• ८ मंसिर २०८१, शनिबार

चिसो बढ्दैछ, त्रिपालको भरमा भूकम्प पीडित

blog

भूकम्पपछि आकाशमुनिकै बसाइ । तस्बिर : कविता थापा

जाजरकोट, कात्तिक २६ गते । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दैछ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ । 

स्थानीय पाँच जना र सडक बनाउन बसेका छ जना गरेर ११ जनाको ज्यान छेपारेमा भूकम्पले लियो । उहाँले भन्नुभयो, “बच्चा छ, त्रिपालबाट रातभर पानी चुहिन्छ, भुइँबाट पनि पानी रसाइरहेको छ, खोकी लाग्न थालिसक्यो ।” हिउँद सुरु हुन लाग्दा चिसो स्याँठ चल्न थालेको छ । त्यसलाई त्रिपालले नधान्ने स्थानीय बताउँ छन् । 

दुई जना वृद्ध भूकम्प प्रभावितको चिसोले मृत्यु नै भयो । उहाँहरू दीर्घरोगी भएकाले पनि चिसो सहन नसकेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय खलङ्गाले जनाएको छ । 

छेपारे र चिउरीमा नागरिक आवाज नामक संस्थाले गाउँमा खानाको मेस चलाइदिएको छ । सबै गाउँले बिहान बेलुकाको खाना त्यहीँ खान्छन् । नखाने आफैँ बाहिर पकाउँछन् । सडक छेउका सबै घर छेपारेका खण्डहर बनेका छन् । भत्केको घर हेर्दै त्रिपालमा बसिरहेका स्थानीयले चिसोले सताउन थालेपछि विचलित बन्न थालेका हुन् । 

समयमै राम्रो राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका हुन् । कात्तिक १७ गते ६.५ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्केपछि भूकम्प प्रभावितहरू खुला आकाशमुनि बसिरहेका छन् । तत्काल दिइएको राहतका त्रिपाल र फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए ।  तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका छन् । 

बलबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् । सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड–१, चिउरीका सन्तोष कुमाई त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको बताउनु हुन्छ । 

रिम्नाकी मनीषा चलाउनेको घर भत्केपछि पाँच जना छोरीसहित त्रिपालमुनि बस्नुभएको छ । उहाँले खुला आकाशमुनि सुतिरहेकी छोरी देखाउँदै भन्नुभयो, “यी दुई बिरामी भएर सुतिरहेका छन्, चार पाँच दिन त जसोतसो कटायौँ तर अब चिसो सहन नसकेर बिरामी हुन थाले ।”

दुई जना पनि मुस्किलले अट्ने त्रिपालमा पाँच जना बस्न गाह्रो भएको उहाँ बताउनु हुन्छ । भारतमा काम गर्न गएका श्रीमान् फर्केर नआउँदा उहाँलाई बिरामी छोरीको उपचारमा समस्या पर्न थालेको छ ।

उहाँ जस्तै घर भत्केपछि ठुम्रकुमारी राना बिहानको कठ्याङ्ग्रिने चिसोमा चउरमा भात पकाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिसोले रुघा लागिसक्यो कसरी बाँचिएला अब खै ।”सरकारले दिने भनेको राम्रो राहत अझै नआइपुगेको सुनीलकुमार रानाले बताउनुभयो । राहत दिँदा पनि आफ्नो पार्टीका मान्छे छानी छानी दिने गरेको गुनासो उहाँले गर्नुभयो । 

दल्लीकी प्रेमकला विकको घर खण्डहर भएपछि त्रिपालमै हुनुुहुन्छ । उहाँले भन्नुभयो, “शीत चुहिएर ओड्ने ओछ्याउने सबै भिज्छ, चिसाले केटाकेटी बिरामी हुन थालिसके ।” 

प्रभावितले त्रिपालभन्दा पनि टेन्टको माग गरे पनि टेन्ट कसैले ल्याएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीले बनाएका एकाध टेन्टबाहेक सबै पीडित त्रिपालमा बसिरहेका छन् । राहत ल्याउनेले पनि प्रायः सबैले त्रिपाल बोकेर आउँदा प्रभावित खिन्न छन् । सबिन विकले भन्नुभयो, “सरकारको राहतमा टेन्ट छ भन्ने सुनेको छु तर अहिलेसम्म पनि आएन ।”

सरकारले एकद्वार प्रणालीमा वितरण गर्ने भनेको राहतको चाङ जाजरकोटको सदरमुकाम खलङ्गामा थुप्रिएको छ । अन्य धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू पनि टेन्टभन्दा त्रिपाल नै बोकेर प्रभावित क्षेत्र पुगिरहेका छन् । 

प्रायः राहत सामग्रीमा त्रिपाल नै आएकाले समस्या भएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी नवीनकुमार सिंहले बताउनुभयो । आएका राहत स्थानीय पालिका मातहतबाट वितरण भइरहेको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार टेन्ट धेरै आएको छैन । तर प्रत्येक पालिकालाई दस वटाको दरले वितरण गर्ने तयारी भइरहेको छ । चिसोका कारण त्रिपालभन्दा टेन्टको माग भए पनि राहतमै नभएकाले समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दस वटा टेन्ट सुत्केरी, वृद्धवृद्धा र बालबालिका धेरै भएका परिवारलाई दिइने गरी प्रशासन कार्यालयले निर्णय गरेको छ ।

तर स्थानीयले पालिकामार्फत जुन राजनीतिक दलको पहुँचकाले मात्र पाउने भएकाले सबैलाई समान रूपमा वितरण गर्न माग गरेका छन् । कति घर क्षति भयो भन्ने यकिन विवरण पनि प्रशासनले तयार गर्न सकेको छैन । जसका कारण राहत वितरणमा समस्या देखिएको छ ।