ने हो भने जीवन सम्पूर्ण नै यात्रा हो– एउटा किनारबाट सुरु भएर अर्को किनारसम्म पुग्ने अर्थात् शून्यबाट सुरु भएर फेरि शून्यमा नै पुग्ने । यात्राका यी सबै बिन्दु संयोगै संयोगले बनेका हुन्छन् । ती संयोगमा व्यक्ति अथवा यात्रीको इच्छाको नियन्त्रण अत्यन्त कम हुने रहेछ । पहिलो बिन्दु जन्म र अन्तिम बिन्दु महाप्रस्थान हामी यात्रीको नियन्त्रणमा छैनन् । बाँकी अन्य बिन्दुमा पनि समयले घिसारेका, हिर्काएका, जबरजस्ती गरेका दाग, छाया र प्रतिच्छायाहरू अनेकौँ भेटिन्छन् । हाम्रा स्मृतिहरू, अनुभवका पाटाहरू भने बाटो छुटे पनि, समय छुटे पनि हामीसँगै रहन्छन्, हामीलाई हँसाउँछन्, रुवाउँछन्, अनुभूतिशील बनाउँछन्, हामीमा ऊर्जा थप्छन् र कहिलेकाहीँ हामीलाई थकाउँछन् पनि । जीवनभरिका साथी हुन् यी । 

जीवनको एउटा उर्वर समयमा मैले निश्चित बाटो हिँडेँ घर–कार्यालय–घर । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तर अहिले मेरो बाटो फराकिलो भएको छ । जीवन झनै सक्रिय भएको छ । मेराअगाडि अनेकौँ काम छन् । म सृजनात्मक लेखन गरिरहेको छु, अनुवाद गरिरहेको छु, भूमिकाहरू लेखिरहेको छु, राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना रचना र अनुभवहरू सुनाइरहेको छु । म जीवनका छोटाछोटा यात्रामा हिमाल, पहाड उकालीओराली र तल समुद्री किनारमा छालहरूसँग खेल्दै अनुभूति र भावनालाई बटुलिरहेको छु, कक्षाकोठामा विद्यार्थीसँग ज्ञान र अनुभवलाई बाँडिरहेको छु । विद्यार्थी र युवाको उत्साहबाट आफूलाई झनै जिउँदो, झनै युवा र कर्मशील अनुभव गरिरहेको छु ।

कवि अधिकारीले भने जस्तो राष्ट्र बैङ्कको जागिर मेरो यात्रामा बाटोमा भेटिएको सहयात्री थियो । हामी केही समय सँगै हिँड्यौँ । त्यसपछि हाम्रो बाटो एउटै थिएन । हामी छुट्यौँ ।

जागिरमा रहँदा कहिलेकाहीँ लाग्थ्यो – त्यति सानो उमेरमा अवकाश भएपछि के गर्ने होला ? दिनचर्या कस्तो होला ? यदाकदा अत्यास पनि लाग्ने गर्दथ्यो तर जागिर छुटेपछि पो मेरा पखेटा पलाएका छन्, मेरो क्षितिज फराकिलो भएको छ, मेरो सृजनशीलताको आयाम झनै विस्तृत भएको छ । म आपूmलाई झनै जिउँदो, झनै जाग्दो र सृजनशील अनुभव गरिरहेको छु । अहिले मेरो दिन १० बजे सुरु हुँदैन, त्यो कहिले बिहान ७ बजे सुरु हुन्छ, कहिले ८ बजे र कहिले ९ बजे सुरु हुन्छ । मेरो दिन ५ बजे टुङ्गिँदैन, त्यो तन्केर साँझ ७ बजे, ८ बजे र ९ बजेसम्म पनि पुग्छ । रुटिनबद्धताबाट बाहिर निस्केपछि स्वतन्त्रताको अर्थ खुल्न आएको छ मेरोसामु । आफ्नो हाकिम आफैँ । वाह ! यो अनुभूति जीवनको सर्वोच्च भाव रहेछ । 

मेराअगाडि अक्षरका बग्रेल्ती रासहरू छन्, शब्दहरूका झुन्डझुन्ड छन् । ती मतिर हेर्छन् र भन्छन्– “हामीलाई अर्थ देऊ, हामीलाई अनुभूति, भाव र विराट सार्थकता देऊ । हामी खुम्चन, ओइलाउन, निस्सार बाँच्न र अर्थहीन हुन चाहँदैनौँ । हामीलाई हामी हुनुको मूल्य देऊ कवि ।”

अक्षरहरूका, शब्दहरूका, वाक्यहरूका आग्रहले मेरो जीवनमा प्रकाश छरेका छन्, दिवस थपेका छन् र मलाई जीवन बाँचिरहन निरन्तर प्रेरित गरिरहेका छन् । म साहित्य महोत्सव आयोजना गरिरहेको छु । म राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न मञ्चमा उभिएर आफ्ना कुरा भनिरहेको छु, अरूका कुरा पनि सुनिरहेको छु । म ध्यान गरेर आफैँभित्र प्रवेश गर्छु र आफैँभित्र कति उज्यालो रहेछ, आफैँभित्र कति ऊर्जा र शक्ति रहेछ, त्यो थाहा पाएर आफैँ दङ्ग पर्ने गरेको छु । म भागदौडबाट अलिकति आफूलाई बचाएर प्रकृतिको नजिकै पुग्छु र उसको मनोहारिताले मुग्ध भएर आनन्द र सुखको सर्वोच्च अनुभूतिले आह्लादित हुन्छु । 

प्रकृतिले रङहरू मात्र दिएको छैन, हामीलाई त्यसको परख गर्ने आँखा पनि दिएको छ । प्रकृतिले विभिन्न स्वाद मात्र दिएको छैन, हामीलाई त्यसलाई अनुभूति गर्ने जिब्रो पनि दिएको छ । प्रकृतिले अनेकौँ किसिमका ताप र न्यानोपन दिएको छ र त्यसलाई स्पर्श गर्ने, अनुभूति गर्ने क्षमता पनि हामीलाई दिएको छ । प्रकृतिले विभिन्न सुगन्धको निर्माण गरेको छ र त्यसलाई थाहा पाएर आनन्दित हुन हामीलाई घ्राणशक्ति पनि दिएको छ । म अहिले प्रकृतिको यही अनमोल उपहारलाई अनुभूति र परख गरिरहेको छु, प्रकृतिको, जीवनको, आनन्द र आफू हुनुको अनुभूतिपूर्ण सुवासनाले सुगन्धित भएको छु । म अहिले प्रकृतिका आश्चर्यहरूले छोइएर अनुभूति गरेको स्वर्गीय भाव र जादुगरीलाई लेख्ने प्रयास गरिरहेको छु । प्रकृतिको विशालता, आकाशको अनन्तता र शून्यता लेखेर कहीँ सकिन्छ ? म त्यसलाई पनि अलिअलि लेख्ने प्रयास गरिरहेको छु । 

मलाई फुर्सद कहाँ छ ? 

मलाई रिटायर्ड हुने अनुमति कहाँ छ ?

आफूले शक्ति र अधिकारले भरिएको सरकारी कुर्सी छोडेर भोलि सडकमा आउनु पर्छ भन्ने सत्यलाई बिर्सेर यो चमकदमक सधैँभरि मेरो हो भन्ने अहङ्कारले सत्यको उज्यालोलाई छोपिदिएको हुन्थे भने म शायद रिटायर्ड हुन्थेँ होला तर मलाई त थाहा थियो, यो संसारमा नित्य त केवल सूर्य हो, प्रकृति हो । बाँकी हामी प्राणीजगत् सबै अनित्य छौँ भने जाबो एउटा कुर्सीको आयु कति दिन रहला ? तर आममानिसले यही सत्यलाई नदेख्दा रहेछन् र केही दिनको गुलियो भ्रम बोकेर अहङ्कारी बन्दा रहेछन् । मेरै वरिपरि पनि यस्ता अहङ्कारीहरू छन् । म उनीहरूलाई हेर्छु र दयाले द्रवित हुन्छु । 

कहिलेकाहीँ मानिसहरू प्रश्न गर्छन्, “अचेल तपाईं के गर्नुहुन्छ ?” एउटा मात्र काम भए पो यही काम गर्छु भन्नु ? मेरो त सिङ्गै संसार आफ्नो छ, मेरो त सिङ्गै प्रकृति आफ्नो छ । मैले त सूर्यले जसरी नै पैmलनु छ समभाव राखेर सबैतिर । मलाई त अक्षर र शब्दहरूमा सार्थक अर्थ भर्नु छ । यो भौतिक संसारमा दुनियाँको सामु सामाजिक पनि बन्नु छ र सम्बन्धहरूलाई पनि जोगाउनु छ । मैले अब म के काम गर्छु भनेर भन्नु ? मलाई औधि बेफुर्सदी छ । तैपनि प्रश्नलाई समातिसकेपछि केही त भन्नु नै प¥यो । भन्छु–“म लेख्छु, पढ्छु, अनुवाद गर्छु, अनुभवहरू साँट्छु र समारोहमा उभिएर आफ्ना कुरा भन्छु, अरूका कुरा पनि सुन्छु ।” 

  

Author

भीष्म उप्रेती