• ५ जेठ २०८१, शनिबार

जेलमा २० मिनेट कलङ्क जीवनभरको

blog

अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प सबैभन्दा विवादास्पद राष्ट्रपति भएका छन् । उनका हठ तथा घमण्डले संसदीय इतिहासमै नभएका घटना त्यहाँको संसद् भवनमा भयो । राष्ट्रपति चुनाव हारे पनि उनले हार स्वीकार गरेनन् । ट्रम्पले आफ्ना समर्थक, कार्यकर्तालाई उक्साएर अमेरिकी संसद् ‘क्यापिटल हिल’ मा आक्रमण गराए । संविधान मिच्नेदेखि शक्तिको दुरुपयोग गर्ने काम गरेका ट्रम्पले दुई पटक महाभियोग सामना गर्नु पर्‍यो, यौन दुराचारको अभियोगमा दण्डित भए । 

अमेरिकाको इतिहासमा संसद्माथि आक्रमणमा दोषी ठहर गरिएपछि ट्रम्प २० मिनेटका लागि जेल गए । यसरी जेल जाने उनी अमेरिकाको पहिलो पूर्वराष्ट्रपति हुन् ।  

सन् २०२१ को जनवरी ६ मा ट्रम्पको निर्देशन अनुसार उनका  समर्थकद्वारा अमेरिकी संसद् भवनमा हिंसात्मक आक्रमण भयो । सो घटनामा पाँच जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । संसद् भवनमा तोडफोडसमेत भयो । त्यस दङ्गाको योजना बनाएको आरोपमा ‘प्राउड बोइज’ समूहका पूर्वनेता एनरिके तारिओलाई २२ वर्षको जेल सजाय भएको छ । 

अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संङ्लग्नलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो । उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य केही आरोपमा दोषी ठहर्‍याइएको थियो । ३९ वर्षीय तारिओ सो घटनाको समयमा वासिङ्टनमा थिएनन् तर त्यहाँ भएको दङ्गामा उनले चरम दक्षिणपन्थी समूहको संलग्नता संयोजन गर्न सघाएका थिए । 

सजाय पाउनुअघि तारिओले भावुक भएर प्रहरी र वासिङ्टन डिसीवासीसँग सन् २०२१ जनवरी ६ को घटनामा आफ्नो संलग्नताका लागि माफी मागेका थिए । जोय बाइडेनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि संसदको बैठक भइरहेका समयमा ट्रम्पका समर्थकले संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए ।

तारिओ प्राउड बोइजका राष्ट्रिय अध्यक्ष थिए । सन् २०१६ मा न्युयोर्क सिटीमा स्थापित यस चरम दक्षिणपन्थी समूहका सदस्यले यस समूहलाई पुरुष मात्र भएको, साथै बसेर रमाइलोका लागि मदिरा सेवन गर्नेको जमघट ‘ड्रिङ्किङ क्लब’ का रूपमा व्याख्या गर्छन् । यद्यपि उनीहरू आफूलाई ट्रम्पका ‘सैनिक’ भएको पनि बताउँछन् । 

आफूलाई अफ्रो–क्युबन भनी चिनाउने तारिओलाई जनवरीको घटनाभन्दा तीन साताअघि ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको ब्यानर जलाएको आरोपमा पक्राउ गरिएको थियो । त्यतिबेला उनका साथमा उच्च क्षमताका गोलीगट्ठा पनि भेटिएका थिए । त्यसपछि उनलाई धरौटीमा रिहा गरी राजधानीबाट निस्कन आदेश दिइएको थियो ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा आफू विजयी भएमा प्रायः दङ्गाकारीहरूलाई माफी दिने बताएका छन् । यद्यपि यस घटनाको अनुसन्धान जारी छ । एक भिडियोमा प्रहरी अधिकारी र सञ्चारकर्मीलाई आक्रमण गरिरहेको देखिएका १४ दङ्गाकारीलाई एफबिआईले खोजिरहेको छ । 

संसद् भवनमा भएको घटनामा पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गरिएपछि उनी जर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा २० मिनेट बसे । उनी त्यहाँ पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो । त्यहाँ उनको औँठाछाप लिइएको र मगसट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो । लगत्तै सो फोटो सार्वजनिक गरियो । छोटो प्रक्रियापश्चात् दुई लाख अमेरिकी डलर जमानतमा उनी रिहा भए ।

सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी नतिजा उल्टाउन खोजेको अभियोगमा फुल्टन काउन्टी जेलमा आधिकारिक रूपमा उनको नाम दर्ता गरिएको छ । ट्रम्पले आफूविरुद्ध राजनीति प्रेरित अभियोग लगाइएको बताएका छन् । जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिनेबित्तिकै ट्रम्प जर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए । त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको दोहोर्‍याए ।

सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न आँटेका ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । यस्तै न्युयोर्कको एउटा ज्युरीले ट्रम्पले म्यागेजिनकी लेखिका ई जिन क्यारोललाई यौन दुव्र्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको थियो । दुई साता लामो सुनुवाइपछि करिब तीन घण्टा बहस गरेर ज्युरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनायो । उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो । 

ती लेखिकाले सन् १९९० को दशकमा ट्रम्पले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन् । ट्रम्पले भने पीडित भनिएकी महिला ठग भएको आरोप लगाए । 

अमेरिकाको इतिहासमा अहिलेसम्म ट्रम्पसहित तीन राष्ट्रपतिलाई महाभियोग लगाइएको छ । ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको भन्दै सन् २०१९ मा र संसद् भवनमा दङ्गा गराएको आरोपमा सन् २०२१ म महाभियोग लगाइएको थियो । यसअघि सन् १८६८ मा एन्ड्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए । तर कसैलाई पनि पदबाट हटाइएन ।  

Author

रामप्रसाद आचार्य