• १३ फागुन २०८०, आइतबार

युवा उद्यमीका कथा : जो अमेजनमा नेपाली चिया बेचिरहेछन्

blog

ठमेलको सातघुम्तीबाट देब्रे लागेर दोस्रो मोडमा पुगेपछि चर्चित काठमाडौँ गेस्ट हाउसको उत्तरतर्फको प्रवेशद्वारमा पुगिन्छ । त्यहीँ द्वारबाट भित्र पसेपछि देखिन्छ, होटलको फराकिलो बगैँचा । साँघुरो र भिडभाडयुक्त ठमेलमा त्यति फराकिलो बगैँचाले खुलापनको महसुस गराउँछ । बगैँचा छेउ हुँदै होटलको मुख्य भवन प्रवेश गर्नुअघि लबिको देब्रेपट्टि एउटा चिया पसल देखिन्छ । 

‘नेपाल टी कलेक्टिभ’ नाम दिइएको त्यो चिया पसलले होटलको सो क्षेत्र प्रयोग गरेको मात्र हो, होटलकै हिस्सा भने होइन । ठमेलको पहिचान बनेको काठमाडौँ गेस्ट हाउसले नै आफ्नो ठाउँ प्रयोग गर्न दिएको यो चिया पसललाई सामान्य ठान्नु हुँदैन । 

अमेरिका र बेलायतमा उच्च शिक्षा अध्ययन गरेका तीन उत्साही युवाको ऊर्जाले भरिएको नेपाल टी कलेक्टिभ वास्तवमा चिया पसल मात्र पनि होइन । चियाको प्रशस्त उत्पादन हुने भए पनि पहिचानविहीन हुन पुगेको देशको पहिचान खोजी गरिरहेको ब्रान्ड हो– नेपाल टी कलेक्टिभ ।

नयाँ नयाँ व्यापार र उद्यममा रुचि राख्ने युवा निश्चल बाँस्कोटा, अमिगो खड्का र प्रतीक रिजालले नेपालमा चियाको सम्भावना देखेर पाँच/छ वर्षयता नेपालबाट अमेरिकामा चिया बेचिरहेका छन् । त्यसो त चियाको उत्पादन र उद्यममा संलग्न बाँस्कोटका दोस्रो पुस्ताका हुन् भने प्रतीक तेस्रो पुस्ताका ।

नेपालबाट चिया अमेरिका लैजाने र त्यहाँ थोकमा बिक्री गर्दै गर्दा यो त्रय जोडीलाई आम्दानी त भइरहेको थियो तर भित्रभित्र सन्तुष्टि भने दिएको थिएन । बोरामा लगेर आफूले बिक्री गर्ने चिया अरू नै देशको नाममा धेरै मूल्यमा बिक्री भएको देखेपछि यी तीनैको चित्तमा लाग्यो । त्यही दृश्यले यी तीनको काम गर्ने तरिका मात्र बदलेन एउटा अठोट पनि जन्मायो । त्यस्तो अठोट जसले आम्दानीसँगै देशको ब्रान्ड पनि विस्तार गरोस् । नेपाल टी कलेक्टिभ त्यही अठोटको परिणाम हो । 

चियाको ब्रान्ड बने पनि विदेशमा माग हुने चियाको स्वाद र त्यसको प्याकेजिङमा भने धेरै काम गर्नुपर्ने भयो । त्यसमाथि पछिल्लो समय चियाको पत्तिको गुणस्तर खस्किइरहेका कारण त्यसले आफ्नो अठोट र योजनामा समस्या ल्याउन सक्ने आशङ्का यो समूहलाई थियो । यी र यस्तै परिस्थितिबीच उनीहरूले नेपालका चिया फार्म भ्रमण गरे, त्यसको उत्पादनको तरिका हेरे । अर्गानिक चिया फार्म उनीहरूको रोजाइमा थियो । चिया उत्पादनमा पुस्तैनी संलग्नता र आफैँमा पनि खाद्य गुणस्तरको विद्यार्थी रहेका बाँस्कोटा र प्रतीकको अनुभव यसमा काम लाग्यो । त्यसमाथि बजार व्यवस्थापनको राम्रो ज्ञान हासिल गरेका खड्काको ज्ञानको तालमेलले उपयुक्त चिया फार्म छनोट गर्न सहयोग पुग्यो । 

आफ्नै किसिमको अनुसन्धानपछि नेपाल टी कलेक्टिभ ब्रान्डमा बिक्री हुने चियाको पत्ति उत्पादन गर्न सात÷आठ वटा चिया फार्म छनोट भयो । “हामीले खोजेको गुणस्तरमा चिया उत्पादन गर्ने शर्तमा फार्म छनोट गर्यौं,” खड्का भन्छन् । 

यसले चियाको गुणस्तरमा एकरूपता दिन सहयोग गरेको दुवैको बुझाइ छ । चियाकै स्वादलाई फरकपन दिने प्रयत्नमा पनि उनीहरूका लागि यस्तो छनोट काममा आयो । चियाको गुणस्तरमा जति सचेत यो टिम थियो त्यत्तिकै सचेत थियो प्याकेजिङमा पनि । किनकि तीनै जनालाई थाहा थियो उत्कृष्ट प्याकेजिङमा मात्र सही मूल्य पाउन सकिन्छ । प्याकेजिङका लागि उत्कृष्ट अभ्यासको प्रयोग गर्दै जाँदा त्यसमा पनि नेपाली उत्पादनकै प्रयोगलाई समावेश गरियो । यसले चियाको सम्पूर्ण उत्पादनमा नेपाली शैली पनि प्रवर्धन ग¥यो । 

चियाको पत्ति तयार भयो, प्याकेजिङ पनि सोचेजस्तै बन्यो, अब बाँकी थियो बजार । बजार त यो समूहले पाँच/छ वर्षअघि अमेरिकामा थोकमा चिया बेच्दा नै देखिसकेको थियो । गुणस्तर र प्याकेजिङमा उनीहरूले गरेको मेहनतले त्यहाँका मार्टमा स्थान पायो तर त्यसरी मात्र बिक्री गरेर उनीहरूलाई पुगेको थिएन । आफ्नो सही ग्राहकसम्म पुगोस् भन्ने उनीहरूको चाहना थियो । त्यसैले रेस्टुराँदेखि सम्भावित अन्य ठाउँमा पनि आफ्नो ब्रान्डको चिया बिक्रीको प्रयत्न गरियो । 

स्वादमा पाएको सकारात्मक प्रतिक्रियाले हौसिएको समूहले यसलाई अझ ठूलो बजारमा विस्तार गर्न विश्वको सबैभन्दा ठूलो र चर्चित अनलाइन व्यापार प्लेटफर्म अमेजनबाट पनि यसलाई बिक्री गर्न थाल्यो । अमेजनमा एउटा प्याकेटको १३ हजार रुपियाँ (सय डलर) सम्म पर्ने चिया उनीहरूले बेचिरहेका छन् । अहिले अमेजनबाट राम्रो माग पनि आइरहेको उनीहरूको भनाइ छ । 

अमेरिकामा मात्रै अहिले दस हजारभन्दा बढी ग्राहक भइसकेको उनीहरूको दाबी छ । अहिलेसम्म चियासँग सम्बन्धित १२ वटा अवार्ड पनि हासिल गरिसकेको उनीहरू सगौरव सुनाउँछन् । नेपाली चियाले नाम र पहिचान नपाएको चिन्ताबाट हुर्किएको अठोटले अमेरिकाकै चियासम्बन्धी प्रतिष्ठित अवार्डहरू पाउनु आफ्ना लागि अत्यन्त ठूलो हौसला भएको रिजालले बताए ।

चियासम्बन्धी विश्वका चर्चित विज्ञले दिएको सकारात्मक प्रतिक्रियाले पनि यो क्षेत्रमा धेरै गर्न सकिन्छ भन्ने सम्भावना देखाएको उनको भनाइ छ । त्यही सम्भावनालाई उजागर गर्न उनीहरूले चिया उत्पादनसँगै पर्यटनलाई पनि जोड्ने प्रयास सुरु गरेका छन् । आफूले चिया उत्पादन गराइरहेका नेपालस्थित फार्ममै ल्याएर चिया उत्पादनको सम्पूर्ण प्रक्रियादेखि सोही ठाउँमा ‘टी टेस्टिङ’ गराउने, नेपाली खाना तथा संस्कृतिको प्रवर्धन गराउने र चिया फार्ममै खाने बस्ने सुविधा पनि उनीहरूले उपलब्ध गराएका छन् । 


विश्वभर टी टेस्टिङ पर्यटन फस्टाइरहेको प्रवृत्तिलाई बुझेर नेपालमा चिया पर्यटनलाई पनि प्रवर्धन गर्न यस्तो काम पनि सुरु गरेको उनीहरूको भनाइ छ । “अहिलेसम्म २६ जना त्यस्ता पर्यटक ल्याइसकेका छौँ,” रिजालले भने, “यस किसिमका पर्यटक लामो समय पनि बस्ने भएकाले उनीहरू नेपालमा सबैभन्दा धेरै खर्चालु पर्यटक बन्न सक्छन् ।”

बाँस्कोटा, खड्का र रिजालको जोडीले चिया मात्र बेचिरहेको छैन । त्यसबाट आउने नाफालाई त्यसको उत्पादनको प्रक्रियामा जोडिनेसम्म वितरण पनि गरिरहेको छ । आफ्नो समग्र नाफाको एक प्रतिशत चिया बगानमा चिया टिप्ने श्रमिकलाई वितरण गरिरहेको जानकारी उनीहरूले दिए । यसले श्रमको सम्मान पनि हुने र आर्थिक उत्थानमा पनि सहयोग पुग्ने रिजालको बुझाइ छ । 

नेपाल टी कलेक्टिभको सुरुवातपछि मुख्य दुई वटा सफलता हात परेको यो समूहको बुझाइ छ । पहिलो त नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान पाउन थालेको छ । दोस्रो चिया उत्पादनदेखि त्यसको बिक्री प्रक्रियासम्म सामेल हुने छ/सात वटा तह घटेको छ । यसले चियाको गुणस्तर कायम मात्र गरेको छैन त्यसबाट हुने आम्दानीको केही प्रतिफल फेरि त्यसको प्रक्रियामा सामेल हुनेलाई समेत प्राप्त भएको छ । 

ठमेलको काठमाडौँ गेस्ट हाउसमा रहेको नेपाल टी कलेक्टिभ नामको चिया पसल नेपाली ग्राहकलाई समेत ध्यानमा राखेर खोलिएको उनीहरू बताउँछन् । त्यहाँ जाने हरकोहीले नयाँ नयाँ किसिमको चियाको स्वाद पाउँछन्, चिया खाने तरिका सिक्छन्, नाकले पत्तिको बास्ना लिने अनि गिलासमा रहेको चिया सुर्काउने । नेपालीले खासै प्रयोग नगर्ने चिया खाने यस्तो विधि पनि त्यहाँ पुग्नेलाई नयाँ अनुभव बन्न सक्छ तर नेपालीको बानी बनेको दुध चिया भने नेपाल टी कलेक्टिभमा उपलब्ध छैन ।