• २० वैशाख २०८१, बिहिबार

दाउराको विकल्पमा 'गोबर'

blog

दाउराको विकल्पमा प्रयोग गर्न गोबर सुकाउँदै ओलाङ्चुङगोलाका स्थानीय । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दाले गोबर सुकाएर दाउराको जोहो गर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै ओलाङ्चुङगोलाका बासिन्दाले याक र चौँरीको गोबर सङ्कलन गरेर दाउराको जोहो गर्न थालेका हुन् ।

जाडो मौसममा न्यानो बनाउन साथै खानेकुरा पकाउनासमेत प्रयोग गर्ने गरी गोबर सङ्कलन गरेर जोहो गर्न थालेको स्थानीय बताउँछन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको हिमाली बस्ती ओलाङ्चुङगोलाका स्थानीयले हिउँदको जाडोमा तातो बनाउन दाउराको विकल्पमा गोबरको गुइँठा प्रयोग गर्ने गरेका हुन् ।

स्थानीय तेन्जिङ शेर्पाका अनुसार खर्क र गोठबाट सङ्कलन गरेर ल्याएर दाउराको जोहोका लागि गोबर सुकाउने गरिएको छ । स्थानीय बासिन्दाले आ–आफ्नो घर गोठका पर्खाल र भित्तामा गोबर टाँसेर सुकाउने गरिएको शेर्पाले बताउनुभयो । ओलाङ्चुङगोलाका बासिन्दा सबैले याक र चौँरी पालन गर्दछन् भने आ–आफ्नो गोठ तथा खर्कबाट गोबर सङ्कलन गरेर सबै स्थानीयले दाउराका लागि सुकाउने गरेका उहाँको भनाइ छ ।

जाडो बढेको समयमा गोबरको गुइँठा बाल्दा न्यानो हुने स्थानीय दावा फुटी शेर्पाले बताउनुभयो । जाडो बढेर घर बाहिर निस्कनलाई कठिन भएका बेला एक-दुई वटा दाउरा मिसाएर गोबर गुइँठा बालेपछि न्यानो हुने उहाँले बताउनुभयो । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीसम्म नै मध्य हिउँदमा हिउँ पर्ने गर्दछ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।