• ३ जेठ २०८२, शनिबार

धार्चे गाउँपालिकाको भवन चार वर्षदेखि अलपत्र

blog

धार्चे गाउँपालिका ५ माछाखोलामा अलपत्र अवस्थामा रहेको प्रशासनिक भवन । तस्बिर :गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ मा माछीखोलामा रहेको प्रशासकीय भवन अलपत्र परेको छ । २०७८ साल वैशाख देखि निर्माण सुरु भएको भवन अलपत्र भएको छ । 

पाँच करोड ३५ लाख ३८ हजार ६१७ लागतमा निर्माणको जिम्मा लिएको श्री बिकोई हेमन्त जेभि काम अलपत्र छोडेर बेपत्ता भएका छन् । दुई वर्ष भयो ठेकेदार सम्पर्कमा छैन, फोन गर्दा पनि उठाउँदैन,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो । २०७९ माघ २९ मा सम्पन्न हुनुपर्ने भवन अहिलेसम्म ५० प्रतिशत काम मात्र सकिएको छ । मुख्य भवन ३ तलासम्म लगे पनि अन्य कुनै काम अघि नबढेको अवस्थामा छ । 

गाउँपालिकाले ठेकदार कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत अगाडी नबढाइएको गाउँपालिकाका  अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । पालिकाले भवन निर्माणको  लागि दोस्रो पटक २०८१  फागुन २९ गते म्याद थपिए पनि कुनै प्रगति नभएको अध्यक्ष गुरुङको भनाई छ । 

 गाउँपालिकामा बजेट अभाव नहुँदा काम गरेर रकम लैजाऊ भन्दा  ठेकदार फरार अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । 

धार्चे गाउँपालिकाले दैनिक प्रशासनिक काम गर्नको लागि मासिक ६० हजार तिरेर व्यक्तिको घर भाडामा लिएर काम गर्दा असहज भएको छ, पालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भन्नुभयो, ‘कार्यालयको साना साना कोठाबाट सेवाप्रवाह गर्नुपर्ने भएकाले सहज रूपमा सेवा दिन कठिनाइ भएको छ ।’