सिराज खान
नेपालगन्ज, जेठ ३ गते । भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा सुरु भएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ब्याटिङ र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री तिमिल्सिनाले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा आर्थिक उपार्जनमा टेवा पुग्ने बताउनुभयो । उहाँले नेपालगन्जमा क्रिकेट मैदान नभएकोले सो का लागि आफुले प्रयास गर्ने पनि सो अवसरमा बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालगन्जमा एउटा राम्रो क्रिकेट मैदान नहुनु निकै दुखद भएको जनाउँदै पूर्वाधार बिना खेलकुदको विकास नहुने बताउनुभयो । १६ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।