• २२ वैशाख २०८१, शनिबार

कमजोर कथा, दमदार एक्सन ‘लियो’

blog

काठमाडौँ, कात्तिक १२ गते । चलचित्र ‘मास्टर’ पछि निर्देशक लोकेश कनागराज र अभिनेता विजयको जोडी फेरि एक पटक चलचित्र ‘लियो’ मा देखिएको छ । चलचित्र पूर्ण एक्सनले भरिएको छ भने लोकेशले चलचित्रलाई कथानकभन्दा पनि धेरै मात्रामा एक्सनमय बनाउनुभएको छ । चलचित्रको कथा हिमाञ्चल प्रदेशको एउटा सानो सहरबाट सुरु हुन्छ, जहाँ पार्थिवन (विजय), श्रीमती सत्या (त्रिशा) र दुई छोराछोरीसँग बस्छन् । उनको एउटा क्याफे छ । आफ्नो परिवारलाई असाध्यै माया गर्ने पार्थिवनले वन विभागसँगको सहकार्यमा जनावरको ज्यान पनि बचाउने काम गर्छन् । एक दिन सहरमा हाइना देखिन्छ । पार्थिवनले आफ्नो ज्यान जोखिममा पारेर हाइनालाई समात्छन् । जसका कारण देशभरका पत्रपत्रिकामा उनका तस्बिर प्रकाशित हुन्छन् र सबैतिर उनको चर्चा चुलिँदै जान्छ । ती तस्बिर देखेर दक्षिण भारतीय ग्याङ्स्टर हेरोल्ड दास (अर्जुन सर्जा) लाई आफ्नो भतिजा लियो दासको सम्झना आउँछ । जसको रूप ठ्याक्कै पार्थिवन जस्तै मिलेको हुन्छ । 

लियो धेरै वर्षअघि एउटा दुर्घटनामा बेपत्ता भएका हुन्छन् । ह्यारोल्डबाट लियोका बारेमा सुनेर उनका जेठा भाइ एन्थोनी दास (सञ्जय दत्त) आफ्नो छोरालाई भेट्न हिमाञ्चल पुग्छन् । उसले पार्थिवनलाई भेट्छन् तर उसले आफूलाई लियोका रूपमा स्वीकार गर्न अस्वीकार गर्छन् । पार्थिवनका बारेमा सत्य पत्ता लगाउन एन्थोनीले उनको परिवारमाथि अनेकन दबाब दिन खोज्छन् । के पार्थिवन नै लियो हुन् त ? यही प्रश्नको जवाफको खोजीमा अड्किएको छ चलचित्र ‘लियो’ ।  

एक्सन चलचित्रका लागि चर्चित निर्देशक कनागराजले यस पटक पनि दर्शकलाई निराश बनाउनुभएको छैन । चलचित्रका प्रायः एक्सन दृश्यले दर्शकलाई अवश्य नै दुई घण्टा रमाइलो गराउँछ । चलचित्रको कथाले दर्शकलाई मध्यान्तरसम्म सोचमग्न बनाउँछ । मध्यान्तरपछि सञ्जय दत्त मुख्य खलनायकका रूपमा कथामा प्रवेश गर्छन् तर दुःखको कुरा चलचित्रको कथा मध्यान्तरपछि कमजोर बन्दै गएको छ । लोकेशले ठुला कलाकारका साथ आफ्नो चलचित्रमा बलियो एक्सन फ्लेबर थप्नुभएको छ तर मध्यान्तरपछि उहाँले कथालाई बलियो राख्न सक्नुभएन । चलचित्रको एक्सन पक्कै उत्कृष्ट छ तर कथाको स्तरमा खासै दम छैन । 

अभिनयका दृष्टिले हेर्दा विजयले चलचित्रमा उत्कृष्ट काम गरेका छन् । खलनायकका रूपमा सञ्जय दत्तले विजयको अगाडि खासै प्रभाव छोड्न सकेका छैनन् । त्यस्तै अर्जुन सर्जाले पक्कै पनि विजयलाई कडा चुनौती दिएका छन् तर उनले त्यति धेरै दृश्य पाएका छैनन् । त्रिशाले राम्रो काम गरेकी छिन् । चलचित्रका बाँकी कलाकारले आआफ्नो भूमिकामा न्याय गरेका छन् ।

चलचित्रमा अनिरुद्ध रविचन्द्रनको सङ्गीतलाई केही मात्रामा राम्रो मान्न सकिन्छ तर उहाँको अघिल्लो फिल्म ‘विक्रम’ सँग तुलना गर्ने हो भने यसमा अलि फिक्का लाग्छ । चलचित्रका गीत हिन्दीमा राम्रोसँग अनुवाद गरिएको भए केही राम्रो हुने थियो । मनोज परमहंसको छायाङ्कन उत्कृष्ट छ । हाइना दृश्यमा भिएफएक्सको राम्रो प्रयोग गरिएको छ । ‘लियो’ पूर्णतया एक्सन मसाला चलचित्र हो । निर्देशकले चलचित्रको कथामा अलि बढी मेहनत गरेको भए अवश्य नै उत्कृष्ट चलचित्र बन्न सक्थ्यो ।