• १२ साउन २०८१, शनिबार

वर्षासँगै हिउँदयाम सुरु

blog

काठमाडौँ, मङ्सिर १९ गते । नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजिन श्रेष्ठले उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सो हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको बताउनुभयो । 

अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको महाशाखाले जनाएको छ । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । उहाँले यी भेगका हिमाल र पहाडी भेगमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको जानकारी दिनुभयो । 

उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । मौसमविद् श्रेष्ठले गण्डकीको चिसोको असर बागमती प्रदेश र आसपासका अन्य प्रदेशमा पर्न गएको बताउनुभएको छ । 

जोमसोममा माइनस ५.५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । देशका अन्य भूभागमा पनि न्यूनतम तापक्रममा गिरावट हुने क्रम जारी छ । काठमाडौँमा ७.० डिग्री सेल्सियसबाट तल झर्दाे क्रममा रहेको छ । जुम्लामा ३.० डिग्री सेल्सियस, ओखलढुङ्गामा ८.० डिग्री सेल्सियसबाट तल झर्ने क्रममा रहेको छ । तराई–मधेशका भूभाग विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रमा १३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम झरेको छ । 

उहाँले भन्नुभयो, “मङ्गलबारदेखि तापक्रममा अझ गिरावट आउने छ । त्यसैले एक्कासिको मौसम परिवर्तनबाट जोगिन सरोकारवाला निकायले सचेतना फैलाउन जरुरी छ ।” 

यो वर्ष विगतका वर्षभन्दा छिटो चिसो बढेको हो । पहिलो वर्षासँगै हिमपात भएकाले चिसो बढेको महाशाखाले जनाएको छ । पूर्वी भेगमा भने मौसम बदली देखिए पनि वर्षाको सम्भावना कम छ । पूर्वी भेगको मधेश र कोशी प्रदेशमा भारतको बङ्गालको खाडीमा बनेको चक्रवातका कारण थप बदली बढेर चिसो बनाउने सम्भावना छ तर वर्षा नै गराइहाल्ने अवस्था चक्रवातले गराउने छैन । भारतकै उत्तराखण्ड क्षेत्रमा निर्मित न्यूनचापीय क्षेत्रको असरले नेपालमा हिउँदे वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।