• ११ मंसिर २०८१, मङ्गलबार

बाल विकासका लागि गृहकार्य

blog

मानव जीवन सिकाइको चौघेरो हो । जन्मदेखि मृत्युको शय्या नपुगुन्जेलसम्म सिक्ने क्रम जारी रहँदो रहेछ । त्यसैले जीवन सिकाइको धरातलमा कसैको पनि पूर्ण भएको मानिँदैन । सन् २०१३ मा नेपालबाट अमेरिका बसाइँ सरेपछि जीवनयापनका धेरै अवधारणामा नयाँ सिकाइ थप्ने अवसर प्राप्त भयो । त्यसमध्येको नयाँ सिकाइ दुई छोरीको बाबु हुँदै उनीहरूको शिक्षादीक्षामा केन्द्रित रहँदाको सिकाइ र भोगाइ निकै चाख लाग्दो भयो । पक्कै पनि नेपालमा जन्मी, हुर्की जीवनको महìवपूर्ण क्षण जन्मभूमिमा बिताएको हुँदा आफू हुर्कंदै गर्दाका अनुभव र अमेरिकामा दुई छोरी हुर्काउँदै गर्दाका अनुभवमा तुलना गर्ने अवसर मलाई प्राप्त भयो । यस लेखमार्फत आफू हुँर्कंदै गर्दाका प्राथमिक विद्यालयका अनुभव र नेपालको प्राथमिक तहमा अध्यापन गराउने तौरतरिका र अमेरिकाको तरिकासँग केही घुलमिल गर्ने जमर्काे गरेको छु । 

छोरी आरुषी यही वर्षको सेप्टेम्बर महिनाबाट अमेरिकाको प्राथमिक विद्यालयमा कक्षा तीनमा पढ्दै छन् । अचम्मको कुरा के छ भने, न त विद्यालयले तीन कक्षामा पढ्नुपर्ने पाठ्यक्रमका कुनै किताब उपलब्ध गराएको छ, न त मलाई यी किताब खरिद गर्नुपर्ने भनेर सिफारिस नै गरेको छ तर विद्यालयमा के के पढाइ भएको छ र छोरीले के पढ्दै छन् भन्ने कुराको जानकारी चाहिँ विद्यालयले हरेक हप्ता अभिभावकलाई उपलब्ध गराउँदै आएको छ । जस्तो कि गणितमा कक्षामा गरेका अभ्यास, विज्ञानमा पढेका कुरालगायत जानकारी एउटा फोल्डरमा राखेर विद्यालयले घरमा पठाउने गर्छ । हरेक तीन महिनामा विद्यार्थीको प्रगति विवरण पनि उपलब्ध गराउने गरेको छ । साथै कुनै राष्ट्रिय महत्वको दिन वा मानिसको जन्मदिन प¥यो भने उनीहरूको वायोग्राफीलाई सानो बुकलेट बनाएर पठाउने गर्छ । जस्तो कि जुलाई ४ मा संविधान दिवसको उपलक्ष्यमा अमेरिकी संविधानका बारेमा थोरै शब्दमा लेखेको यसको महत्वका बारेमा बुकलेट प्रदान गर्ने गर्छ । 

एउटा अनौठो कुरा के छ भने छोरीले अहिलेसम्म घरमा आएर गर्नका लागि कुनै गृहकार्य ल्याएको छैन तर छोरीलाई दिनमा कम्तीमा पनि २० मिनेट पढाउनु भन्ने सिफारिस भने विद्यालय र शिक्षकले गरेका छन् । विद्यालयले गृहकार्य दिए हुन्थ्यो भन्ने आशा हामी अभिभावकलाई सधँै लागिरहन्छ । किनकि मैले आफूले पढ्ने समयमा विद्यालयबाट घर फर्कंदा कुनै न कुनै गृहकार्य पाउने गर्थे । कुनै समय गृहकार्य गरेन भने शिक्षकको पिटाइले हातमा परेका सुम्ला सन्चो हुन लागेको समयलाई कसरी बिर्सन सकिन्छ र ? अर्काे कुरा यदि विद्यालयले गृहकार्य दियो भने छोरीले स्व्रिmनमा बिताउने समय पनि घट्थ्यो र छोरीको शैक्षिक गुणस्तरको विकास हुन्थ्यो भन्ने आशा पनि हामी अभिभावकलाई भइरन्छ । नेपालमा हामीले पढ्ने समयमा गृहकार्य भएन भने स्व्रिmन हेर्नका लागि अहिले जस्तो आइप्याड, ट्यापलेट वा मोबाइल फोन थिएनन् । त्यसको बदलामा गाउँका साथीभाइसँग गुच्चा, डन्डीबियो वा कपड्डी खेल्ने गरिन्थ्यो तर अहिले विश्वव्यापी रूपमै विकसित सूचना र प्रविधिले यहाँको जीवनशैली मात्रै होइन, संसारभरकै मानिसको दैनिक जीवनयापनको तौरतरिकालाई निकै फरक तुल्याइदिएको छ । 

नेपाल होस् वा अमेरिका बालबालिकालाई स्व्रिmनबाट टाढा राख्नका लागि सबै जसो अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । नेपालमा नर्सरीदेखि पाँच कक्षासम्मका प्राथमिक विद्यालयमा पढ्ने बालबालिकाका लागि पाठ्यक्रम विकास गरिएका छन् । विद्यालय जाँदा किताब, कापी, कलम, पेन्सिल बोकेर जान्छन् र फर्कंदा हरेक विषयका झोला भरी गृहकार्य लिएर फर्कन्छन् । जसले गर्दा घरमा पनि पढाइ गर्नु पर्छ भन्ने मानसिकता विद्यार्थीमा विकास हुने अवसर प्राप्त भएको हुन्छ । फलस्वरूप विद्यार्थीमा सिर्जनात्मक हुने र रचनात्मक उत्तर लेख्ने बानीको विकास भएको हुन्छ तर मेरो छोरी जस्तै यहाँका विद्यार्थीको कुरा गर्दा यो अवसर यहाँ प्राप्त हुन सक्दैन । 

यहाँका विद्यार्थीका लागि चाहिने वर्षदिनभरि स्टेसनरी अभिभावकले किनेर विद्यालयमा बुझाइसकेको हुन्छ । जसका कारणले छोरीलाई बिहान विद्यालयमा पु¥याउन जाँदा झोलामा फगत एक कपी, पेन्सिल, पानी अनि अर्काे सानो झोलामा खानेकुरा राखिदिए पुग्छ । अभिभावकले १२ वर्ष नपुगेका आफ्ना सन्तालाई एक्लै छोड्ने अनुमति यहाँ छैन । तसर्थ जति नजिक भए पनि विद्यालयमा बिहान पु¥याउन जाने र साँझ लिन जाने काममा कुनै सम्झौता गर्न पाइँदैन । 

अधिकांश अमेरिकी प्राथमिक विद्यालयमा गृहकार्य नदिने चलन रहेको छ । अमेरिकामा मूलतः प्राथमिक विद्यालयमा गृहकार्य नदिनाका केही कारण पनि रहेछन् । 

ड्युक युनिभर्सिटीका प्रोफेसर ह्यारिस कुपरले गरेको एक अध्ययनले गृहकार्य दिनु महìवपूर्ण देखाएको छ तर यसका बारेमा गरेका अन्य अध्ययन र अनुसन्धानले एकै किसिमको तथ्य देखाउँदैनन् । प्रोफेसर ह्यारिस कुपरले प्राथमिक विद्यालयमा पहिलो कक्षामा प्रतिदिन १० मिनेटको मात्रै गृहकार्य दिनुपर्ने सिफारिस गरेका छन् । त्यसपछिका वर्षमा प्रति कक्षा १० मिनेट थप्दै जानुपर्ने उनको तर्क छ । जसले गर्दा विद्यार्थी १२ औँ कक्षामा पुग्दा दैनिक १२० मिनेटको गृहकार्य पूरा गर्न सक्षम हुन्छन् । 

तर उनको विश्लेषणले गृहकार्य गर्ने प्राथमिक तहका विद्यार्थीको शैक्षिक गुणस्तरमा उल्लेखनीय उपलब्धि भएको प्रमाणित गरेको छैन । यसका साथै प्रोफेसर कुपरको अनुसन्धानले बालबालिकालाई दिइने गृहकार्यले उनीहरूमा शारीरिक र भावनात्मक तनाव निम्त्याउने देखाएको छ । विद्यालयले दिने गृहकार्यका कारण बालबालिकामा पढाइबारे नकारात्मक मनोवृत्ति सिर्जना गरेको पाइएको छ ।

अमेरिकाको मायामीमा रहेको सनसाइन लर्निङ विद्यालयले किन प्राथमिक विद्यालयका विद्यार्थीका लागि गृहकार्य राम्रो मानिँदैन भनेर निम्न कारण उल्लेख गरेको छ । 

तनाव 

अनुसन्धानले बालबालिकालाई दिइने अतिरिक्त गृहकार्यले उनीहरूमा तनाव सिर्जना गरेको देखाएको छ । किनभने विद्यार्र्थीलाई व्यवस्थापन नै गर्न नसक्ने गरी गृहकार्य दिइयो भने उक्त गृहकार्य पूरा गर्न नसकेमा उनीहरूमा तनाव र चिन्ता बढ्न सक्छ । जसले गर्दा उनीहरूको विकास हुँदै गरेको मानसिकतामा असर पु¥याउन सक्छ । साथै गृहकार्यको तनावले उनीहरूले आफ्नो पढाइबाहेका अन्य कुरामा चासो दिने मौका पाउँदैनन् । 

स्वास्थ्य समस्या 

अध्ययनका अनुसार धेरै गृहकार्य पाउने विद्यार्थी आवश्यकताभन्दा कम सुत्ने र त्यसले गर्दा उनीहरूको टाउको दुख्ने, थकान महसुस गर्ने, निद्रा कम लाग्ने, तौल घट्ने र पेटका समस्या बढ्दै जाने पनि देखाएको छ । अमेरिकामा गरिएको एक सर्वे अनुसार ७२ प्रतिशत विद्यार्थीले गृहकार्यका कारण उनीहरूमा तनाव बढेको बताएका छन् । ६८ प्रतिशत विद्यार्थीले गृहकार्यका कारण पर्याप्त सुत्न नपाएको गुनासो गरेको अध्ययनमा देखाइएको छ । यसले गर्दा विद्यार्थीको स्वास्थ्यमा पनि समस्या सिर्जना गरेको छ । 

बोझमुक्त गर्न आवश्यक 

विशेष गरी प्राथमिक विद्यालयमा पढ्ने बालबालिका विद्यालयबाट घर फर्कंदा निकै थाकेका हुन्छन् । विद्यालयमा उनीहरूले पर्याप्त समय आफ्नो पढाइमा बिताइसकेका हुन्छन् । तसर्थ घरमा उनीहरूलाई पढाइको बोझबाट मुक्त राख्दा मानसिक विकासमा टेवा पुग्ने अध्ययनले देखाएको छ । 

नकारात्मक प्रभाव 

गृहकार्यले विद्यार्थीको पढाइमा उपलब्धि गराउनुको सट्टा यसको बोझले उनीहरूको मानसिकतामा बोझ सिर्जना गरी नकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले देखाएको छ । अध्ययन भन्छ, विद्यार्थीले कक्षाकोठाको वातावरणमा विभिन्न कुरा सिक्न आवश्यक छ तर विद्यालयभन्दा बाहिरका अन्य गतिविधि अन्वेषण गर्न, साथीहरूसँग समय बिताउन, पारिवारिक बिदामा जान पनि थप आवश्यक रहेको देखाएको छ । 

माथि उल्लेख गरिएका अध्ययन र अनुसन्धानका आधारमा यहाँ पनि प्राथमिक विद्यालयमा सकभर गृहकार्य नदिने प्रावधान राखिएको रहेछ । एक शिक्षकसँगको कुराकानीमा उनले बालकालिका जब ठुलोठुलो कक्षामा जान थाल्छन् । उनीहरूलाई पर्याप्त गृहकार्य दिइने तर प्राथमिक तहमा गृहकार्य दिँदा त्यसले विद्यार्थीको स्तरोन्नतिभन्दा पनि उनीहरूको मानसिकतामा नकारात्मक असर परेका कारण गृहकार्य नदिएको जवाफ पाइएको थियो । साथै अमेरिकामा गरिएका विभिन्न अनुसन्धानले प्राथमिक विद्यालयमा दिइने गृहकार्य र शैक्षिक सफलता बिचमा कुनै सम्बन्ध नरहेको देखाएको छ ।

नेपालमा पनि खासगरी बोडिङ स्कुलमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थीलाई तनाव हुने गरी असामान्य रूपमा गृहकार्य दिने परम्परालाई पुनरवलोकन गर्न जरुरी छ । यसका लागि अभिभावकलाई समेत गृहकार्यको बोझ र त्यसले बालबालिकाको मानसिकतामा पार्न सक्ने असरका बारेमा सचेत गराउनु जरुरी छ । त्यसका यो विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरी गृहकार्यको बोझलाई कम गर्नका लागि रणनीति बनाउनुपर्ने देखिन्छ । 

  

Author

अमृत भण्डारी