राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक १९ गते । रुकुमपश्चिममा पाँच दिनसम्म कर्णालीकै चर्चित ‘डिग्रेमेला‘ लाग्ने गर्दछ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरको दैवी शक्तिलाई भुतप्रेतबाट जोगाउन ‘लट्ठी नाच’ नाचिन्छ । प्रसिद्ध धार्मिकस्थल परिसरमा लाग्ने पाँच दिने ऐतिहासिक तथा धार्मिक मेलाको अवसरमा नाचिने यो नाचलाई ‘सगाल नाच’ पनि भनिन्छ ।
हरेक वर्ष हरिबोधनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म परम्परागत रूपमा लाग्दै आएको यो मेलाको मुख्य आकर्षण लट्ठी नाचलाई मानिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार द्वापर युगको अन्त्य तिरबाट सुरु भएको मानिने यो मेलालाई दैवी शक्तिसँग जोडेर हेर्ने गरिएको छ ।
मेलाको अन्तिम दिनमा मन्दिरको पूर्वतिर पर्ने साँख गाउँका मानिस हातमा लट्ठी लिएर मन्दिर परिसरमा लाग्ने भव्य मेलामा नाच्ने गर्दछन् । साँख गाउँका मान्छेहरूले यो नाच नाच्ने भएकाले यस नाचलाई सगाल नाच भनिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

मुसीकोट नगरपालिका-७ मा रहेको साँख गाउँबाटै बाजागाजा सहित हातमा लट्ठी बोकेर नाच्दै डिग्रे मेलास्थलसम्म पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतीको दर्शन गर्दै उनीहरू मन्दिर भन्दा मुनिको चौरमा नाच्ने गर्दछन् । मन्दिर प्राङ्गणबाट सगालहरू पुनः मन्दिरमा पुगी दर्शन गर्दै नाच्ने गर्दछन् ।









