• ११ मंसिर २०८१, मङ्गलबार

शारदीय दसैँ धार्मिक–सामाजिक पक्ष

blog

सनातन धर्मावलम्बीहरूले एक वर्षमा पर्ने चार वटा दसैँमध्ये दुई वटा मनाउने गरेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन शारदीय दसैँ मनाइन्छ । चैत्र शुक्लमा गरिने अनुष्ठानलाई वासन्तिक उपासना (चैतेदसैँ) भनिन्छ । शारदीय दसैँलाई यसरी वर्गीकरण गर्न सकिन्छ – घटस्थापनादेखि सप्तमीसम्म, सप्तमीदेखि नवमीसम्म र दशमीदेखि पूर्णिमासम्म । स्त्रीशक्ति, मातृशक्तिको पूजन उपासना गर्ने चाड हो दसैँ । 

वेद, उपनिषद्, रामायण, महाभारत र विभिन्न पुराणमा स्त्रीशक्तिबारे विस्तृत वर्णन छ । विभिन्न राजा, महाराजाहरूले सङ्कटबाट पार पाउन महामाया, योगमाया, देवीहरूको पूजा, आराधना गरेको उल्लेख छ । देवीप्रति, स्त्रीशक्तिप्रति कृतज्ञ भएर सनातन धर्मावलम्बीहरूले देवीका प्रतिमा र यन्त्रको पूजा गरे जस्तै जीवित कन्यालाई नै कुमारी देवीका रूपमा पूजा आराधना गर्ने चलन छ । काठमाडौँमा त जीवित देवीलाई सम्मानपूर्वक छुट्टै विशेष घरमा राखेर पूजा गर्ने, रथयात्रा गर्ने मल्लकालदेखिकै परम्पराले आजसम्म निरन्तरता पाएको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थान बनेपा, नाला, बुङमती, खोकना, पाटन, भक्तपुर आदि ठाउँमा डङ्गोल, शाक्य, वज्राचार्य परिवारका केटीलाई कुमारीका रूपमा विशेष पूजा गर्ने चलन छ । रातो रङको पहिरन र गहनाद्वारा सिँगारिएका विभिन्न ठाउँका कुमारीहरूलाई दसैँको नवरात्रमा विशेष पूजा गरिन्छ । आ–आफ्नो घरपरिवारका छोरी–नातिनीहरू, आफन्त र छरछिमेकका कन्या केटीहरू (महिनावारि सुरु नभएका) लाई नौ दिनसम्म वा अष्टमी, नवमीको दिनमा मात्रै भए पनि पूजा गर्ने परम्परा छ । कन्या केटीलाई पूजा गर्दा अङ्ग पूजा गरेर पाउ जलले धुने र त्यो जल शेचन गरिन्छ । दसैँको कन्या पूजा धार्मिक आस्थाको ढालमा छोरीलाई सुरक्षित राख्ने एउटा मनोवैज्ञानिक पद्धति हो । यसलाई हाम्रो समाजले प्रबल रूपले स्वीकार गरेको छ । शारदीय नवरात्रको अवसरमा गरिने स्त्रीशक्तिको आराधना, पूजा दसैँको प्रमुख अङ्ग हो । 

दसैँको धार्मिक पक्ष

नेपाली समाजमा शारदीय अर्थात् ठुलो (बडा) दसैँको धार्मिक प्रसङ्ग प्रबल छ । दुर्गा, देवीको वर्णन गरिएको धार्मिक पुस्तकहरूको सङ्ख्या निकै छ । देवीभागवत, कालिका पुराण, देवीपुराण, सप्तशती चण्डी, मार्कण्डेय पुराणको देवीमहात्म्य, रामायण, महाभारत आदि शास्त्रमा देवीको स्तुति गरिएको विभिन्न प्रसङ्ग छ । आदि शङ्कराचार्यको सौन्दर्यलहरी देवीको स्तुति गर्दा पढ्ने परम्परा छ । विभिन्न देवीपीठमा पूजा गर्दा ‘देव्यापराधक्षमापनस्त्रोत्र’ पाठ गर्ने चलन छ । 

आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म शरदकालीन शक्ति आराधनाको पर्व सुरु हुन्छ । नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीको विभिन्न स्वरूपलाई आह्वान गरेर पूजा गरिन्छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी महात्म्यमा भएको सात सय श्लोकको पाठ गरेर देवीलाई प्रसन्न बनाइन्छ । दुर्गा सप्तशती (चण्डी) मा ब्रह्माले देवीको स्तुतिमा भनेको शब्दबाट देवीको महìव अनुमान गर्न सकिन्छ । हे देवी ! तिमी नै स्वाहा हौ, तिमी नै स्वधा र तिमी नै वषट्कार हौ । स्वर पनि तिम्रै स्वरूप हो । तिमी नै सुधा हौ । देवी ! तिमी नै सन्ध्या, सावित्री र परम जननी हौ । तिमी नै यो ब्रह्माण्डलाई धान्ने हौ र तिमीद्वारा नै यो जगत्को सृष्टि हुन्छ । तिमी नै डरलाग्दी कालरात्रि, महारात्रि, मोहरात्रि पनि हौ ।  

यस्तै महाभागवत पुराण अन्तर्गत महादेव–नारद संवादमा शिवले देवीलाई प्रसन्न पार्न ललिता सहस्रनाम स्त्रोत्र पाठ गरेको उल्लेख छ । महादेवले बारम्बार नमस्कार गरेर देवीको महत्ता जसरी बुझाउनुभएको छ, त्यसबाट स्त्रीशक्तिको महत्वबारे अनुमान गर्न सकिन्छ । देवीलाई आराध्य, सबैकी आमा तथा पराप्रकृति भनेर सम्बोधन गर्ने गरिएको छ । देवीभागवतमा सृष्टि सञ्चालनमा प्रकृतिका पाँच स्वरूपले खेलेको भूमिकाबारे वर्णन गर्दा पार्वती, राधा, लक्ष्मी, सरस्वती र सावित्रीको उल्लेख छ । यसरी देवी शक्तिको महत्ताप्रति नतमस्तक भएर गुणप्रति आभार व्यक्त गर्दै हिन्दुहरूले देवीको पूजा–आराधनालाई महìव दिएको देखिन्छ । 

रामायण र महाभारतमा उल्लेख भए अनुसार त्यहाँका विभिन्न पात्रले युद्धमा विजय प्राप्त गर्न देवीका विभिन्न स्वरूपको आह्वान र पूजन गरेका थिए । अधोमुख, त्रिकोण, पूर्ण कलश र आकृति नकुँदिएका शिलालाई नै देवीको स्वरूपमा पुज्ने चलन प्राचीन समयदेखि नै थियो । आगम घर र तुलजा भवानीको मन्दिरभित्र शक्तिको गूढ स्वरूप त्रिकोण, षट्कोणको आकृतिलाई नै जनावरको बलि चढाएर पूजा गर्ने चलनले निरन्तरता प्राप्त गरेको छ । गर्भगृहमा देवीको स्वरूपलाई गोप्य रूपमा स्थापना गरे पनि मन्दिरको टुँडाल र तोरणमा विविध स्वरूपलाई कलात्मक ढङ्गले दर्साइन्छ । दसैँको बेला जमरा राख्ने क्रममा दुर्गा सप्तशती (चण्डी) पुस्तक, देवीपुराण र रामायण पाठ गर्ने र पूजा गर्ने चलन छ । दुर्गा माताको पूजाका क्रममा पूजाकोठामा अस्त्रशस्त्रको पूजासँगै खड्गको पूजा गर्ने र जात्रा गर्ने चलन काठमाडौँमा छ । पुराणहरूमा दिइएको सप्तमातृका, अष्टमातृका र नवमातृकाका नामहरूमा सामान्य फरक छ । दुर्गा सप्तशतीको दुर्गाकवचमा दुर्गाको प्रसङ्ग रक्तबीज र शुम्भ–निशुम्भ वधसँग जोडिएको छ । देवी महात्म्यमा सप्तमातृकाको सूचीमा ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नरसिंह, ऐन्द्रीको नाम आउँछ । यसैमा चामुण्डा समावेश भएपश्चात् अष्टमातृका भनिन्छ । यी मातृशक्तिहरूलाई कात्यायनी देवीको अङ्गभूत शक्तिका रूपमा वर्णन गरिएको छ । 

रूपमण्डन शास्त्रको मातृका सूचीमा नरसिंही देवीको नाम समावेश छन् । मातृका मूर्ति विधानमा मातृकाको मूर्तिहरू लहरै बनाउँदा सुरु र अन्त्यमा वीरेश्वर र गणेश बनाउने प्रावधान छ । रूपमण्डनमा सप्तमातृकाहरूको वाहन र आयुधको विवरण दिइएको छ । सप्तमातृकाको उत्पत्तिको विषयमा पुराणमा विभिन्न वर्णन पाइन्छ । वराह पुराणको परम्परा अनुसार सप्तमातृकाको उत्पत्तिको सम्बन्ध अन्धकासुर वधसँग छ । 

परापूर्वकालमा भगवान् शिव र अन्धकासुरको लामो समयसम्म युद्ध चल्यो । युद्ध क्षेत्रमा अन्धकासुरको शरीरबाट रगत खस्नेबित्तिकै अर्को अन्धकासुर उत्पन्न हुन्थ्यो । शिवले विशेष अग्नि उत्पन्न गरेर त्यही अग्निबाट शक्ति योगेश्वरीलाई जन्माउनुभयो । देवी योगेश्वरीले अन्धकासुरको शरीरबाट रक्तपात हुनुअघि नै रगत पिएर नयाँ अन्धकासुर जन्मने व्रmम टुङ्ग्याइदिनुभयो । यसै व्रmममा अन्य देवताले पनि फरक फरक शक्ति अर्थात् देवीहरू उत्पन्न गर्नुभयो । 

काठमाडौँ उपत्यका र विशेष गरेर भक्तपुर सहरलाई शक्तिपीठ र देवताका घर (द्यछेँ) हरूले वरिपरि घेरेर सुरक्षा दिएका छन् । भक्तपुर सहरको मध्य भागमा त्रिपुरासुन्दरीको मन्दिर र वरिपरि ब्रह्मायणी, महाकाली र महालक्ष्मीका पीठ र मन्दिरहरू छन् । पुरहरूको रक्षा गर्न देवीहरू वरिपरि स्थापना गरेको देखिन्छ । उपासना पद्धतिमा शाक्तहरूको दुई वर्ग छन् – कौल मार्गी र समयाचारी । 

कौलमार्गीहरू अद्वैतवादमा विश्वास गर्छन् । सन्तान र शत्रुलाई एउटै दृष्टिले हेर्छन् । कौलमार्गीले देवीको पूजा गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) को उपासना विधि अपनाउँछन् । कौलाचार पद्धति अनुरूप कन्या केटीका विभिन्न अङ्ग पूज्ने चलन छ । अङ्ग पूजा गर्दा योनी पूजा पनि गरिन्छ । भारतको कामाख्या मन्दिर कौल मतको प्रमुख केन्द्र मानिन्छ । भारतको कास्मिर र काञ्ची श्रीविद्याको प्रमुख केन्द्र मानिन्छ । 

दुर्गा देवीको महापूजा तीन कल्पका छन्– कात्यायनी कल्प, भद्रकाली कल्प र उग्रचण्डा कल्प । कात्यायनी कल्पमा नवदुर्गाका ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकशारिणी र कार्तिकी पर्दछन् । कात्यायनी कल्पमा दस हात भएकी विविध आयुध लिएकी दुर्गाले महिषासुरको वध गर्नुभएको उल्लेख छ । भद्रकाली कल्पमा सोह्र हात भएकी भद्रकालिकाले महिषासुरको वध गर्नुभएको उल्लेख छ । उग्रचण्डा कल्पमा नवदुर्गामध्ये अठार वटा हात भएकी उग्रचण्डाले महिषासुरको वध गर्नुभएको वर्णन छ । कल्प भेदले नाम भेद भएको हो । दुर्गा, भद्रकाली र कात्यायनी देवीको एकै स्वरूप छन् । सामान्यतया देवीको उपासना तीन रूपमा गर्ने चलन छ । पहिलो, शान्त (सौम्य) रूप– सरस्वती, उमा, पार्वती, लक्ष्मी । दोस्रो, उग्र रूप– चण्डी, कपाली, भैरवी, दुर्गा, महिषमर्दिनी । तेस्रो, कामप्रधान रूप– त्रिपुर सुन्दरी, आनन्द भैरवी आदि । 

दसैँको सामाजिक पक्ष

दसैँ नेपालमा यसरी मौलाउनुको प्रमुख कारण धर्मग्रन्थ र त्यसका मूल्यमान्यतासँगै समाजको विभिन्न पक्षसँग यसको सम्बन्ध हुनु हो । दसैँ परिवारका सदस्यहरूसँग भेट्ने, मनोरञ्जन गर्ने, मिठा परिकार खाने, ठुलाबाट आशिष् लिएर सानालाई माया गर्ने चाड हो । नयाँ लुगा लगाउने, चङ्गा उडाउने, लङ्गुरबुर्जा र तास खेल्ने चाडका रूपमा दसैँलाई लिइन्छ । दसैँमा हाम्रो प्रमुख पेसा कृषिलाई स्मरण गर्दै, सम्मान गर्दै जौलाई पूजाकोठामा स्थापना गरेर आदर सम्मान गरिन्छ । 

सप्तमीको दिनमा विभिन्न पूmल, पात, बोट, बिरुवालाई पूजाकोठा, ढुकुटीकोठामा भिœयाएर पर्यावरणको संरक्षण, संवर्धन गर्ने चेतना बढाएको देखिन्छ । दसैँको सामाजिक पक्षमा सप्तमीमा भिœयाइने नवपत्रिकाको ठुलो महìव छ । केराको बिरुवा, वन हलेदो, घरपालुवा हलेदोको बिरुवा, जयन्ती पूmल, बेल पूmल, दारिम, अशोक, मानवृक्ष, धानको बाला गरी जम्मा नौ प्रकारका फलपूmल देवीकै नौ वटा स्वरूपको प्रतिनिधि मानेर भिœयाउने चलन छ । हाम्रा शास्त्रहरूमा नवपत्रिकाको नामहरू फरक फरक छन् । नेपाली सङ्क्षिप्त शब्दकोशमा बेल, केरा, अशोक, अनार, धान्य, हलेदो, कर्चुर (कपूर हलेदो), मानकर्चुर (तरुल) र जयन्तीको बोटको पात दिइएको छ । प्रमुख पेसा कृषि भएकाले हाम्रो पूजाकोठामा नवपत्रिका भिœयाउँदा लघु रूपमा सम्पूर्ण प्रकृतिलाई प्रवेश गराएको अनुभूति हुन्छ । सुन्दरता र औषधी गुणयुक्त यी वनस्पतिलाई घरभित्र प्रवेश गराएर पर्यावरणलाई चिनेर संरक्षण गर्ने सन्देश प्राप्त हुन्छ । पूmलपातीले कर्मकाण्डको पक्षसँगै व्यावहारिक ज्ञान लिन हौसला दिएको छ । 

परापूर्वकालदेखि नेपाली समाज संयुक्त परिवार प्रथामा रमाएको छ । विभिन्न कारणले विश्वभर छरिएर रहेका नेपाली दसैँको बेलामा जम्मा हुन्छन् । अग्रजको हातबाट टीका, प्रसाद ग्रहण गर्छन् । दसैँको बेला दिइने आशीर्वादको ठुलो महत्व छ । शुद्ध मनले दिएको आशीर्वाद लाग्ने विश्वास गरिन्छ । सामान्यतया दसैँमा दिइने आशिष्मा रामायण र महाभारतका प्रमुख पात्रहरूको गुणगान गरेर तिनको गुण प्राप्त होओस् भनिन्छ । लौकिक जीवनमा बल, विद्या, धन, ऐश्वर्य सबै कुरा चाहिन्छ । त्यसैले महाकाली, महालक्ष्मी र महासरस्वतीका रुवरूपलाई घरमा स्थापना गर्दा आह्वान गरेर विराजमान गराइन्छ । दसैँ पर्वले हाम्रो व्यावहारिक ज्ञानलाई महत्व दिएर यसमा प्रयोग हुने सम्पूर्ण वस्तुको निर्माण पनि आफैँले गर्न प्रोत्साहन गरेको छ । घटस्थापनाको दिनमा स्थापना गरिने घडा चोखो माटो ल्याएर सकेसम्म आफैँले बनाउने प्रावधान छ । वैदिक मन्त्र उच्चारण गरेर माटोको घडा स्थापना गरिन्छ । कलशमाथि तामाको थालीमा आफ्नो कुलदेवतासहित नवदुर्गालाई विधिपूर्वक आह्वान गरेर विराजमान गराइन्छ । कलशको मुख, बिचको गर्भगृह र पिँधमा छोएर महासरस्वती, महालक्ष्मी र महाकालीलाई आह्वान गरिन्छ । तन्त्रसार ग्रन्थमा कलशको निर्माण विधि बताउँदा मुखदेखि पिँधसम्मको नाप पनि तोकिएको छ । 

कलश सुन, चाँदी, तामा र माटोको जुन स्थापना गरे पनि हुन्छ तर सबैभन्दा उत्तम घडा (कलश) माटोको मानिन्छ । कलशमा जल भरेपश्चात् वरुण देवताको प्रार्थना र पूजा गर्ने विधान छ । दसैँको सामाजिक पक्ष प्रबल भएर नै आजसम्म नेपालका विभिन्न समुदायमा चण्डी पाठ नगरे पनि जमरा नराखे पनि घरपरिवारका सदस्यहरूद्वारा सेतो, रातो र पहेँलो वा कालो रङको टीका प्रसाद लगाएर सौहार्दपूर्ण ढङ्गले मनाइन्छ । 

नेपालका विभिन्न स्थान, पीठ, मन्दिर, देवघरमा देवीका विविध स्वरूपका मूर्तिहरू स्थापना गरिएका छन् । मातृकाहरूका प्राचीन मूर्तिहरू पाटन, मालीगाउँ, चाँगु (छिन्नमस्ता), कीर्तिपुर (कालभैरव मन्दिर) आदि स्थानमा छन् । विसं ५६० को पलाञ्चोक भगवतीको भव्य मूर्तिसँग नेपाली समाजको मूर्त र अमूर्त सम्प्रदायको सोझो सम्बन्ध छ । नौ वटा देवीको स्वरूप एउटै दुर्गा माता विजयश्वरीमा समाहित गरेर बनाइएको मूर्ति सुन्दरताको उदाहरण हो । 

उपसंहार 

मातृशक्तिलाई सम्मान गर्ने, आदर गर्ने र पूजा गरेर शक्ति आर्जन गर्ने पर्व हो दसैँ । स्त्री शक्तिको विराट स्वरूपसँगै ममतामयी र रौद्र दुवै स्वरूपका देवीको आह्वान, पूजन गर्ने पर्व हो दसैँ । वेद, उपनिषद्, स्मृति पुराण, मार्कण्डेय पुराणको देवी महात्म्यमा देवीका विविध स्वरूपको वर्णन र स्तुति छ । वैदिक र तान्त्रिक दुवै विधिद्वारा देवीको पूजा आराधना गरिन्छ । पशुबल भएका महिषासुर, अन्धकासुर, रक्तबीज, चण्ड, मुण्ड र मधुकैटभलाई पराजय गर्नुमा देवीकै प्रबल हात थियो । जगदम्बा, अम्बा, दुर्गा, काली, मातृका आदि विविध नामले पुकारिने मातृशक्तिलाई प्रसन्न पार्ने चाड हो दसैँ । पुराणहरूमा शक्ति र विजय प्रदान गर्ने देवीलाई दुर्गा भनेर स्तुति गरिएका छन् । शास्त्रमा देवीलाई प्रसन्न पार्न पशुबलि चढाउने विधानको वर्णन छ । 

विष्णु भगवान्का विविध अवतार भए जस्तै देवीले पनि दानवी शक्तिको संहार गर्न बेग्लाबेग्लै स्वरूपमा अवतरित भएको वर्णन छ । अरुण नामको दैत्यले पृथ्वीमा अन्याय अत्याचार गरेर अहङ्कार मच्चाएका थिए, देवीले छवटा खुट्टा भएको भमराका रूपमा आएर अरुण दैत्यलाई दमन गरिन् । भमराको स्वरूपमा आएकी देवीले भ्रामरीका भनेर पुकारिन थाल्यो । पृथ्वीमा अनिकाल परेको बेला देवीले आफ्नै शरीरबाट शाकाहारी भोग्य पदार्थ उत्पन्न गरेर प्राणीका रक्षा गरेकाले शाकम्भरीका नामले प्रसिद्ध भइन् ।  

Author

प्राडा विणा पौडेल