छैरोत्तन जातिका बारेमा विवाद छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिमा सूचीकृत गरे पनि अन्य सरकारी दस्ताबेजमा यो जातिको अस्तित्व पाइँदैन । मुस्ताङ जिल्लाको पाँचगाउँ क्षेत्रस्थित छैरोमा बसोबास रहेकाले यिनीहरूलाई छैरोत्तन भनिएको विश्वास गरिन्छ । कतिपयले छेरोतन वा छैरोत्तन भन्ने गरे पनि यो सामान्य उच्चारणको भिन्नता मात्र हुन सक्छ ।
राष्ट्रिय जनजाति विकास समितिद्वारा प्रकाशित जातीय परिचय पुस्तिका अनुसार यिनीहरूलाई थकाली/मार्फली भन्न सकिन्छ । यिनीहरूको छालाको रङ, अनुहार, शरीर बनोट, सामाजिक जीवनशैली थकालीकै सरह पाइन्छ ।
मुस्ताङमा तीनगाउँले, पाँचगाउँले, बाह्रगाउँले भन्ने स्थानमा बसोबास गर्ने जाति/समुदाय तिनै नामले परिचित छन् । पाँचगाउँको छैरोमा बसोबास गर्ने भएकाले यिनीहरूलाई छैरोत्तन, छौरोतन वा छेरोतन भन्ने गरिएको छ । तैपनि यिनीहरू थकाली नै हुन् भन्नेमा एकमत देखिँदैन ।
अनुहार जिउडाल, पहिरन, थकालीसँग मिले पनि अन्य सामाजिक जीवनशैलीमा भिन्नता पाइन्छ । भाषामा पनि भिन्नता छ । कतिपयले यिनीहरूलाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल आएका शरणार्थी भनेका छन् । उनीहरूका अनुसार तिब्बतबाट नेपाल प्रवेश गरेका यिनीहरू मुस्ताङको छौरेमा बसोबास गरेकाले कालान्तरमा छौरोतन कहलाएका हुन् । यिनीहरू तिब्बती बौद्धमार्गी हुन् ।
विसं २०५८ को राष्ट्रिय जनगणनादेखि विस्तृत रूपमा जातजातिको सङ्ख्या र मातृभाषा उल्लेख गरिन थाले पनि २०५८ साल र त्यसपछिका (२०६८ र २०७८ साल) कुनै पनि जनगणनामा छैरोतन जातिको सङ्ख्या उल्लेख छैन ।
सरकारले विसं २०५४ मा छैरोतनलगायत नेपालका ६१ जातिलाई ‘जनजाति’ समुदायमा सूचीकृत गरेको थियो । २०५८ सालमा स्थापित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा छैरोतनलगायत ५९ जातिलाई ‘आदिवासी जनजाति’ मा सूचीकृत गरिएको देखिन्छ ।
वैज्ञानिक खोजरअनुसन्धान नगरी क्षेत्रीय वा स्थान विशेषका आधारमा बसोबास गर्ने समूहलाई पनि जातीय पहिचान दिने गरिएकाले छैरोतनहरूको छुट्टै जाति कायम भएको अनुमान गर्न पनि सकिन्छ । २०४५ सालको सूचीमा चिमतन, ठिनतान स्याङ्तानलाई छुट्टाछुट्टै जाति कायम गरी राखिएको थियो, जसरी छैरोतनलाई हाल राखिएको छ । पछि तीन वटै जातिलाई मिसाएर ‘तीनगाउँले’ नयाँ जाति कायम गरियो । मनाङेलाई सुरुमा भिन्न जातिका रूपमा सूचीकृत गरिए पनि पछि यसलाई गुरुङमा समाहित गरिएपछि ६१ जाति आदिवासी जनजाति घटेर ५९ मा कायम भए ।
छैरोतन जातिका बारेमा पनि यसै प्रकारको द्विविधा वा अन्योल रहेको हुन सक्छ । सूचीकृत छैरोतन र फ्री जाति बारेमा ठोस जानकारी पाइएको छैन । यतिसम्म कि आफूलाई यी जातिका सदस्य हुँ भनेर कसैले पनि दाबी गरेका छैनन् तर सूचीकरणमा समेटिएका छन् । पछिल्लो जनगणना (२०७८) मा फ्री जाति (जनसङ्ख्या ९२१ जना) उल्लेख भए पनि छैरोतनका बारेमा यस्तो सङ्ख्या उल्लेख नभएपछि छैरोतन जाति छ कि छैन भन्ने बहस हुनु स्वाभाविक छ ।
विसं २०७८ को राष्ट्रिय जनगणनामा जम्मा ३६ जना रहेको नुराङलगायत १४२ जातिलाई सूचीकृत गरिएको छ तर छैरोतनको उल्लेख छैन । जनगणनामा नामोनिसान नभेटिए पनि आदिवासी जनजातिको सूचीबाट छैरोतनलाई हटाएको छैन । सूचीकृत ५९ जातिलाई उनीहरूको शिक्षा, स्वास्थ्य, भाषा, आम्दानी, सम्पत्ति आदिलाई आधार बनाएर प्रतिष्ठानले जातीय प्राथमिकता निर्धारण गरेको छ ।
सो प्राथमिकता राज्यद्वारा प्रदान गरिने सेवा सुविधाका लागि समेत निर्देशक मान्यता हुने बताइन्छ । जस अनुसार छैरोतनहरू सुविधा वञ्चित समूहमा रहेका छन् । छैरोतनलगायत गुरुङ, मगर, राई, लिम्बू, ताँवे, तीनगाउँले, बाह्रगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्याँसी, ह्योल्मो यो समूहमा परेकाले प्राथमिकता निर्धारण पनि विवादास्पद देखिन्छ । कुनै पनि तर्कमा गुरुङ र छैरोतनको आर्थिक–सामाजिक अवस्था समान देखिँदैन तर यी दुवै जातिलाई एउटै सुविधाबाट वञ्चित समूहमा राख्न नमिल्ने जानकारले बताउँदै आएका छन् ।
छैरोतनहरू होटल, जडीबुटी बन्दव्यापारमा सक्रिय छन । यिनीहरूले तिब्बतीका केही क्षेत्रलगायत नेपालमा जिम्बु, धागो, पाखनवेत, सिलाजितजस्ता औषधी र जडीबुटीको व्यापार गर्ने गरेको पाइएको छ । राष्ट्रिय आदिवासी उत्थान समितिद्वारा प्रकाशित पुस्तिका अनुसार छैरोका रैथानेवासी यिनीहरू हाल बसाइँसराइका कारण पोखरा, तनहुँको खैरेनी, दमौली र काठमाडौँतिर गएकाले छैरोमा यिनीहरूको मात्र दुई/तीन घर बाँकी छ।
थकाली र तिब्बतीसँग यिनीहरूको बिहेवारी तथा सामाजिक अन्तरघुलन बढ्दै गएकाले छैरोतनहरूको खोजी जटिल हुँदै गएको छ । छैरोतनको भाषालगायत अन्य सामाजिक, जातीय विशेषता, पहिचान थकालीको भन्दा भिन्न देखाउन सकिने अवस्था कम हुँदै गएको छ । छैरोमा रहेका आठ–दस वटा घर तिब्बती शरणर्थीका सदस्य नै छैरोतन जातिका नवसदस्य हुन पुगेका छन् ।
छैरोतनहरूको आफ्नै मौलिक भाषा नभए पनि यिनीहरू कतिपयले तिब्बती र कतिपयले थकाली भाषा बोल्ने गरेका छन् । चाडबाड, रीतिरिवाज समान प्रकारका भए पनि मनाउने तरिकामा तिब्बती, थकाली र छैरोतनमा केही भिन्नता पाइन्छ । छैरोतन जातिमा ढ्वाङ्ग्रे ढोल, टुङ्ना र मुरली लोकप्रिय बाजाका रूपमा प्रयोग हुने लोकसंस्कृतिविद् बुलु मुकारुङले उल्लेख गरेका छन् ।
–त्रिभुवनचन्द्र वाग्ले