• १३ मंसिर २०८१, बिहिबार

जीर्ण काठे पुलमा यातायात गुड्नु पर्ने बाध्यता

blog

हेक्पा खोलाको जीर्ण काठे पुलमा यातायातका साधन गुड्दै । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, कात्तिक १६ गते । कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माण गरिएको जीर्ण काठे पुलमा जोखिनका साथ सवारीसाधन गुड्नु पर्ने बाध्यता छ । उक्त खोलामा पक्की पुल निर्माण कार्य भई रहेको कारण अन्य विकल्प नहुँदा यातायातका साधनहरू जीर्ण काठे पुल तर्न बाध्य हुँदै आएका हुन ।

बोलेरो जिप चालक सिइगम भण्डारीले हेक्पा खोलामा दुई वर्ष अगाडी निर्माण गरिएको जीर्ण काठे पुल तर्न डर लाग्ने गरेको भए पनि तर्नै पर्ने बाध्यता चालकलाई रहेको बताउनुभयो । उहाँले डर मान्ने यात्रुहरूलाई खोला वारी नै झारेर पैदल हिँड्न लगाउने गरेको बताउँदै चालकहरूले भने गाडी चलाउनै पर्ने बाध्यता रहेको बताउनुभयो । 

काठे पुलको एकापट्टिको काठहरूले खोलाको पानी छुनै लागेको र ढल्किएको अवस्थामा रहेको कारण दुर्घटनाको सम्भावना बढी रहेको छ । अर्का बोलेरो चालक गगन कुमार थापाले उक्त पुल तर्दा गाडी नै ढल्किएर गुडाउनु पर्ने अवस्था रहेको बताउँदै त्यसलाई पूर्वाधार र हिल्सा सिमकोट सडक आयोजनाले मर्मत गर्न आग्रह गर्नुभयो । उहाँले पछि दुर्घटना भई सकेपछि पश्चताप गर्नु भन्दा बेलैमा साचेर पुलको व्यवस्था गर्न आग्रह गर्नुभयो । 

दुई वर्ष अगाडी पूर्वाधार विकास कार्यालयले सो काठे पुल निर्माण गरेको थियो । उक्त पुलमा हाल दैनिक चालीस भन्दा बढी साना तथा ठुला यातायातका साधन सञ्चालन हुँदै आएका छन् । उक्त पुल भएको सडक हिल्सा सिमकोट सडक आयोजनाको क्षेत्र अन्तर्गत पर्ने गर्छ । तर दुवै निकायहरूले हालसम्म सो समस्याका बारेमा सुनुवाइ गर्न सकेको देखिएको छैन ।