• ८ चैत २०८२, आइतबार

कञ्चनपुर कारागारभित्रै आक्रमण, घाइतेको टाउकोमा १२ टाँका

blog

तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

भीमदत्तनगर, चैत ८ गते । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान लागुऔधष मुद्दाका थुनुवाहरूबीच विवाद हुँदा सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध मुद्दाका थुनुवा गणेश विष्ट र भुवन ऐरबीच सामान्य विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा ऐरले विष्टमाथि चिर्पट प्रहार गर्दा विष्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

गम्भीर घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । विष्टको टाउकोमा १२ टाँका लगाइएको र उपचारपछि पुनः कारागार ल्याइएको कारागारका सूचना अधिकारी जीवन पन्तले बताउनुभयो ।

विवादको कारणबारे कारागार प्रशासनसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झडपमा संलग्न कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।