• १२ साउन २०८१, शनिबार

डीडीसीले दुधको भुक्तानी नदिँदा कृषक मारमा

blog

किसानबाट घरमै पुगेर दुध सङ्कलन गर्दै डेरी सञ्चालक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर २२ गते । दुग्ध विकास संस्थान (डीडीसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको पैसा नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् । 

डेरी सञ्चालकले किसानबाट उठाउने गरेको दुध सरकारी स्वामित्वमा रहेको डीडीसीको विभिन्न दुध सङ्कलन केन्द्रमा लगेर बेच्नेगरेका छन् । डीडीसीले तीन महिनाभन्दा बढी समयदेखि डेरी सञ्चालकलाई भुक्तानी नदिँदा किसानसम्ममा असर परेको हो । 

डीडीसीबाट पैसा नपाउँदा डेरी सञ्चालकले किसानलाई लामो समयदेखि पैसा दिन सकेका छैनन् । पछिल्लो समय डीडीसीले किसानबाट सङ्कलन गरेर ल्याएको दुध लिनै छाडेको डेरी सञ्चालकको गुनासो छ । 

लालबन्दी नगरपालिका –१, नवलपुरमा डेरी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी सुदीप कार्कीले डीडीसीलाई बिक्री गरेको दुधको पैसा नपाउँदा किसानलाई दिन नपाएको बताउनुभयो । ऋण गरेर केही समयसम्म थेगे पनि डीडीसीले अझै भुक्तानी नगरेकाले अब व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको उहाँको दुःखेसो छ । 

कार्कीका अनुसार डीडीसीले पछिल्ला दिनमा दुध लिन नमान्दा किसानबाट सङ्कलन गरेर ल्याएको दुध खेर जाने अवस्था आएको छ । आर्थिक मन्दी रहेको अवस्थामा दुध बिक्री नहुँदा दही, पनिरलगायतका परिकार बनाए पनि त्यो समेत बिक्री नभएको उहाँले गुनासो गर्नुभयो । 

पहिले एक महिनाभित्रै डेरी सञ्चालकलाई दुधको पैसा दिने डीडीसीले अहिले तीन–चार महिनासम्म भुक्तानी गर्न सकेको छैन् । दुध बिक्री नभएको र पुरानो पैसा समेत नपाएको भन्दै केही साताअघि सर्लाहीको हरिवन क्षेत्रका डेरी सञ्चालकले सडकमै दुध पोखेका थिए । 

हरिवन नगरपालिका –११, मा डेरी सञ्चालन गर्दै आउनुभएका व्यवसायी सुरेश भट्टराईले गएको भदौदेखि डीडीसीबाट पैसा नपाएको गुनासो गर्नुभयो । आफूहरुले सङ्कलन गरेर दिएको दुधको पैसा नपाउँदा किसानलाई पनि पैसा दिन नपाएको भट्टराईको भनाइ छ । 

व्यावसायिक रुपमा फर्म खोलेर गाई, भैँसी पाल्ने किसानले सोझै डीडीसीको दुध सङ्कलन केन्द्रमा लगेर दुध बिक्री गर्ने गरे पनि एक–दुईवटा गाई, भैँसी पाल्ने किसानले भने डेरीमा लगेर बेच्नेगरेका छन् । दैनिक डेरीलाई दुध बेचेर घरखर्च टार्ने किसान डीडीसीको लापरवाहीले मारमा परेको बताएका छन् । 

ईश्वरपुर नगरपालिका –१२, घारिबथानकी किसान अम्बिका खड्काले पहिलेझैँ दुध बिक्री गरेपछि महिनैपिच्छे पैसा पाउन छाडेको बताउनुभयो । पैसा खाचोँ भएका बेला डेरी सञ्चालकले तुरुन्त दिने गरेको भए पनि अहिले लामो समय पैसा नपाएको उहाँले गुनासो गर्नुभयो । 

दुध बिक्री गरेको लामो समयसम्म पैसा नपाउने र उत्पादित दुध बिक्री नहुने समस्याले गाई, भैँसीको दुध बेचेर जीविकोपार्जन गर्ने जिल्लाको ग्रामीण भेगका सयौँ किसान मारमा परेका छन् ।