• १२ साउन २०८१, शनिबार

सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस

blog

काठमाडौँ, मङ्सिर ६ गते । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ । रिक्त सात पदमध्ये मङ्गलबार ६ जनाको नाम सिफारिस गरिएको हो । २०७८ जेठयता न्यायाधीशले उमेरहदका कारण अवकाश पाउँदै गए पनि पदपूर्ति भने नियमित भएको थिएन । 

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भए प्रस्तावित न्यायाधीशको नियुक्तिको बाटो खुल्ने छ । अहिले सर्वोच्चमा १४ जना न्यायाधीश कार्यरत छन् । संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी छ । मङ्गलबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशबाट चार र कानुन व्यवसायीबाट दुई जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतबाट सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गानालाई न्यायाधीशमा सिफारिस गरेको हो । 

उच्चका न्यायाधीश सर्वोच्चमा सिफारिस भए पनि हाल कार्यरतमध्ये एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौला भने सर्वोच्चमा सिफारिस हुनुभएन । उच्चमा नियुक्त भएको पाँच वर्ष नपुगेको भन्दै निरौला सिफारिसमा नपर्नुभएको हो । सुवेदी उच्च अदालत विराटनगरमा कार्यरत हुनुहुन्थ्यो । यस्तै मुसलमान उच्च अदालत पाटनको हेटौँडा इजलास तथा पौडेल र ढुङ्गाना उच्च अदालत पाटनमा कार्यरत हुनुहुन्थ्यो । सुवेदीबाहेकका तीन जना २०७३ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । सुवेदी तत्कालीन पुनरावेदन अदालत रहँदै न्यायाधीश नियुक्त हुनुभएको थियो । 

यस्तै कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीशमा सिफारिस गरिएको छ । पोखरेल यसअघि नेपाल बार एसोसिएसनको महासचिव हुनुभएको थियो भने ढकाल सर्वोच्च अदालत बार एसोसिएसनको सचिव हुनुभएको थियो । 

पाँच जना मुख्य न्यायाधीश सिफारिस

यस्तै परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । परिषद्ले लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापालाई नियुक्ति र पदस्थापनको सिफारिस गरिएको छ । प्रधानन्यायाधीशले मुख्य न्यायाधीश नियुक्ति र पदस्थापन गर्ने कानुनी व्यवस्था छ । 

निर्णय अनुसार शाहलाई उच्च अदालत सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलाई तुल्सीपुर र थापालाई दिपायल पदस्थापनको सिफारिस भएको छ । उच्च अदालतमा कार्यरतमध्ये एक मात्र मुख्य न्यायाधीश निरौलालाई उच्च अदालत पाटन सरुवा गरिएको छ । निरौला हाल उच्च अदालत दिपायलमा कार्यरत हुनुहुन्थ्यो । यस्तै सत्यमोहन जोशी थारू, रत्नबहादुर बागचन्द, कृष्ण गिरी, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल, डालकुमार खड्काको सरुवा निर्णय परिषद्ले गरेको छ । 

यस्तै परिषद्ले चार न्यायाधीशको काज सिफारिस गरेको छ । काजमा पर्नुभएका न्यायाधीशमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, वामदेव ज्ञवाली र अमृतबहादुर बस्नेत हुनुहुन्छ । भण्डारीलाई उच्च अदालत ओखलढुङ्गा इजलास, पौडेल उच्च अदालत पाटन, ज्ञवालीको उच्च अदालत राजविराज इजलास र बस्नेतको उच्च अदालत पोखरामा काज सिफारिस भएको छ । 

बैठकले विशेष अदालतका अध्यक्ष र सदस्य तोक्न परामर्श दिएको छ । परिषद्को परामर्शमा सरकारले विशेषमा अध्यक्ष र सदस्य नियुक्त गर्ने कानुनी व्यवस्था छ । परिषद्ले विशेषको अध्यक्षमा टेकनारायण कुँवरको नाम सिफारिस गरेको छ । 

यस्तै सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको नाम पठाएको छ ।