• ६ जेठ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम आउनुहुँदै

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्बिर

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ८ गते । प्रधानमन्त्री त था नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।

मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार सहिदहरुको सम्झनामा लाग्दै आइरहेको मेला उद्घाटनका लागि प्रधानमन्त्री आउने पक्का भएको हो । उक्त मेला २०५७ सालदेखि लाग्दैआएको छ । 

मेलाको अवसरमा खुला स्वच्छ वडास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । यसका साथै स्थानीय झाँकी, मयुर नाच, सिंगारु नाच प्रदर्शनीका साथै स्थानीय कलाकारको समेत मेलामा प्रस्तुति रहने मेला आयोजक समितिका संंयोजक खत्रीले जानकारी दिनुभयो । 

मेलाको उद्घाटनसँगै उहाँ नेकपा (माओवादी केन्द्र) को तीनमहिने विशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम आउन लाग्नुभएको बताइएको छ । माओवादी केन्द्र रुकुमपश्चिमका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ का अनुसार रुपान्तरण अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने प्रधानमन्त्रीको कार्यक्रम थियो । 

सोही कार्यक्रम अन्तर्गत पार्टी अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको रुकुमपश्चिम बाँफिकोट गाउँपालिका वडा ६ मा आउन लाग्नुभएको हो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बाँफिकोट गाउँपालिका वडा ६ र ७ को संयुक्त वडा समिति बैठकमा सहभागी हुनुहुने संयोजक रोकाले बताउनुभयो । 

बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको बताइन्छ । सोही अवसरमा उहाँले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नुहुनेछ । बिहीबार बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आइपुग्ने र भोलि नै फर्किने कार्यक्रम छ ।