• ३ जेठ २०८२, शनिबार

जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

कीर्तिपुर (काठमाडौँ), जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा शनिबार पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठुलो दल बनेको उल्लेख गर्नुभयो ।

“एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रूपमा रहनुमा जबजको मुख्य योगदान छ”, उहाँले भन्नुभयो । निरङ्कुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उहाँको भनाइ थियो ।

पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतीको सामना गर्दै पार्टी अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । “विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ”, उहाँले भन्नुभयो ।

मदन भण्डारी र एमालेका तत्कालिन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पार्टीकार्यको शिलशिलामा पोखराबाट चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । रासस