हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ ३ गते । हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिरको शीरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा शताब्दी पुरानो धार्मिक सम्पदाको खोजी गरी संरक्षण सुरू गरिएको छ । मुक्तिनाथ विकास समितिले मन्दिरको मुक्तिक्षेत्र पर्वतीय स्थानमा भेटिएको ‘नागराज पर्वत’,‘गरुड पर्वत’ र ‘विष्णु चुल्हो’ रहेको क्षेत्रको स्थलगत अनुगमन गरी संरक्षण गरिने भएको हो।
भगवान विष्णुसँग सम्बन्धित एतिहासिक स्थल भेटिएपछि पदमार्ग तथा उक्त क्षेत्रमा धार्मिक पर्यटकलाई सहज हुनेगरी आवश्यक पूर्वाधार बनाउने समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो ।
प्रजिअ भुसालले भन्नुभयो, "धार्मिक पर्यटनका लागि नयाँ क्षेत्रको पहिचान भएको छ । हामीले उक्त स्थानमा पुग्न सहज हुने पूर्वाधारलाई प्राथमिकता दिएका छौं ।" प्रजिअ भुषालका अनुसार समुद्री सतहबाट करिब ४ हजार ७ सय उचाईसम्मा छरिएको अवस्थामा रहेका छन् । मुक्तिनाथ मन्दिरबाट करिब एक घण्टाको दूरीमा विष्णु चुल्हो, केही माथि नागराज पर्वत र माथिल्लो क्षेत्रमा रहेको विष्णुको वाहन गरुड आकृतिको पहाड रहेको प्रजिअ भुषालको भनाइ छ ।
उक्त क्षेत्रमा धार्मिक पर्यटकलाई भित्राउन डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट व्यवस्थाका लागि स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र सङ्घीय सांसदबाट समेत चासो देखाइएको छ । मुक्तिनाथ विकास समितिले प्राचिनकालमा सम्पदाको खोजी अभियान अन्तर्गत थोरङपास क्षेत्रतर्फको पर्वतमालामा अवस्थित विष्णु कुण्डको खोजीका लागि स्थानीयवासी, स्वास्थ्यकर्मी सहितको टोली जाने तयारी गरिएको छ ।
उक्त स्थानमा रहेको विष्णु कुण्ड फेला परेमा मुस्ताङमा दामोदर कुण्डजस्तै महत्त्वपूर्ण हुने समितिका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालयका प्रमुख सुर्यप्रसाद अर्यालले बताउनुभयो । केहीदिन अगाडी सम्पन्न समितिको विशेष साधारणसभाले पूराना सम्पदाको मर्मत, मुक्तिनाथसँग दामोदरकुण्ड जोड्ने पूर्वाधार निर्माण, लुकेका धार्मिकस्थलको खोजी तथा मुक्तिनाथ मन्दिरमा भक्तजनलाई स्नान तथा पूजाआजामा सहज हुने गरी पूर्वाधार थप गर्ने निर्णय गरेको थियो ।
मुस्ताङमा प्रवेश गर्ने पर्यटकमा धार्मिक पर्यटकले करिब ८० प्रतिशतभन्दा बढी ओगटेको छ ।