• १० मंसिर २०८१, सोमबार

‘हालोङ बे’ मा नेपाली झन्डा

blog

हामी पूर्वको यात्रामा थियौँ, पूर्वको पनि पूर्व हान्निँदै थियौँ त्यो बिहान । रमाउँदै थियौँ देखिएका दृश्यमा, कौतूहल थियो मनमा र रोमाञ्चित थिए आँखाहरू ।

ताल तलैया र खोला त थिए नै, हिँडेदेखि छाडेका हैनन् राता झन्डाले । बजार, बस्ती त आउनै हुँदैन, जब बस्ती बाक्लिन्छ, बजार आउँछ तब देखिन्छन् छपक्कै राता झन्डा आँखै तिरमिराउने । झन्डा पनि एकै खालका होइनन् तीन किसिमका, कुनै कागजका खाली पाना जस्ता लामा ठाडा एकरङ्गे जे जे सोचे, कल्पना गरे पनि हुने, कुनै चारपाटे के के चिह्न अङ्कित ।

पट्यार लागे पनि हेर्न बाध्य थिए आँखा किनकि यी नयाँ भूगोल, नयाँ परिवेश, नयाँनयाँ दृश्यको खोजीमा हानिएका थिए त्यता र यो पनि त नौलो अनुभूति नै थियो । सडक छेउ राता झन्डा देखिए पनि परपर देखिइरहेथे हरिया डाँडाकाँडा, हरियै फाँट र गन्तव्य थियो स्वच्छ आकाश जस्तो कञ्चन निलो पानी । हाम्रा गाइड चुङले भनेकै समयमा पुगियो हनोईबाट झन्डै झन्डै चार घण्टा गुडेपछि थु्रम्काथुम्की बोकेको निलो पानीको संसार हालोङ बे छेउ ।

०००

“यो तोन चाउ हार्वर हो” – चुङले हामीलाई पुगेको स्थानबारे जानकारी दिए र सो स्थानको परिचय दिन थाले । यो बन्दरगाह रहेछ । हामीले चाख मानेर उनका कुरा सुन्यौँ र परपरसम्म नियाल्न थाल्यौँ । ठुला साना पानीजहाज र डुङ्गाहरू देखिए र पानीमा बस्ने, पानीमाथि उड्ने विमान पनि देखियो यहाँ ।

०००

जलस्रोतको धनी देश कहलिए पनि जब समुद्र नजिक पुग्छौँ हामी, समुद्रमै आँखा बिछ्याइरहन्छौँ । समुद्रका छालसँग रोमाञ्चित हुन्छौँ । एकोहोरो समुद्र हेरिरहन्छौँ । कुन्नि के के कल्पन्छौँ ? हेरेर थाक्दैनौँ समुद्र । पानी नदेखेकाले होइन समुद्र नछोइनुको, समुद्रभन्दा टाढा हुनुको कारण हामीलाई समुद्र प्यारो लाग्ने गरेको, समुद्रले काउकुती लगाउने गरेको हो सायद ।

०००

गाडीबाट ओर्लेपछि चुङ हामीलाई पानीजहाज चढ्ने ठाउँतिर अगुवाइ गर्दै छन् । साना, मझौला र ठुला थरिथरि जहाज छन् त्यहाँ । हामी भने हतारिएका छौँ र उछिनपाछिन गर्दै अघि बढिरहेछौँ । हाम्रो हतार देखेपछि चुङले ऊ... पर देखिएको सजाइएको चिटिक्कको डुङ्गा देखाएर भने, “ऊ... त्यो चाहिँमा गएर बस्नु होला है ।” हामी अगाडि बढिरहेकै थियौँ एक जना युवक अगाडि आए र मन्द मुस्कानसहित स्वागत गर्दै हामीलाई सो डुङ्गासम्म पुग्न सघाए । सायद पछाडि परेका चुङले इसारा गरेर बोलाएका थिए उनलाई ।

०००

हामी डुङ्गामा बस्यौँ । हाम्रा लागि मात्र थियो चिटिक्कको सफा, सजिसजाउ र सुन्दर त्यो डुङ्गा । र त्यो थियो दुई तले । डुङ्गा चालक र सहयोगी अनि उपहार सामग्री बिक्रेतासमेत पाँच जना अनि हामी ११ जना र पथप्रदर्शक चुङसमेत झन्डै १७ जना सवार छौँ । हाम्रो दिउँसोको खानाको प्रबन्ध पनि त्यहीँ भित्र नै छ ।

०००

हामी सबै बसिसकेपछि डुङ्गाले गति लियो । 

केहीबेरमै हाम्रा टेबुलमा खाना आयो । 

खाना खाँदै, दृश्यहरू हेर्दै रमाउन थाल्यौँ हामी । 

“खाना टन्न खानुस् र सकिएपछि माथि जानुभए हुन्छ है, माथिबाट झन् रमाइलो देखिन्छ,” चुङले छततर्फ सङ्केत गर्दै भने ।

यहाँ रात्रि जलयात्रा पनि हुँदो रहेछ । थाहा भयो रातभर र अझै तीन चार रातसम्मकै जलयात्रा गराइन्छ र त्यसका लागि सबै खाले सुविधाले युक्त चलायमान होटल जस्ता बडेबडे जहाज पनि छन् यहाँ, तर हाम्रो भ्रमण योजना दिवा जलयात्राका लागि मात्र छ ।

०००

खानापछि हामी छतमा उक्लियौँ । साँच्चिकै सुन्दर दृश्यहरू देखिन थाले चारैतिर । समुद्रभन्दा निकै पर रहेका हामी समुद्र छेउ पुग्दा नै रोमाञ्चित हुन्छाँै भने जलयात्राले हामीलाई झनै रोमाञ्चित बनाउँछ ।

यहाँ पनि हामी रमाइरहेका छौँ कारण हो– यात्राका क्रममा नजिकै आउने थुम्का अर्थात् ससाना टापुहरू ।

विमानस्थलमा भेटिएदेखि नै म चुङसँग नजिक छु । उनीसँग जिज्ञासा राखिरहेको छु । यसैले होला, पहिलो चुनढुङ्गे टापुको नजिक पुग्दा चुङले मलाई आफूतिर तान्दै एउटा आकृतितर्फ इसारा गरे र भने “ऊ त्यो देख्यौ ? कुकुर जस्तो छ नि हैन ?” यसो हेरेँ, दुरुस्तै कुकुर लाग्यो सो थुम्कोमा उनले देखाएको आकृति । 

अब सबैको ध्यान त्यतै तानियो ।

चुङले भने– यसकै नामबाट यस टापुको नाम रहेको छ ‘डग आइसलेट’ अर्थात् ‘कुकुर थुम्को’ । ‘स्टोन डग आइसलेट’ समेत भनिने रहेछ यसलाई, सिङ्गै थुम्को कुकुर जस्तो देखिने चाहिँ होइन, तल्लो एउटा भागमा कुकुरसँग मिल्दोजुल्दो आकृति रहेछ ।

चुङ सामुन्ने र दायाँबायाँ थुम्काहरूका नाम सुनाउँछन्, यो फलानो, यो फलानो, यो फलानो र म सम्झने, टिप्ने कोसिस गर्छु तर उनको अङ्ग्रेजी उच्चारणमा भियतनामी लबज मिसिने हुँदा बेलाबखत मैले आफ्नो हातको कलम–कापी नै उनीतर्फ सोझ्याउँदै लेखिदिन आग्रह गर्छु ।

यस खाडीको क्षेत्रफल झन्डै १६ सय वर्ग किलोमिटर हो । यहाँ झन्डै दुई हजार साना ठुला थुम्का रहेका र झन्डै झन्डै सबै जसो थुम्काको नाम दिइएको रहेछ । हामी अगाडि बढ्दै जाँदा चुङले भने, “ऊ त्यो छ नि त्यो चाहिँ ‘डायमन्ड आइसलेट’ हो ।” उनले आफ्नो खल्तीबाट दुई लाख डोङको नोट निकालेर सुमित्रा र मलाई समाउन लगाउँदै भने, “फोटो खिचौँ, यो नोटको पछाडि भएको फोटो यसैको हो ।” 

अङ्ग्रेजी भाषाका अनुमतिप्राप्त पथप्रदर्शक तर उच्चारण बुझ्न गाह्रो । हाम्रो अङ्ग्रेजी नेपाङ्ग्रेजी भए जस्तो चुङको अङ्ग्रेजी चाहिँ भियत्नाङ्ग्रेजी । उनी भन्छन्– एकथोक हामी सुन्छौँ, बुझ्छौँ अर्कै ।  यहाँ पनि त्यस्तै भयो । मैले ‘डायमन्ड’ बुझेको बडेमाको ढुङ्गे टापु त 

‘डिङ होङ’ पो रहेछ ।

“ऊ त्यो छ नि,” दुई वटा कुखुराले ठुँड जुधाउन खोजे जस्तो लाग्ने थुम्का देखाउँदै चुङले भने, “त्यसलाई चाहिँ कसैले ‘किसिङ चिकेन’ र कसैले ‘फाइटिङ कक’ भन्छन् ।  

आखिर कल्पना न हो, जे सम्झ्यो त्यही हुन्छ । कसैले भनिदियो, त्यसैलाई पछ्याइयो, हेर्दा साँच्चिकै त्यस्तै लाग्थे ती आकृति, परस्पर मुखामुख गरेका ती लड्न तम्सिए वा माया गर्न, परस्पर ठुँड मिलाउन खोजेका जस्ता लाग्थे । दृष्टि आआफ्नो, सोचाइ र कल्पना आआफ्नो हो ।

०००

हाम्रो जलयात्रा झन्डै डेढ घण्टा भइसकेको थियो तर लागिरहेथ्यो आधा घण्टा पनि भएको छैन ।  हामी अत्यन्त रोमाञ्चित थियौँ र फोटो खिच्न व्यस्त थियौँ । मसँग झोलामा थियो नेपालको राष्ट्रिय झन्डा । यात्रा झन्डै आधा भइसक्दा मैले हत्तपत्त झोलाबाट झन्डा झिकेँ र साथीहरूलाई बोलाएँ, ल आउनोस् फोटो खिचौँ ।

मेरो हातमा झन्डा देख्नासाथ साथीहरूमा भिन्नै खालको उत्साह छायो ।  सबैको मुखबाट निस्क्यो, ‘आहा’ नेपालीको पहिचान, संसारमा नेपाललाई चिनाउने प्रतीक हाम्रो झन्डा साँच्चिकै गर्व गर्न लायक छ किनकि यो एक मात्र यस्तो आकारको झन्डा हो । 

डुङ्गा आफ्नै गतिमा थियो, हामी सबै एकै ठाउँ जम्मा भयौँ र झन्डा समायौँ, चुङले फोटो खिचिदिए ।

चुङ राम्रो फोटो खिच्छन् । हामी जस्ता पर्यटकलाई घुमाउने उनी फोटो खिच्दाखिच्दा फोटो कसरी र कस्तो ठाउँमा खिच्नु पर्छ भन्नेमा पनि पारङ्गत छन् । 

हाम्रो फोटो हेरेर हामी नै चकित भयौँ ।

०००

केहीबेर अगाडि बढेपछि डुङ्गा मोडियो । हामी लाग्यौँ थियन कुङ केभ, हेभन प्यालेस गुफातर्फ । अलि पर कुनामा पुगेर किनारामा डुङ्गा अडियो । हामी ओर्लियौँ र समुद्रमाथि तैरिरहेको थुम्कोभित्रको गुफामा पस्यौँ । 

यो यस खाडीमा स्थित गुफाहरूमध्ये सबैभन्दा सुन्दर गुफा रहेछ । डाउ गो आइल्यान्डमा अवस्थित यो गुफा समुद्री सतहबाट करिब २५ मिटर माथि छ ।

गुफाभित्रका दृश्यले हामीलाई रोमाञ्चित बनाए । दृष्टि आआफ्नो हो, हामीले त्यसभित्र शिवलिङ्ग र शालिग्रामका आकृतिहरू देख्यौँ, कतै बुद्ध र कतै गणेश देख्यौँ, कतै महिला र कतै पुरुष देख्यौँ तर चुङले त्यसभित्रका आकृतिहरूलाई आफ्नै हिसाबले वर्णन गरे । यो रहस्यमय गुफाकै रूपमा रहेछ ।

भित्री सुन्दरता र विभिन्न आकृतिका कुरा त छँदै छन्, यसको बाहिरी भागको छुट्टै आकर्षण छ । यहाँ विभिन्न वनस्पति छन् । यसलाई संरक्षित मात्र गरिएको छैन, आकर्षक ढङ्गले सजाइएको पनि छ । यो कुतूहल जगाउने, रोमाञ्चित बनाउने खालको छ ।  समुद्रमा तैरिरहेको थुम्को र त्यसभित्र विशाल गुफा आफैँमा आश्चर्यको कुरा, त्यसको समुचित संरक्षण र व्यवस्थापन गरेर पर्यटकलाई आकर्षित गर्ने, त्यहाँसम्म पु¥याउने प्रयास आफैँमा सराहनीय हो ।

०००

अघाएको थिएन मन । लागिरहेथ्यो अझै परपर जाउँ, अझै घुमुँ, अझै हेरुँ तर बितिसकेछ झन्डै साढे तीन घण्टा यहीँ । जलयात्राको निर्धारित समय सकिनै पो आँटेछ । प्रकृति कति शक्तिशाली ? नौलो ठाउँ, नौला दृश्य, प्रकृतिको काखमा यतिका समय बितेको पत्तै भएन । 

वर्षा हुने सम्भावना जतिखेर पनि रहन्छ यस्तो स्थानमा । चुङ भन्थे, “तपाईंहरू भाग्यमानी हुनुहुँदो रहेछ, किनकि आज हामीलाई मौसमले पूरै साथ दियो र हाम्रो यात्रा रोमाञ्चक एवं सफल रह्यो । कतिलाई त ल्यायो, केही देखाउनै पाइँदैन, बाहिरैबाट फर्कनु पर्छ ।” मौसम खराब भयो भने जलयात्राका लागि अनुमति हुँदो रहेन छ यहाँ ।

सजाएर राखे जस्ता हरिया जङ्गलको टोपी लगाएका चुनढुङ्गाका थुम्काहरू देखिन्छन् तैरिरहेका विभिन्न आकारका भियतनामको हालोङ बेमा । यो युनेस्कोले सन १९९४ मा विश्व सम्पदा सूचीमा समावेश गरेको क्षेत्र हो । 

गुफा अवलोकनपश्चात् डुङ्गातर्फ लम्किरहँदा हल्का पानी परिरहेको थियो ।   

Author

विनोद नेपाल