• १४ जेठ २०८१, सोमबार

दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी

blog

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय, काभ्रे

काठमाडौँ, कात्तिक १६ गते । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।

ओभरलोड गरेका टिप्परले डिपोमा लगी चुली झारेर सम्म बनाई ग्राहकलाई दिने गर्दछन् । चुलीमा गरिएको ढुवानी डिपोको अतिरिक्त कमाइ हुने गर्दछ ।  मङ्गलबार राति मात्र जिल्ला प्रहरी कार्यालय काभ्रेले १३ वटा त्यस्ता टिप्पर नियन्त्रणमा लिई कारबाही गरेको छ । लामो समयसम्म त्यस्तो कार्य नदेखेको प्रहरीले पनि दसैँअघि भने आक्रामक रूपमा कारबाही थालेको थियो । त्यसबेला दैनिक ८० भन्दा धेरै टिप्परले ल्याएको ओभरलोड कटिङ गरिरहेको थियो । प्रमाणसहित टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य कारवाही गरेर छाडिदिने गरेका कारण ओभरलोडको समस्या नरोकिएको स्थानीय यज्ञप्रसाद सापकोटाले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ओभर लोड बोक्ने टिप्परको समस्या समाधानका लागि पूरै जनशक्ति केन्द्रित गरेर लागेको उल्लेख गरेको छ । कार्यालयका निमित्त प्रमुख वरिष्ठ सई राजेश दाहालले ओभर लोडको कटिङसँगै अधिकतम जरिवाना गर्ने गरेको उल्लेख गर्नुभयो ।  

तौल पुल सञ्चालन गर्न नदिँदा समस्या 

यो समस्या ट्रक तथा टिप्परको भार नाप्ने तौलपुल सञ्चालन गर्न नदिँदा भएको हो । काभ्रेको पनौती, पाँचखाल र भकुन्डेबेँसीमा तौल पुल छन् । 

गृह मन्त्रालयले समेत तौल पुल सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकोमा टिप्पर सञ्चालकको दबाबमा उक्त कार्य रोकिएको हो । मन्त्रालयको निर्देशन अनुसार २०८० वैशाख ७ गतेदेखि टिप्परको तौल अनिवार्य जाँच गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले गरेको थियो । 

तर टिप्पर सञ्चालकको दबाबमा जिल्ला प्रशासन कार्यालय काभ्रे आफ्नो निर्णयमा टिक्न सकेन । केही दिन सञ्चालन भएको तौल पुलमा तौल गर्न छोडियो । त्यसपछि टिप्परवालाको मनोबल उच्च बनेको गुनासो स्थानीयको छ । 

तौल पुलमा टिप्पर जोख्न थालेसँगै ओभरलोडको समस्या केही समय रोकिएको थियो । डालाभन्दा माथि सामान बोक्न रोकिएको थियो । पुल सञ्चालन भएर पुनः बन्द भएसँगै हौसिएका टिप्पर व्यवसायीले पुनः ओभर लोडमै फर्किएका हुन् । 

मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने भएपछि सो तौल पुल सञ्चालनमा ल्याइएको सञ्चालक सरोज कुइँकेलले बताउनुभयो । राज्यले आफ्नो निर्णय कार्यान्वयन गर्न नसक्दा समस्या बढेको उहाँले उल्लेख गर्नुभयो । 

विसं २०७८ पुसमा पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुन्डेमा भारमापन केन्द्र तौलपुल व्यवस्थित गरिएको थियो ।