• २२ वैशाख २०८१, शनिबार

पानी, पूर्ण जीवन र विकास

blog

दिगो विकासको माध्यमद्वारा मानिसको पूर्ण जीवनको अधिकार सुरक्षित गर्नु आजको सभ्य समाजको चाहना हो । कुनै पनि नागरिकको मानव जीवनचक्र अनुसारको प्राकृतिक मरणबाहेक अन्य कारणले मरण नहुनुलाई पूर्ण जीवन भन्न सकिन्छ । पूर्ण जीवन प्राप्त गर्नका लागि सर्वप्रथम मान्छे–मान्छे र मान्छे तथा प्रकृतिबिचको द्वन्द्व समाप्त हुनु पर्दछ । त्यससँगै विशेषतः मान्छे, माटो र पानीबिचको सम्बन्धलाई गौरवमय, पे्रममय र प्रकृतिजन्य बनाई जीव र जगत्को पानीसँगको सम्बन्धलाई गाढा बनाउनु आवश्यक छ । नेपालले यस कार्यलाई मूलमन्त्र बनाई सिद्धान्त, नीति र व्यवहारको विकाससमेत त्यसैमा ढाल्नु पर्दछ ।

पछिल्ला वर्षहरूमा विश्वमा पानी, मान्छे र माटोबिचको स्वाभाविक सम्बन्ध बिथोलिँदै र धमिलिँदै गएको छ । फलस्वरूप जीव–जगत्ले समयमा नै पर्याप्त रूपमा गुणस्तरीय पानी पाउन सकिरहेको छैन, गुणस्तर र वितरणको सन्तुलन बिग्रँदै गएको छ । अतिवृष्टि, अनावृष्टि र बाढीपहिरो तथा खडेरीका घटना नियमित बन्दै गएका छन् । हिमालमा हिउँ पातलिँदै छ, हिमतालहरू फुट्ने सम्भावना बढेको छ, समुद्री सतह माथि आउनाले कतिपय देशको अस्तित्व समाप्त हुँदै छ । जलवायुमा यस्तो विषम परिवर्तन देखिनुमा जल वितरणको असन्तुलनलाई प्रमुख कारण मान्ने गरिन्छ । त्यसैले अहिले विश्व मानव जगत्का लागि जलप्रणालीको संवर्धन र पानीको स्रोतको समुचित संरक्षण, दिगो उपयोग, गुणस्तरीयताको प्रत्याभूति, सन्तुलित वितरण र व्यवस्थापन प्रमुख चुनौती बनेको छ । 

जल र जलप्रणालीको विषयलाई कम महत्व दिनु र यसमाथिको प्रेम र सम्मानमा कमी आउनाले विपत्तिहरू बढ्ने तथा जल एवं जलप्रणालीबाट जीव र जगत्ले पाउनुपर्ने उपयोगितामा कमी हुँदै गएको छ । यसले जल संस्कृतिमा बाँच्ने समाज बढी प्रताडित भएको छ । अहिले विश्व अर्थराजनीति जसरी तेलको व्यापारले प्रभावित हुन्छ, भोलिका दिनमा पानीबाट प्रभावित हुने छ । तसर्थ पानीको सार्थक संरक्षण, संवर्धन र दिगो व्यवस्थापन एवं प्रयोग आजको पहिलो प्राथमिकता हो । 

कतिपय देशले नीतिगत रूपमा पानीको स्रोतमाथिको नियन्त्रण र संरक्षणको विषयलाई पहिलो प्राथमिकता बनाएका छन् । पानीको विषयमा देशभित्र र अन्तरदेशीय समझदारी र द्वन्द्व तथा असमझदारी बढेका छन् । यी सबै काम कुनै एक देशले मात्र गरेर हुँदैन । यो विषय, चुनौती र उपलब्धि सबै साझा हुन् । तसर्थ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भ्रमणलाई राम्रो अवसर मानेर नेपालले यस्ता कुरा स्पष्ट 

ढङ्गले राख्न सकेमा अन्तर्राष्ट्रिस्तरमा नेपालको छवि अझ उज्यालो हुनुका अतिरिक्त विषयलाई कार्यक्रमिक दृष्टिले विस्तार गर्ने वातावरण बन्नेमा कुनै शङ्का छैन । 

दर्शनशास्त्रको दृष्टिले पानी र युवाको चरित्र उस्तै हुन्छ, दुवै अगाडि बढिरहन्छन् । फरक यत्ति हो, पानी ओरालो बाटोबाट अगाडि बढ्छ । युवा भविष्यको सुनिश्चितता देखिने अग्रपथमा चाँडो कुद्न चाहन्छ, उकाली र ओराली गर्छ । यद्यपि पर्यावरणीय चक्रमा पानी वाष्प बनेर उकालो पनि लाग्छ । नेपालले पानी र युवा दुवैलाई 

अड्याउनु छ । पानी अड्याउनु भनेको आफ्नै भूमिभित्र गति सुस्त बनाउनु र त्यसलाई विभिन्न पद्धति प्रयोग गरेर अलमल्याउनु हो । पानी अड्याउन सके लगानी, उत्पादन र आय बढ्छ, विकास दिगो हुन्छ, युवा देशमा अडिने वातावरण बन्छ । पानीको उपयोगलाई बहुपक्षीय बनाउन सके समृद्धिसँग जोडिन्छ । 

पृथ्वीको कुल पानीमध्ये ९७ प्रतिशत नुनिलो र ३ प्रतिशत ताजा छ । ताजापानीका मुख्य स्रोतहरूमा सतहपानी, नदी प्रवाह र भूमिगत पानी पर्दछन् । उपलब्ध ताजा पानीमध्ये ६९ प्रतिशत हिमनदी र बरफ, ३० प्रतिशत भूमिगत र बाँकी १ प्रतिशत सतह र वायुमण्डललगायतमा रहेको पाइन्छ । सतहको पानीमध्ये तालतलैया, सीमसार र नदीबाट क्रमशः ८७, ११ र २ प्रतिशत उपलब्ध हुन्छ । 

नदी प्रवाह र सतह स्रोतबाट सम्पूर्णतः ताजा पानी प्राप्त गर्ने हुँदा गुणस्तर र मात्राको दृष्टिले नेपाल भाग्यमानी मानिन्छ । पछिल्ला दिनमा पानीका स्रोतहरू सुक्दै गएकाले यसलाई जोगाउनु नेपालको पहिलो चुनौती बनेको छ । पानीको उपयोग मूलतः खान–पिउन र घरेलु काम, कृषि र औद्योगिक कार्य, यातायात, मनोरञ्जन र पर्यावरणीय उपयोगको क्षेत्रमा हुने गर्दछ । सामान्यतया सतह पानी स्वाभाविक वर्षाबाट प्राप्त हुने गर्दछ । सतह पानीलाई प्राकृतिक प्रणालीको आगतका रूपमा लिइन्छ । जलप्रणाली पर्यावरणमैत्री ऊर्जाको स्रोत रूपमा समेत उपलब्ध हुन्छ । 

तसर्थ अबका दिनमा पानी अड्याउन र चिस्यान बढाउनका लागि बृहत्तर, मझ्यौला र साना आयोजनाहरूको विकास गरी जहाँजहाँ सम्भव छ, त्यहाँ यसलाई अड्याउने, गति घटाउने र दौडाइ कम गराउनु पर्दछ । पानीको गति कम भएमा त्यो पानी जमिनभित्र छिरेर चिस्यान बढाउँछ, चिस्यान भएको क्षेत्र हराभरा हुन्छ, चिस्यान नहुने क्षेत्रमा मरुभूमीकरण हुन्छ । नेपालको पहाडी क्षेत्रका कतिपय गाउँमा खानेपानीको अभाव हुनाले त्यस्ता क्षेत्रबाट मानिस बसाइँ सर्ने क्रम बढेको छ । त्यहाँ हिमाल तथा उच्च पहाडबाट बग्ने नदी छन् तर तिनको पानीको उपयोग हुन नसक्नाले एक/दुई दिनमै त्यो पानीले नेपालको सिमाना काट्दछ । 

जमिन र मानव शरीर उस्तै हो । रसिलो जमिन र भरिलो मान्छे जहाँ छ; त्यहाँ रमणीयता र फुर्तिलोपन देखिन्छ । पानीलाई आफ्नै भूमिमा घुमाउने र अड्याउने गरी भूबनोट र आर्थिक–सामाजिक आवश्यकता अनुसार जलविद्युत्, सिँचाइ, खानेपानी, मत्स्यपालन, जलयातायात, पर्यटन, नदीमिलान, नयाँ सीमसारको विकाससमेतका अयोजनाहरूको निर्माण र कार्यान्वयन गर्न सकिन्छ । यी कार्यहरू गर्दा वन, पशुपालन, भूसंरक्षण, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणसमेतका अन्तर्सम्बन्धित क्षेत्रहरूलाई पनि ध्यानमा राखिनु पर्दछ । नदीहरूको हिमालदेखि तराईसम्मको अन्तर्सम्बन्ध केलाई त्यसैको आधारमा कार्यक्रम तथा आयोजनाहरूको विकास र निर्माण गर्न सकिन्छ । 

नदीको आकार र त्यसले मानव समाजको दैनिकी तथा आर्थिक, सामाजिक, सांस्कृतिक, जलवायु र जैविक विविधितामा पार्ने प्रभावको आधारमा जलस्रोतको संरक्षण तथा उपयोग गर्ने नीति कार्यक्रम तयार गरिनु पर्दछ । प्रकृतिले दिएका नदी, सीमसार, ताल, कुवा र पँधेराहरूको संरक्षण र थप पोखरी, आहाल र कुवाको निर्माण र विकास गर्न सके जमिनमा जलको पुनर्भरण हुन गएर पानी अलमल्याउने कार्यद्वारा जमिनलाई चिसो र रसिलो राख्न सकिन्छ । कतिपय देशमा उच्च बाँध भएका जलाशय निर्माण गरी पानीको सञ्चिति गर्ने गरिएको छ तर हामीले त्यसो गर्दा सम्भावित दुर्घटना र जोखिमको पनि विश्लेषण गर्नु पर्दछ ।

नेपालका ठुला सहरमा जल पुनर्भरण प्रणाली करिब करिब समाप्त भएको छ । उता चुरेक्षेत्रको दोहनले पर्सा जिल्लासहित कतिपय तराई क्षेत्रमा चापाकल सुकेका र जलसतह क्रमशः तल झर्दै जानाले तराईसमेत मरुभूमीकरणको चपेटामा पर्ने सम्भावना बढेको छ । यसका लागि भएका सीमसार, ताल, पोखरी, नदी, झर्ना, कुवा, नहर, कुलो, आहालसमेतको संरक्षण र नयाँ संरचनाको विकास तथा निर्माण सम्बन्धमा दीर्घकालीन रणनीतिक योजना बनाई त्यस अनुरूपको वार्षिक कार्यक्रमको कार्यान्वयन गर्ने बेला भएको छ । यसो गर्न सके बाढी नियन्त्रण हुन्छ, सिँचाइ, जलयातायात, जैविक विविधता संरक्षण, माछापालन तथा पर्यटकीय क्षेत्रहरूको विकास हुन्छ । 

पानीले ढिलो सीमा काट्छ, जमिनमा चिस्यान बढ्छ । यसले उत्पादन र उत्पादकत्व बढाउँछ । भूक्षय र नदी कटान कम हुन्छ । अहिलेसम्म कुरा बिग्रिसकेको छैन । पानी अड्याउने, घुमाउने र सुस्ताउने कार्य एकीकृत रूपमा गर्न सकिने ठाउँ र समय छ । पानीका हरेक घुम्तीलाई जीवन, 

जगत्, उत्पादन र आर्थिक क्रियाकलापसँग जोड्न सकिन्छ । यसले युवालाई अड्याउँछ र पैसाको गतिशीलतालाई तीव्र पार्छ, जसले पूर्णजीवन प्राप्त गर्ने लक्ष्यमा पुग्न सहयोग गर्दछ ।

तसर्थ समय निर्दिष्ट गरी तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तहमा योजना निर्माण गरी कार्यान्वयन गर्नमा पछि पर्नु हुँदैन । यसो गर्न सकेमा उत्पादनका सबै अन्तरकुन्तरको उपयोग गरिएको, सबै वर्गमा पुगेको, सबै भूगोललाई ढाकेको, सबै क्षेत्र, स्रोत र विषयलाई समेटेको, गाउँ र सहर चिनेको दिगो विकासको बाटो खुल्छ । हेर्दा र सुन्दा महत्वाकाङ्क्षी भए पनि कुरो व्यावहारिक र वस्तुगत छ । स्वेज र पानामा नहर बन्न सकेका छन् । जाम्बिया, रुस, क्यानडा र चीनमा अनेक ड्याम र १५०० किमिभन्दा लामा नहर बन्न सक्छन् भने नेपालमा पनि अवश्य सकिन्छ । यहाँ असल कामका लागि असल नियत र इमानदारीका साथ जोखिम लिन सक्ने आँटको मात्र कमी छ । अब त्यो आँट देखाउने बेला भएको छ ।  

Author

डा. चन्द्रमणि अधिकारी