• १२ मंसिर २०८१, बुधबार

लाइफलाइन अस्पतालद्वारा बिरामीलाई निःशुल्क परामर्श

blog

लाइफलाइन अस्पतालमा मिर्गौलापीडित विरामीको उपचार गर्दै डा. श्रेष्ठ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २ गते । नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौलामा समस्या भएका बिरामी र नर्सहरूलाई लक्षित गरी निःशुल्क परामर्श तालिम दिने भएको छ । 

अस्पताल प्रमुख डा. पारश श्रेष्ठका अनुसार खासगरी डायलिसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफै बोलाएर उनीलाई निःशुल्क परामर्श तालिम दिन लागेको हो । डा. श्रेष्ठले मिर्गौलाका बिरामीले के कस्ता कुरामा ध्यान दिनु पर्नेदेखि खानपिन, निमोनिया र फ्लु भ्याक्सिनका बारेमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क जानकारी गराइने बताउनुभयो । 

लामो समय भेरी अस्पतालमा मिर्गौला विभाग प्रमुख भएर सेवा दिनुभएका डा. श्रेष्ठले आउने शनिबार हस्पिटलमा आयोजना गरिएको कार्यक्रममा मिर्गौलाका बिरामीले अपनाउनु पर्ने सावधानी र डायबिटिज सम्बन्धी दुईवटा प्रस्तुतीकरण रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक हिसाबले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ मिर्गौलाका बिरामीले लामो आयुको लागि उनीहरू आफैले अपनाउनु पर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइने छ ।”

डा. श्रेष्ठका अनुसार व्यक्तिगत रूपमा चिकित्सकले बिरामीलाई काउन्सिलिङ त गरेकै हुन्छन् तर यसरी सामूहिक रूपमा गर्दा बिरामीको आत्मबल समेत बढ्छ । बिरामीसँगै नर्सलाई समेत तालिम दिन थालिएको छ । उनीहरूलाई बिषयगटसँगै बिरामीमैत्री व्यवहारका बारेमा समेत ज्ञान प्रवाह गरिनेछ ।

पहिचान भएका बिरामीलाई हस्पिटल आफैले बोलाएर यस्तो उपयोगी परामर्श तालिम दिन थालेको सम्भवतः नेपालमै पहिलो हुन सक्ने डा. श्रेष्ठको भनाइ छ । नेपालगन्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलिसिस गराइरहेका करिब २५–३० जना बिरामी तालिममा सहभागी हुनेछन् ।

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रूपमा बढ्दैगएका छन् । बालबालिकादेखि युवापुस्तासमेत मिर्गौला समस्यासँग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दैगएको चिकित्सकको भनाइ छ । लाइफलाइन हस्पिटलले त्यस्ता समस्यासँग जुधिरहेका बिरामीलाई सस्तो, सुलभ र भरपर्दो सेवा दिँदैआएको छ ।