• ११ मंसिर २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय गतिविधि

युद्धले निम्त्याएको विध्वंस

blog

इजरायल र प्यालेस्टिनी हमासबिच यस पटक इतिहासमै नभएको क्रूर र अमानवीय युद्ध भएको छ । दुवै पक्षले युद्धको नियम र सीमा पालना गरेनन् । युद्धमा निहत्था महिला, बालबालिका, वृद्धवृद्धा, बिरामी, चिकित्सक, पत्रकार, विदेशी नागरिक र सर्वसाधारण मानिसको बीभत्स हत्या भयो । २३० जनालाई हमासले बन्धक बनाएको छ । हमास लडाकुहरूको अप्रत्यासित र अकल्पनीय आक्रमणमा इजरायल स्थापना भएयताकै ठुलो क्षति भोगेपछि आक्रोशित इजरायल सरकारले हमासलाई निमिट्यान्न पार्ने भन्दै प्रत्याक्रमण सुरु गरेसँगै युद्ध चर्केको हो ।

अक्टोबर ७ मा हमास लडाकुहरूले गाजा क्षेत्रबाट पाँच हजारभन्दा बढी रकेट प्रहार गर्दै इजरायलको सुरक्षा घेरा नाघेर प्यारासुटमार्फत इजरायल प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरे । उनीहरूले साङ्गीतिक कार्यक्रममा रमाइरहेका आमनागरिकमाथि क्रूर आक्रमण गरी २६० जनाभन्दा बढीको बीभत्स हत्या गरे । इजरायली सुरक्षा व्यवस्थालाई अस्तव्यस्त बनाई हमास लडाकुहरूले आक्रमण गरेपछि आक्राेशित इजरायल सरकारले गाजा क्षेत्रमा खाद्यान्न, औषधी, पानी, विद्युत् बन्द गर्दै प्रत्याक्रमण गरेपछि आमसर्वसाधारण मानिससमेत ठुलो सङ्ख्यामा मारिए । इजरायली सेनाको हवाई र स्थल आक्रमणबाट गाजा क्षेत्र ध्वस्त भएको छ । अस्पताल, विद्यालयसमेत त्यसको निसानामा परे । गाजाको एक अस्पतालमा हवाई आक्रमण हुँदा बिरामी, चिकित्सक र सर्वसाधारण गरी पाँच सय जना मारिए । 

इजरायलले हमास लडाकूहरूलाईमात्र प्रत्याक्रमणको निसाना बनाउनुपर्नेमा आम सर्वसाधारण गाजावासीलाई पनि छाडेन जसले गर्दा गाजावासीको बाँच्न पाउने अधिकार खोसियो । हजारौँ निहत्था मानिस मारिए, दसौँ हजारको सङ्ख्यामा घाइते भए । युद्धरत दुवै पक्षबिच युद्धविराम गराउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा रुसले लगेको प्रस्ताव अमेरिका, बेलायत, फ्रान्स, जापानलगायत देशका कारण विफल भएपछि परिस्थिति थप जटिल बनेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पटक पटक युद्धविराम गरी गाजावासीको बाँच्न पाउने अधिकार नखोस्न इजरायललाई आग्रह गर्नुभयो तर सुनुवाइ भएन । युद्धविराम गर्न विश्वव्यापी दबाब परे पनि इजरायलले तत्काल युद्धविराम गर्न चाहेको छैन । 

युद्ध सुरु भएयता एक हजार चार सय इजरायली, २४ देशका एक सयभन्दा बढी विदेशी नागरिक, २२ जना पत्रकार, आठ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । पाँच हजार इजरायली र २० हजारभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । लाखौँ प्यालेस्टिनी विस्थापित भएका छन् । झुक्याएर आक्रमण गरी इजरायलभित्र क्षति पु¥याए पनि शक्तिशाली इजरायलसँग कमजोर प्यालेस्टाइनले युद्ध जित्न सक्दैन । तैपनि राज्यविहीन बनाइएका प्यालेस्टिनीहरूले अधिकारका लागि युद्ध गर्नुको विकल्प देखेका छैनन् । 

सन् १९४८ मा इजरायल स्थापना हुनुअघि यहुदीहरू राज्यविहीन थिए भने त्यसयता आफ्नै भूमिमा प्यालेस्टिनीहरू राज्यविहीन बनेका छन् । राज्यविहीन हुँदाको पीडा भोगिसकेका यहुदीहरूले अहिले प्यालेस्टिनीहरूलाई राज्यविहीन नबनाउनुपर्ने हो तर विडम्बना यहुदीहरूले विगतको पीडा बिर्सेर प्यालेस्टिनीहरूमाथि दमन गरिरहेका छन् । गाजा क्षेत्र, पूर्वी जेरुसेलम र पश्चिमी किनारालगायतको प्यालेस्टिनी भूमि इजरायल अधिनस्थ छ । अधिकारकै विषयमा विगत सय वर्षदेखि दुवै पक्षबिचा द्वन्द्व जारी छ । 

अमेरिका र बेलायतको सहयोगमा इजरायल मध्यपूर्वकै शक्तिशाली राष्ट्र बनेको हो । प्यालेस्टिनीमाथि जतिसुकै अन्याय र अत्याचार भए पनि अमेरिका सधैँ इजरायलको पक्षमा उभिने गरेको छ । अहिले युद्ध चर्केका बेला अमेरिकाका राष्ट्रपति जो बाइडेन इजरायल आउनुभयो । उहाँले हमासलाई कुनै हालतमा जित्न नदिने बताउँदै इजरायलाई पूर्ण रूपले सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँ स्वदेश फर्केलगत्तै भूमध्य सागरमा इजरायललाई सघाउन दुईवटा शक्तिशाली युद्धपोत तैनाथ गर्नुभयो । त्यसैगरी बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगेर ऐक्यवद्धता जनाएर फर्कनुभयो । 

मध्यपूर्वका अधिकांश मुस्लिम देश इजरायलको विरोधमा छन् । इजरायली भनेका यहुदी हुन् भने प्यालेस्टिनी भनेको मुसलमान हुन् । प्यालेस्टिनीमाथि भइरहेको इजरायली दमनप्रति उनीहरू रुष्ट छन् । इजरायलका अतिवादी यहुदीहरू प्यालेस्टिनीहरूलाई स्वतन्त्र राज्य दिन तयार छैनन् भने अतिवादी प्यालेस्टिनीहरू इजरायललाई मान्यता दिँदैनन् । विवादको मुख्य जड यहीँ छ । विवाद मिलाउन अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रयास विफल भएका छन् जसले गर्दा मध्यपूर्वको यो विवाद सधैँ बल्झिरहेको छ । 

इजरायलमा सबैभन्दा लामो समय शासन गर्नु भएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु प्यालेस्टिनीप्रति अति कठोर हुनुहुन्छ । नेतान्याहु प्यालेस्टिनीलाई अधिकार दिने पक्षमा हुनुहुन्न । उहाँ अहिले छैटौँ पटक प्रधानमन्त्री बन्नुभएको छ । ७४ वर्षीय नेतान्याहु पछिल्लो दशकदेखि इजरायली राजनीतिमा उहाँकै मात्र दबदबा छ । उहाँ अमेरिकाको विश्वासपात्र हुनुहुन्छ । नेतान्याहु दमन गरेरै प्यालेस्टिनीहरूलाई तह लगाउने पक्षमा हुनुहुन्छ । 

सन् २०१२ को अन्त्य र सन् २०१३ को सुरुमा भएको इजरायल र प्यालेस्टाइनबिचको युद्धले चर्को रूप लियो । यस युद्धमा प्यालेस्टाइन पक्षमा ठुलो क्षति भयो । त्यसै गरी सन् २०२१ को मेमा भएको ११ दिने युद्धले पनि नराम्रो रूप लियो । यस पटक पनि प्यालेस्टाइनमा ठुलो जनधनको क्षति भयो । 

प्यालेस्टाइन इस्लामिक जिहादका दुई नेता खालेद मन्सुर र तेसिर जाबेरी इजरायली सेनाको हवाई आक्रमणमा गाजा क्षेत्रमा मारिएसँगै इजरायल र प्यालेस्टाइनबिचको विवादले चरम हिंसाको रूप लियो । दुवैतर्फ एकअर्काविरुद्ध आक्रमण भयो । इजरायलले सशक्त हवाई कारबाहीलाई अगाडि बढायो । प्रतिकारस्वरूप इस्लामिक जियादले इजरायलविरुद्ध रकेट आक्रमण ग¥यो तर इजरायलतर्फ खासै क्षति भएन । गाजामा भने मानवीय र भौतिक क्षति भयो । १५ बालबालिकासहित ४४ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए । इजरायली अधिकारीले ‘ब्रेकिङ डन’ नाम दिइएको यो सैनिक कारबाही प्रभावकारी भयो । हिंसाले चरम रूप लिएपछि इजिप्टको मध्यस्थतामा दुवै पक्षले युद्धविराम गरे ।  

एक दशकपछि इजरायल र प्यालेस्टाइनबिचको विवाद युद्धमा परिणत भयो । सन् २०२१ को मे १० देखि सुरु भएको युद्धमा इजरायल र प्यालेस्टाइन दुवै पक्षको क्षति भयो । इजरायल बढी शक्तिशाली भएकाले प्यालेस्टाइनको भन्दा कम क्षति भयो । इजरायली प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी हमासको शक्तिलाई एक दशक उठ्न नसक्ने अवस्थामा पु¥याइएको दाबी गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले गरेको विशेष आग्रहलाई स्वीकार गर्दै जारी युद्ध रोक्न इजरायल सहमत भएपछि मे २१ मा युद्धविराम भयो । यस ११ दिने युद्धमा १२ जना इजरायली र २३० प्यालेस्टिनीको मृत्यु भयो । १७ सयभन्दा बढी घाइते र ६० हजार प्यालेस्टिनी विस्थापित भए । गाजा क्षेत्रमा करिब पाँच सय भवन ध्वस्त भए । 

सन् २०१२ को नोभेम्बरमा इजरायल र प्यालेस्टाइनबिच आठदिने भीषण युद्ध भयो । इजरायली सेनाले गरेको हवाई कारबाहीमा प्यालेस्टिनी हमासका सैन्य प्रमुख अहमद जावरी मारिएपछि सुरु भएको युद्धमा १६५ जना प्यालेस्टिनीको ज्यान गयो भने एक हजारभन्दा बढी घाइते भए । इजरायली सेनाको भीषण बमबारी र क्षेप्यास्त्र आक्रमणबाट गाजा क्षेत्रस्थित हमासको प्रशासनिक मुख्यालयदेखि थुप्रै भौतिक संरचना क्षतिग्रस्त भए । हमासले गरेको रकेट प्रहारबाट पाँच जना इजरायली मारिए । युद्धले डरलाग्दो रूप लिने खतरा बढे अमेरिका, राष्ट्रसङ्घ र छिमेकी इजिप्टको प्रयासमा युद्धविराम भयो । यसअघि सन् २००८ डिसेम्बर–२००९ जनवरीमा ३४ दिने युद्ध भएको थियो, त्यसमा तीन हजार चार सय प्यालेस्टिनी मारिएका थिए । 

इजरायल र प्यालेस्टाइनबिचको युद्ध र विवाद नयाँ होइन । अत्यन्तै जटिल र कठिन यो विवाद मिलाउन गरिएका सयौँ प्रयास असफल भए । ‘प्यालेस्टाइनलाई १९४ औँ स्वतन्त्र राष्ट्र घोषणा गर्न’ भनी प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रसङ्घको ६६ औँ महासभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो तर अमेरिकाले प्यालेस्टाइनको स्वतन्त्रतालाई भन्दा इजरायली सुरक्षालाई प्राथमिकता दिएकाले यो प्रस्ताव पारित हुन सकेन । अमेरिकाले भिटो प्रयोग गरी मान्यता दिने प्रस्ताव विफल पारिदियो । 

सन् १९४८ मा राष्ट्रसङ्घकै मध्यस्थतामा बेलायत र अमेरिकाको सहयोगमा इजरायल अस्तित्वमा आएको हो । इजरायल जन्मेसँगै राज्य गुमाउँदै शरणार्थी बनेका प्यालेस्टिनीहरूले त्यसयता लगातार स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै आएका छन् । इजरायलसँगको चरम विवाद र सङ्घर्षका क्रममा हजारौँ प्यालेस्टिनीले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचना ध्वस्त भएका छन् । दुवै पक्षलाई मिलाउन दर्जनौँ पटक द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय प्रयास भए पनि सफल हुन नसक्दा परिस्थिति झन् जटिल बनेको छ । 

मुख्य समस्या भनेकै दुवैतर्फको अतिवादी सोच र अविश्वास नै हो । एकले अर्कालाई विश्वास नगरेसम्म र एकले अर्काको स्वतन्त्र अस्तित्वलाई हृदयदेखि नै स्वीकार नगर्दासम्म मध्यपूर्वको जटिल यो समस्याको दिगो समाधान सम्भव छैन । इजरायलीहरू हरेक हिसाबले शक्तिशाली र समृद्ध हुँदाहुँदै पनि प्यालेस्टिनीहरूको समर्थनबिना सुरक्षित हुनै सक्दैनन् भने इजरायलले नचाहेसम्म जतिसुकै सङ्घर्ष गरे पनि प्यालेस्टिनीहरूको मुक्ति सम्भव छैन ।

यस पटकको युद्ध यसअघिभन्दा फरक छ । इतिहासमै यस पटक हमासको आक्रमणबाट धेरै इजरायली मारिए । हमासले इजरायको प्रतिरक्षा प्रणालीलाई नै चुनौती दियो । इजरायलको सुरक्षा निकाय हमासको अप्रत्यासित आव्रmमण रोक्न चुक्यो; जसले गर्दा इजरायलभित्र पनि ठुलो क्षति भयो । परिस्थिति सोचेभन्दा जटिल बनेको अहिलेको अवस्थामा इजरायल र प्यालेस्टिनी दुवै पक्षले अन्तर्राष्ट्रिय मध्यस्थतामा युद्धविराम गरी वार्ता गर्नु र समस्याको दीर्घकालीन समाधान निकाल्नु उत्तम विकल्प हो । सधैँ युद्ध गरेर, जनता मारेर, भौतिक संरचना ध्वस्त पारेर समस्या समाधान हुँदैन भन्ने कुरा विगतका घटनाक्रमले देखाएको छ ।

  

Author

रामप्रसाद आचार्य