• ११ मंसिर २०८१, मङ्गलबार

शिक्षक तालिम र प्रतिफल

blog

शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी मानिन्छ । नेपालमा शिक्षक तालिमको इतिहास केलाउँदा विसं २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भएको देखिन्छ । विसं २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा विसं २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महाविद्यालयको स्थापना भएको थियो ।

राष्ट्रिय शिक्षा आयोग, २०४९ ले सिफारिस गरे अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको सेवाकालीन तालिममार्फत पेसागत कार्यदक्षताका लागि राष्ट्रियस्तरमा उच्च तहको एकीकृत संस्थाको आवश्यकता महसुस गरी विसं २०५० साउन १ गते तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भयो । यस मातहत देशभरिमा नौ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भयो । यसरी २०६१ सालमा प्राथमिक शिक्षक तालिम केन्द्रको नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र ‘क’ बनाइयो । माध्यमिक शिक्षा विकास एकाइ (सेडु) लाई शैक्षिक तालिम केन्द्र ‘ख’ बनाइयो । जसको सङ्ख्या देशभरिमा २० वटा रहेको थियो । 

सङ्घीय संरचनामा शिक्षा क्षेत्रको तालिम 

नीतिगत हिसाबले नै शिक्षा क्षेत्रको तालिमको जिम्मेवारी प्रदेश सरकार मातहत राख्ने व्यवस्थाका कारण आर्थिक वर्ष २०७५/७६ मा साबिकको शैक्षिक तालिम केन्द्र नाम खारेज गरी शिक्षा तालिम केन्द्रको नाममा सञ्चालन गरियो । तत्कालीन शैक्षिक तालिम केन्द्र ‘क’ देशभरिमा नौ वटा रहेकोमा हालको कोशी प्रदेशको शैक्षिक तालिम केन्द्र भोजपुरलाई शैक्षिक तालिम केन्द्र सुनसरीमा गाभियो र हालको मधेश प्रदेशभित्र रहेको ‘क’ वर्गका दुई वटा शैक्षिक तालिम केन्द्र धनुषा र बारा भए तापनि धनुषाको शैक्षिक तालिम केन्द्र दुरीको हिसाबले प्रदेशको मध्य र पायक पर्ने, तालिममा जनशक्ति प्रयोगको हिसाबले उच्च र क्षमतावान् प्रशिक्षक, यातायात, छात्रावास, भौतिक संरचना हरेक हिसाबले धनुषाको शैक्षिक तालिम केन्द्र ‘क’ अब्बल दर्जा भएको तर प्रदेश सरकारले व्यवस्थापिका संसद् सञ्चालन प्रयोजनका लागि उक्त संरचना लिइसकेको अवस्थामा विस्थापित भई शिक्षा तालिम केन्द्र बारामा गाभिएको छ । 

त्यस्तै सप्तरी र पर्साको सेडु पनि गाभिएको छ । हाल खास गरी शिक्षकलाई प्रमाणपत्र लिनुपर्दा बाराको शिक्षा तालिम केन्द्र भौगोलिक र यातायातसमेतको हिसाबले अपायक पर्ने ठाउँमा भएकाले शिक्षकले निकै सास्ती पाइरहेका छन् । अन्य प्रदेशको हकमा साबिककै ठाउँमा ती कार्यालय रहेका कारणले यस्तो खालको सास्ती कम भएको देखिन्छ । कर्णाली प्रदेशको शिक्षा तालिम केन्द्र प्रदेश सरकारको केही निकायका कार्यालय प्रयोजनमा प्रयोग र तालिमलाई शिक्षक र अन्य कर्मचारी गरी मानव संशाधन विकास केन्द्र भनी नयाँ अभ्यास सुरु गरेको पाइएको छ । यो सराहनीय काम भएको छ । 

नीतिगत व्यवस्था र अवस्था 

शिक्षक तालिमको सुरुवातदेखि हालसम्मको अवस्था विचार गर्दा आमबोलीचालीमा १० महिने तालिम, सेवाकालीन तालिम, एसएसआरपीको मोडुलर तालिम, एसएसडिपीको फेज प्रणालीको तालिम, कस्टमाइज्ड तालिम, पुनर्ताजगी तालिम आदि नामले चिनिन्छ । हाल समग्र रूपमा शिक्षक तालिमलाई टिपिडी तालिम भनिने गरिएको छ । जुन कि प्रमाणीकरणका कारण यसलाई सेवाकालीन तालिम भन्न सकिन्छ । यो वृत्ति विकाससँग जोडिएको छ । 

विभिन्न नाम दिइएको तालिममा एसएसआरपीको मोडुलर तालिम निकै फितलो, नियन्त्रणको हिसाबले समेत कमजोर प्रणाली र सञ्चालन विधि प्रव्रिmयाका रूपमा हेर्दा जाँच प्रणालीसमेत नभएका कारण २०६६ सालदेखि २०७२ सालसम्मको अवधिमा तालिमको लगानी कम सदुपयोग भएको प्रतिफलसमेत न्यून भएको सहजै आकलन गर्न सकिन्छ । कतिपय ठाउँमा तालिम सञ्चालन भएको जस्तो हुने, तीन आवमा तालिम सम्पन्न गर्नुपर्नेमा दुई आवभित्र तीन मोडेल तालिम सम्पन्न भएको पाइएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय, अगुवा स्रोत केन्द्र र स्रोत केन्द्रबाट सञ्चालन गरिएको तालिमको अभिलेख नै नरहेको पाइन्छ ।

उक्त अवधिमा साबिकको जिल्ला शिक्षा कार्यालयमा कार्यको चाप अत्यधिक रहेको अवस्थामा तालिमको गुणस्तर कायम नभएका कारण शिक्षक तालिमकै साख गिरेको पाइयो । उक्त बेथितिलाई नियन्त्रण गर्न साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले एसएसडिपीको डिपिडी तालिम मोडालिटी लागु गरेको थियो । जसमा सहभागिता, अनुशासन, जाँच प्रणाली गरी मूल्याङ्कन विधिले तालिमलाई नियन्त्रणमुखी र गुणस्तरमा वृद्धि गर्ने हिसाबले अब्बल दर्जाको मोडालिटी लागु गरियो । जुन आजसम्म सञ्चालनमा रहेको छ ।

तर विडम्बना कोभिडको महामारीका कारण पूर्ण अवधिमा चाहे जतिको फेज मोडेल प्रणाली मोडालिटी सञ्चालन हुन सकेन । कतिपय ‘क’ र ‘ख’ वर्गको शैक्षिक तालिम केन्द्र सङ्घीयताका कारण खारेज गरियो । यो तालिम पनि कक्षा कोठामा चाहे जति पुग्न सकेनन् । जे भए पनि गुणस्तर, नियन्त्रण, मोडालिटी र अभिलेखीकरणमा व्यापक सुधार भएको र हाल तालिम सञ्चालन नतिजा प्रणाली अभिलेखीकरणमा सातै प्रदेशको शिक्षा तालिम केन्द्रमा उल्लेख्य सुधार भएको पाइयो । 

नयाँ शिक्षक तालिम 

विद्यालय शिक्षा क्षेत्र योजना २०७९/८० र २०८९/९० ले शिक्षक पेसागत विकासमा केही नवीनतम अवधारणा ल्याउने विषयहरू उल्लेख गरिएका छन् । हाम्रो परिवेशमा हाल एसएसडिपी तालिमको मोडालिटी अन्तिम चरणमा पुगेको छ । यो मोडालिटी अब्बल दर्जाको भए पनि हटाउने विषय पनि यहाँ उल्लेख गरिएको छ । समग्रमा शिक्षा क्षेत्रको गुणस्तर बढाउन शिक्षक तालिमको आवश्यकता पर्दछ । शिक्षक तालिममा सिकेका नयाँ विधि, ज्ञान, तौरतरिका विद्यार्थीमा दिई विद्यार्थीको क्षमता अभिवृद्धि भएमा मात्र शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल आउन सक्दछ ।

हालको परिवेशमा अब्बल दर्जाको र व्यावहारिक ज्ञान, विधि, प्रविधिसमेतको पहुँचमा ल्याई एक्काइसाँै शताब्दीको विश्वव्यापीकरणको समयमा तालिमको विकल्प तालिम नै हो । जुन कि प्रभावकारी ढङ्गले सञ्चालन गरी कक्षा कोठामा पु¥याउन अपरिहार्य रहेको छ । शिक्षक तालिमको व्यवस्था र अवस्था विश्लेषण गर्दा प्रतिफल उच्च बनाउन थप मेहनत र थप लगानीको आवश्यकता रहेको देखिन्छ । त्यसपश्चात् मात्र शिक्षक तालिमबाट सिकेका जतिका कुरा कक्षा कोठामा प्रयोग गर्न सक्छन् र विद्यालयमा सिकाइ उपलब्धिमा वृद्धि हुने अपेक्षा राख्न सकिन्छ । 

 

Author

भागिरथ झा