• ६ जेठ २०८१, आइतबार

दसैंका लागि सैपालबाट आइपुगे खसी

blog

सैपालबाट दसैंका लागि बिक्री गर्न ल्याइएका खसी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ६ गते ।  बझाङको सैपालबाट दसैंका लागि खसी हुम्ला आइपुगेका छन् । सैपालका खसी गुणस्तरीय हुने पहिचान बनाएका कारण ब्यापारीहरुले वर्षेनी सैपालबाट १५्र दिन पैदल लगाएर हुम्लामा ल्याउने गरिएको हो । 

अष्टमीमा खसीको बली दिने चलन भएका कारण बझाङको सैपालबाट खसी आइपुगेका हुन् । सैपालबाट पाँच सयभन्दा बढी खसी हुम्ला आइपुगेको बताउँदै ब्यापारी बिकुल भण्डारीले बिक्रीका लागि सैपालबाट ल्याएका खसी टिपाटिप भएको बताउनुभयो । जिल्लाभित्रका भन्दा सैपालका खसीहरु मानिसकाे बढी रोजाइमा पर्नेगरेका छन् । 

भारी नबोकेका, मासु बढी हुने र गुणस्तरीय मासुका लागि ती खसी बढी उपभोक्ताले रुचाउने गर्छन् । उहाँले तीन जना ब्यापारी मिलेर ल्याएका खसी आइतबार दिउँसोसम्म ५० मात्र बाँकी रहेको र बेलुकासम्म सकिने उहाँले बताउनुभयो । उपभोक्ता नर भण्डारीले भएसम्म सैपालकै खसी दसैंमा बलि दिने भएपछि यस पटक महँगै मूल्य तिरेर भए पनि किनिएको बताउनुभयो । 

पाँच हजार खसी बिक्री 

उद्योग बाणिज्य सङ्घ हुम्लाका वरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताउनुभयो । हुम्लाको घरधुरी सङ्ख्या करिब एघार हजार छ । यी सबै खसी अधिकांश स्थानीय छन् । उहाँले मूल्य जति वृद्धि भए पनि खसीको ब्यापार नघटेको बताउनुभयो । 

उहाँले साना ठूला खसीको मूल्य औसतमा सात करोडको कारोवार यस पटकको दसैंमा भएको बताउनुभयो । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका –३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ ।