• १५ मंसिर २०८१, शनिबार

दसैँ अवधिमा ६३१ सवारी साधन कारवाहीमा

blog

मीना कंडेल

कावासोती, कात्तिक १० गते । नवलपुरमा दसैँको समयमा नियमविपरीत सञ्चालन भएका छसय ३१ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म सवारी नियम उल्लंघन गर्ने, बढी भाडा लिने, छतमा यात्रु राख्ने, झुण्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, विनाहेलमेट हिड्ने सवारी साधन कारवाहीमा परेका हुन् । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुण्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने काम भइरहेकाले त्यसलाई कडाइका साथ चेकजाँच गर्ने काम गरिएको उहाँको भनाइ छ । 

यस्तै, मादक पदार्थ सेवनगरी सवारी चलाउने दुई सय २४ जना कारवाहीमा परेका छन् ।  दसै, तिहार, छठजस्ता पर्वलाई लक्षितगरी प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो । ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाकाका साथ प्रहरीले अभियानलाई तीब्रता दिएको जनाएको छ । 

भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकसमेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिनेक्रम कमी भएको प्रमुख आचार्यको दाबी छ । 

सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ । 

लामो दूरीका सवारी साधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्नेगरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।