• २२ वैशाख २०८१, शनिबार

एक खुट्टाले कत्थक गर्ने सीता

blog

काठमाडौँ, मङ्सिर ११ गते । सीता सुवेदी (क्लासिक) को एउटा खुट्टा छैन तर पनि उहाँ शास्त्रीय नृत्य ‘कत्थक’ को नृत्याङ्गना हुनुहुन्छ । १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण उहाँले आफ्नो खुट्टा गुमाउनु परेको थियो तर पनि हिम्मत नहारी उहाँ आफ्नो कला र सिपमा दत्तचित्त भएर लागिरहनुभयो । 

नृत्य गर्ने क्रममा उहाँको देब्रे खुट्टाको घुँडाभन्दा तल हल्का सुन्निएको थियो । उहाँको परिवारले उहाँलाई अस्पताल पु¥याउनुभयो र धेरै चिकित्सकसँग पनि परामर्श गर्नुभयो तर समस्या पत्ता लगाउन सकिएन । उहाँ भन्नुहुन्छ, “अन्ततः भरतपुर क्यान्सर अस्पतालले मात्र समस्या पत्ता लगायो । अस्पतालमा खुट्टाको हड्डी निकालेर परीक्षण गर्दा थाहा भयो, बोन म्यारो क्यान्सर भएको रहेछ ।” त्यसपछिको घटना झन् कहालीलाग्दो भएको सीता सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जब चिकित्सकले देब्रे खुट्टा काटेर फ्याँकेपछि मात्र क्यान्सरबाट छुटकारा पाउने बताए । म छाँगाबाट खसे जस्तै भएँ । अल्पायुमा नै मर्नुभन्दा खुट्टा काटेर फाल्ने निधो गरेँ । २०५७ सालमा देब्रे खुट्टा काटेर फालियो । मलाई थाहा थियो खुट्टा काटेपछि नाच्न पाइँदैन त्यसैले काट्ने अघिल्लो दिन यति नाचे कि सम्झिन पनि सक्दिनँ ।” 

कला क्षेत्र उहाँको प्राणमा बसेको छ । अझ भन्नु पर्दा कला क्षेत्रबिना आफूलाई अलग राख्न नसक्ने उहाँ बताउनुहुन्छ । चितवन मेघौलीकी सीता सानैदेखि चञ्चल स्वभावको हुनुहुन्थ्यो । उहाँ गीत गाउन र नाच्न धेरै नै रुचाउनु हुन्थ्यो । उहाँ विद्यालयमा कार्यक्रम हुँदा आफैँले गीत लेख्ने, सङ्गीत भर्ने, गाउने, नाच्ने र पुरस्कार जित्ने गरेको सम्झनुहुन्छ । उहाँले नेपाली साहित्य र सङ्गीतमा स्नातकोत्तर गर्नुभएको छ भने कत्थक नृत्यमा स्नातकसम्मको अध्ययनका क्रममा कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय २०१८ की स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ ।

नृत्य र सङ्गीत सिक्ने क्रममा सामना गर्नु परेको असङ्ख्य चुनौतीको सीतासँग तितो अनुभव छ । एउटा खुट्टा काटिएपछिको  शारीरिक चुनौतीले गर्दा उहाँ आफूले चाहेको विषयसमेत पढ्न नपाएको बताउनुहुन्छ । उहाँले शास्त्रीय सङ्गीतमा धनबहादुर गोपाली र श्री केसीलाई सङ्गीत गुरु र नृत्य गुरु रवि रानामगरलाई मान्नुहुन्छ । उहाँ आजसम्म पनि गुरुहरूको सुझाव लिँदै आफ्नो मेहनत, धैर्य र अनुशासन मूल मन्त्र बनाएर अगाडि बढिरहेको बताउनुहुन्छ । 

कला क्षेत्रको अध्ययन र चिन्तनमा आफ्नो एक दशक खर्चिसक्नुभएकी सीताको सुन्दरताप्रतिको धारणा भने केही बेग्लै छ । जीवनप्रतिको उहाँको बुझाइ गहिरो छ । नृत्यमा नै जीवनको सुन्दर पक्ष देख्नुभएकी सीता जीवन सुन्दर बनाउन सुन्दर सोच हुनुपर्ने कुरामा जोड दिनुहुन्छ । सकारात्मक ऊर्जाले नै जीवनलाई सुन्दर बनाउँदै लैजानेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

सौन्दर्य मान्छेको शारीरिक बनावटमा होइन दृष्टिकोणमा हुनु पर्छ भन्ने विश्वास राख्नुहुने सीता शारीरिक चुनौतीका साथ साथै पनि सौन्दर्य प्रतियोगितामा होमिनुभयो । मेहनत, धैर्य, लगनशीलता, अनुशासन र आत्मविश्वासले उहाँलाई मिसेस नेपाल वल्र्डको प्रतियोगितामा ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ को साथमा एमएस नेपाल इन्टरनेसनल २०२३ को उपाधि  दिलायो । आफूभित्र आत्मविश्वास भयो भने जस्तो सुकै कार्यलाई सहजै गर्न सकिन्छ भन्ने उहाँले  प्रमाणित गर्नुभयो ।