• १२ साउन २०८१, शनिबार

आधुनिक थ्रेसर मेसिनतर्फ कृषक आकर्षित

blog

कपिलवस्तु नगरपालिकाको थुम्हवामा थ्रेसर मेसिनको प्रयोग गर्दै । तस्विर : नारद कोहार ।

नारद कोहार

तौलिहवा, मङ्सिर ३ गते । कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि जिल्लाका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् । 

कपिलवस्तुमा अधिकांश ठाउँमा अहिले धान पाकेर पनि थन्क्याइसकिएको छ । अहिले किसानले दाइँका लागि थ्रेसर मेसिनको प्रयोग गरेका हुन् । गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कपिलवस्तुका किसान थ्रेसर मेसिन तर्फ आकर्षित हुँदै गएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ६ रमापुर बस्ने शिव पूजन यादवका अनुसार गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल रहेको बताउनुभयो । पाइएका खेतालाको खर्च पनि महँगो छ। उहाँले भन्नुभयो, "थ्रेसर मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले खेती थन्क्याउन थ्रेसर मेसिनकै भर पर्ने गरिएको छ ।" 

थ्रेसर मेसिन सञ्चालक विजय चौधरीका अनुसार थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुन्छ । प्रति घण्टा थ्रेसर मेसिनले धान पराल छुटाएको २ हजार ५ सय रुपियाँ लिँदै आएको उहाँको भनाइ छ । कपिलवस्तुका किसानहरूमा थ्रेसर मेसिनप्रति निकै नै आकर्षण रहेको चौधरीले बताउनुभयो ।

कपिलवस्तु नगरपालिका थुम्हवाका रामलाल धोबीका अनुसार आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाए तापनि मौलिक दाइँ संस्कृतिलाई पनि जोगाउनु उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, यशोधरा गाउँपालिका-२ भडेहरका कृषक सोनु पाण्डेले थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको बताउनुभयो । “गोरु पाइन छाडे, जनशक्ति छैन कामदारको अभाव छ,” उहाँले भन्नुभयो, “यही बेला मेसिन भित्रियो । सानोखाले भएकाले जताततै लान पनि सजिलो छ ।” उहाँका अनुसार दिउँसोमात्रै नभई साँझ बिहान घरमै लगेर पनि मेसिनको प्रयोग गर्न सकिने भएपछि किसानलाई थप सुविधा पुगेको हो । जिल्लाको दश वटै स्थानीय तहका किसानहरूले थ्रेसर मेसिनबाटै धान पराल छुट्याउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलका अनुसार जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धानखेती हुने गरेको बताउनुभयो ।