• ३ जेठ २०८२, शनिबार

मदन–आश्रित स्मृति दिवसमा फलफूल वितरण

blog

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीसहित सहभागीहरू ।

भवानीदत्त भट्ट

कञ्चनपुर, जेठ ३ गते । जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै कञ्चनपुरमा पनि सालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको छ । जेठ ३ गते कञ्चनपुरको महेन्द्रनगरस्थित मदन चोकमा ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाइएको हो । 

नेकपा (एमाले) कञ्चनपुरले ३२ औँ मदन–आश्रित स्मृति दिवसको दिन महाकाली प्रादेशिक अस्पतालमा बिरामीलाई फलफूल वितरण  गरेर आश्रित स्मृति दिवस मनाएको नेकपा (एमाले) का जिल्ला सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । 

नेकपा (एमाले) भीमदत्त नगर कमिटीको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीसहितका नेताहरूले सालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको भिमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्दले बताउनुभयो । 

जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको आवश्यकता रहेको कार्यक्रममा सहभागीहरूले जोड दिनुभएको छ । मदनको मार्गमा हिँडेमात्र  मुलुकको हित हुने  कार्यक्रममा सहभागीहरूको भनाइ थियो । माल्यार्पणपछि महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको संविधान सभा सदस्य कृपाराम रानाले बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, संविधान सभा सदस्य कृपाराम राना, नेकपा (एमाले) कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।