• २८ कात्तिक २०८२, शुक्रबार

नेपाल–भारत पारवहन प्रोटोकल संशोधन

अब विराटनगर र भैरहवासम्म सबै किसिमको कार्गो ढुवानी

blog

नेपाल र भारतबिच सम्पन्न पारवहन सन्धिको प्रोटोकल संशोधन समझदारीपत्र आदानप्रदान गरिँदै ।

काठमाडौँ, कात्तिक २८ गते । भारतको कोलकाता बन्दरगाह र विशाखापट्टनम बन्दरगाहबाट नेपालको विराटनगर र भैरहवासम्म सबै किसिमको कार्गो ढुवानी गर्न पाइने भएको छ । यसअघि भारततर्फबाट यी दुई भन्सार नाकामा चार वटा बल्क कार्गो मात्र ढुवानी हुँदै आएकामा अब भने सबै किसिमका कार्गो ढुवानी गर्ने गरी दुई देशबिच सहमति भएको हो । 

नेपाल र भारतबिच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरी यो नयाँ व्यवस्था थप गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच बिहीबार भारतको नयाँ दिल्लीमा भएको भेटका क्रममा प्रोटोकलमा संशोधन गरिएको हो । संशोधन गर्ने विषयको समझदारीपत्र सोही क्रममा आदानप्रदान भएको थियो । 

समझदारीपत्र अनुसार अहिले भारततर्फको जोगबनीसम्म रेलमार्फत कार्गो ढुवानी भइरहेकामा त्यसलाई नेपालको विराटनगरस्थित भन्सार कार्यालय परिसरसम्म रेलबाट ल्याउने व्यवस्था हुने छ । यसले आयातकर्ताको ठुलो रकम बचत हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । “जोगबनीदेखि सामान अनलोड गरेर सडकमार्गबाट विराटनगरसम्म ल्याउनुपर्ने बाध्यता यो संशोधन कार्यान्वयनपछि अन्त्य हुने छ,” उहाँले भन्नुभयो, “यसले नेपाली आयातकर्ताको ठुलो रकम पनि बचत हुने छ ।”

त्यस्तै भारतको नौतनवासम्म रेलमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवासम्म चार किसिमका मात्र बल्क कार्गो ढुवानी गर्न पाउने व्यवस्था भएकामा अब भने सबै किसिमका कार्गो ढुवानी गर्न पाउने सुविधा संशोधनले थप गरेको छ । यससँगै भैरहवासम्म रासायनिक मल, कोइला, सिमेन्ट र क्लिङ्करको मात्र बल्क कार्गो ढुवानी हुँदै आएकामा अब भने सबै किसिमका वस्तु आयात गर्न पाइने भएको छ । यो सुविधा विराटनगरको भन्सारमा पनि लागु हुने छ । यसअघि वीरगन्जको रक्सौलबाट मात्र सबै किसिमको कार्गो आयात गर्न पाउने सुविधा थियो । 

बल्क कार्गो मात्र ढुवानी गर्न पाउने बाध्यताका कारण आयातकर्ताले भैरहवा र विराटनगरबाट अन्य सामान आयात गर्न पाउने अवस्था थिएन । संशोधनपछि तोकिएका चार वटा वस्तुबाहेक फरक फरक सामान राखेर पनि कन्टेनर ल्याउन पाउने सुविधा आयातकर्तालाई हुने छ । प्रोटोकलमा भएको संशोधन तत्काल कार्यान्वयनमा आउने छ । संशोधनका लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएकाले नयाँ व्यवस्था छिटै कार्यान्वयमा आउने सचिव घिमिरेले जानकारी दिनुभयो । समझदारीपत्र आदानप्रदानका क्रममा उद्योगमन्त्री सिन्हाले व्यापार तथा पारवहन सहजीकरण गर्न प्रमाणीकरण प्रक्रिया सरलीकरण र पारवहन व्यवस्थामा सुधार ल्याउनुपर्ने विषयलाई जोड दिनुभयो । त्यस्तै उहाँले द्विपक्षीय व्यापार तथा पारवहन व्यवस्थामा सुधार तथा लगानी प्रवर्धनका लागि दुवै मुलुकबिच थप सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । 

भारतका उद्योगमन्त्री गोयलले भारतले नेपाललाई विशेष प्राथमिकता दिएको र छलफलमा उठेका अन्य जरुरी विषयलाई छिटो टुङ्गोमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसका लागि सम्बन्धित दुवै पक्षका संरचनालाई सक्रिय बनाउन उहाँले निर्देशन दिनुभयो ।