इजरायल, कात्तिक ८ गते । इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ ।
इजरायलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भन्नुभयो, “हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु ।”
उहाँले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटीक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताउनुभयो ।
अक्टोबर ७ मा हमासको इजरायलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे उहाँले भन्नुभयो, “यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ ।” उहाँका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ ।
“अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ”, हमासले इजरायली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले उनीहरूलाई तनावमा राखेका छौँ ।” रासस-एएनआई