• ५ जेठ २०८१, शनिबार

नारायणी नदीमा दुई हजार माछाका भुरा छोडियो

blog

नारायणी नदीमा छोडियो दुई हजार माछाका भुरा । तस्बिर :बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, मङ्सिर ५ गते ।
नारायणी नदीमा दुई हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजार माछाका भुरा छोडेको हो ।

केन्द्रीय मत्स्य प्रवर्द्धन केन्द्रले जल तथा जलमा आश्रित भएका समुदायहरुको संरक्षणका लागि नदीमा माछा छोड्ने निर्णय गरेअनुसार नारायणीमा माछाका भुरा छोडिएको केन्द्रका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिनुभयो ।

नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाईसमेत ध्यान दिएर माछा नदीमा छोडेको लामिछानेले बताउनुभयो । नारायणी नदीमा केही हजार माछाका भुरा छोड्दैमा माछाको सङ्ख्या नबढ्ने भए पनि सानो भए पनि शुभकार्य गरेको उहाँको भनाइ छ ।

माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले माछाको सङ्ख्या वृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ ।

नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको बताइएको छ । त्यसैले नेपाल माछामा आत्म निर्भर हुन सकेको छैन । तर माछा उत्पादक किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् ।

नवलपुर मत्स्य व्यवसायी कृषक समूहका अध्यक्ष इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताउनुभयो । उहाँले नेपाली माछाको उत्पादनदेखि बजारीकरणसम्म नै समस्या रहेको बताउनुभयो ।

कुमारवर्ती माछापालन समूहका अध्यक्ष छविलाल महतोले फर्मालिनमा डुबाएर ल्याएका भारतीय माछासँग नेपाली माछाले प्रतिस्पर्धा गर्न नसकेको बताउनुभयो ।

सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिने गरे पनि त्यो पर्याप्त नभएको किसानको भनाइ छ । नवलपुरमा आवश्यक पर्ने माछा र उत्पादन कति हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन ।