ललिता साह
वोदेवर्साइन (सप्तरी) कात्तिक ८ गते। सप्तरीको वोदेवर्साइन नगरपालिकाले दसैंलगायतका चाडपर्वमा मेला लगाउन २३ लाख रकम विनियोजन गरी भुक्तानी गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ ।
भारतीय सीमा नजिककै रहेको यो पालिका विकासीय दृष्टिकोणले पछाडी परेको मानिन्छ । स्थानीय सरकारले नगरको भौतिक र सामाजिक विकासभन्दा अनावश्यक शीर्षकमा लाखौ रकम खर्चिदैआएकोप्रति स्थानीयको विरोध रहँदैआएको छ ।
नगरपालिकाको कार्यवाहक नगर प्रमुख रेणु साहका अनुसार मेला लगाउन २३ लाख रकम निकासा दिने कार्यपालिकाले निर्णय गरे पनि हालसम्म भुक्तानी भएको छैन । हुन त यस्ता काममा पहिला पनि नगरले यो भन्दा पनि बढी खर्च गर्दैआएको तथ्य छ । तर यसपटक वडाको बजेट सिलिङ ९० लाखबाट घटाएर ६० लाखमा झारेर नगरको बजेट अनावश्य खर्च गर्नु उपयुक्त नरहेको स्थानीय बुदिजिवी दिपेन्द्र यादवले बताउनुभयो ।
यो वर्ष नगरस्तरीय फुटवल प्रतियोगिताका लागि दश लाख, वडा नम्बर ७ लाई डेढ लाख, तीन लाख मूर्ति व्यवस्थापन गरी अन्य वडालाई यस्तै परिमाणमा गरेर २३ लाख रकम मेलाको नाममा छुट्याएको स्थानीयको भनाइ छ ।
नगरमा विकासको नाममा नगर कार्यपालिकाको भवन र केही फाटफूट ढलान बाहेकको खासै काम नभएको स्थानीयको गुनासो छ । नगरको वडा ६, ८, ९ लगायतका नागरिकलाई वडाबाट निस्कने सडक बाटो राम्रो नभएको बताइन्छ । नगरपालिकाले मेलाको नाममा लाखौ रकम छुट्याउनु गलत भएको स्थानीय युवा नेता अनोज यादवले बताउनुभयो ।
दसैं लगायतको चाडपर्वमा नगरपालिकाको विभिन्न ठाउँमा मेला लगाउने भनेर कार्यपालिकाले रकम दिने निर्णय गरे पनि हालसम्म निकासा नदिएको प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले बताउनुभयो ।